अमेजनका बेजोस बने विश्वकै सर्वाधिक धनी व्यक्ति

विश्वप्रसिद्ध अनलाइन सपिङ् साइट अमेजनका सिइओ जेफ बेजोस विश्वकै सबै भन्दा धनी व्यक्ति बनेका हुन् ।

समाचार पत्र द गार्जियनले जनाए अनुसार माइक्रोसफ्टका सिइओ बिल् गेट्सलाई पछि पार्दै उनी एक सय पाँच अर्ब अमेरिकी डलर कुल सम्पत्तिसँगै उनी आजसम्मकै सर्वाधिक धनी व्यक्ति समेत बनेका हुन् ।

उनले यो सम्पत्तिको अधिकांश हिस्सा अमेजन डट कमको ७८ लाख कित्ता सेयर मार्फत आर्जन गरेका हुन् ।

स्रोतका अनुसार ५३ वर्षीय बेजोसको जीवन साह्रै उतार चढावपूर्ण छ । कुनै समय पैसाको समस्या झेलिराख्ने उनले आफ्नो बाल्यकाल मावलीका हजुर बुवासँग बिताएका थिए ।

द गार्जियनले जनाए अनुसार २०१७ मा अमेजनको सेयरमा ५६ प्रतिशत वृद्धि भएको थियो ।

२०१८ को पहिलो महिना सिद्दिन नपाउँदै अमेजनको सेयरमा सात प्रतिशत वृद्धि भइसकेको छ । गत सोमवार मात्रै एक दशमलव चार प्रतिशतको रेकर्ड वृद्धि भएपछि बेजोसको सम्पत्तिमा पनि अप्रत्याशित वृद्धि भएको हो ।

फोर्ब्स पत्रिकाको वेबसाइटमा जनाए अनुसार भने बेजोस अलटाइम सर्वाधिक धनी व्यक्ति भने होइनन् । फोर्ब्सका  अनुसार मुद्रास्फीति दर समायोजन गर्दा १९९९ मा बिल गेट्सको कुल सम्पत्ति ९० अर्ब थियो जसलाई हालको मूल्यमा एक सय ३४ दशमलव छ अर्ब अमेरिकी डलर बराबर हुन आउँछ ।

कमेन्ट गर्नुहोस्