टाइगरको गर्जनका बिच सुपर हिट ‘फुकरे रिटर्न्स’

कमेडी मसलाको फ्लेभरले बलिउडको व्यापार फेरी उकालो लाग्यो

बलिउडमा टाइगर जिन्दा हैको दादागिरी अझै जारी छ । यस्तोमा जोसुकैले आफ्नो सिनेमा रिलिज गर्ने आँट गरिहाल्दैनन् । तर दुई जना साथीहरूको रमाइलो कथामा आधारित सानो बजेटको फिल्म ‘फुकरे रिटर्न्स’ अप्रत्याशित कमाइका साथ सुपर हिट भएको छ ।

बलिउड सूत्रहरूका अनुसार कुल निर्माण लागत २२ करोड भारतीय रुपैयाँ रहेको ‘फुकरे रिटर्न्सको’ बक्स अफिस कलेक्सन ८० करोड भारतीय रुपैयाँ नाघिसकेको छ र प्रतिशतका हिसाबले यो २६४ प्रतिशत हो । ‘टाइगर…’ भन्दा दुइ हफ्ता अघि मात्रै रिलिज यस चलचित्रले ‘टाइगर जिन्दा है’ रिलिज भएपछि पनि खुट्टा कमाएको थिएन ।

हुन त २०१७ सुरुवाती दिनहरू बलिउडका लागि त्यति सुखद रहन सकेनन् । साह्रै अपेक्षा गरिएका ‘राबता’, ‘रङ्गुन’, ‘सरकार ३’, ‘नाम शबाना’, ‘भूमि’ र ‘जग्गा जासुस’ जस्ता केही चलचित्रहरू पनि एकै बल्ड्याङ् लडेनन् मात्रै अपेक्षाकृत सफल मानिएका ‘रइस’ जस्ता फिल्महरू पनि बक्स अफिसको कमाइ गन्ती गर्नमै सीमित रहे अर्थात् ती पनि खासै छाप छोड्न सक्ने अवस्थामा रहेनन् ।

 

झन् वर्षको दोस्रो त्रैमासिकको सुरुमै रिलिज भएको टलिउड फिल्म  ‘बाहुबली- २’ ले बलिउडका ठुला मानिएका चलचित्रहरूलाई पुड्का साबित गरिदिए पछि त बलिउड एक किसिमले झस्कियो नै ।

तर यस्तोमा पनि केही सानो लगानीका फिल्महरूले भने लगानी मात्रै उठाएनन् बरू निर्माताहरूलाई उल्लेख्य मुनाफा समेत प्रदान गर्न सफल भए । ‘हिन्दी मिडियम’,’ लिपिस्टिक अन्डर माइ बुर्का’, ‘जौली एलएलबी’, ‘ट्वाइलेट: एक प्रेम कथा’, ‘शुभ, मङ्गल, सावधान’ जस्ता सानो र मध्यम बजेटका फिल्मले राम्रो कमाइ मात्र गरेनन् बरू समालोचकहरूको ध्यान समेत आकृष्ट गर्न सफल भए ।

वर्षको मध्य यता रिलिज भएका ‘जुडवा- २’ र ‘गोलमाल अगेन’ले फर्काइदिएको कमेडी मसलाको फ्लेभरले बलिउडको व्यापार फेरी उकालो लाग्यो । यसैबिच ‘ट्युबलाइट’को औसत प्रदर्शनबाट झस्किएका बलिउडे दबंग सलमान खानलाई ‘टाइगर जिन्दा है’ले खुसी पारिदिएको छ । वर्षान्त, क्रिसमस र नयाँ वर्षको विदाहरूको फाइदा लिँदै यो चलचित्र वर्षकै सर्वाधिक तीन सय अठार करोडभन्दा माथि कमाउन सफल भयो ।

यस्तोमा टाइगरको गर्जनका बिच अरु चलचित्रको केहि नचल्ने अनुमान गरिएको भनिए पनि केही अघि मात्र रिलिज भएको एउटा सानो बजेटको कमेडी ड्रामा  ‘फुकरे रिटर्न्स’ प्रतिशत मुनाफाका दृष्टिले वर्षकै सर्वाधिक सफल कमेडी चलचित्र हुन् पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

फिल्म समीक्षकहरूको नकारात्मक रेटिङका बावजुद आफ्नो प्रिक्वेल फुकरे भन्दा बलियो प्रदर्शन गर्न सफल यस चलचित्रको कमाइ बलिउडमै अनपेक्षित मानिएको थियो ।

कमेन्ट गर्नुहोस्