एमाले–माओवादी एकताको पुल चुँडाल्ने कि बलियो बनाउने ?

केदारनाथ नेपाल (निश्चल)

गत असोज १७ गते एक्कासी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धनको घोषणा गरेसँगै उक्त विषयले राजनीतिक बजारमा तरङ्ग पैदा गर्यो ।

दुई दलले गठबन्धनको घोषणा मात्र गरेनन् प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सकिए लगत्तै पार्टी समेत एकता गर्ने र एउटै कम्युनिष्ट केन्द्रको निर्माण समेत गर्ने उद्घोष गर्दै आफ्ना कार्यकर्ता, शुभचिन्तक र आम मतदातालाई विश्वस्त पार्न लागि परे ।

निर्वाचन सकियो । मतपरिणाम अनुसार वाम गठबन्धन लगभग दुई तिहाई नजिक पनि पुग्यो । यसको मतलव दुई पार्टीका कार्यकर्ताले गठबन्धनमात्र होईन एमाले माओबादीको एकतालाई समेत अनुमोदन गरिदिए । तर, विभिन्न कारण र समस्याहरुका बिच एकताका काम जुन स्पिडमा अघि बढ्नुपर्थ्यो त्यसो भने हुन सकेको देखिँदैन ।

बरु बिस्तारै दुवै पार्टीभित्रका समस्या र अड्चनहरु सतहमा देखिँदै छन् । दुवै पार्टीमा विशेषगरी दोश्रो तहका नेताहरुमा एकिकृत पार्टीमा आफ्नो हैसियत के हुने र त्यसलाई कसरी सुरक्षित गर्ने भन्ने छटपटावट सतहमा देखिँदैछ ।

गणतन्त्र पश्चात् दुवै दल शक्तिमा रहे । दुबैले तीन–तीन पटक सरकारको नेतृत्व पनि गरे । पदीय हैसियतको कुरा गर्ने र दुबै पार्टीका नेताको हिसाब गर्ने हो भने, मन्त्री र उपप्रधानमन्त्रीको सङ्ख्या बाहेक चारजना पुर्व प्रधानमन्त्रीमात्र छन् । पहिलो पुस्ताको व्यवस्थापनमै दुई दललाई सकस पर्ने देखिन्छ । त्यसमा पनि एमालेलाई आफ्ना नेताहरुको व्यवस्थापन गर्न निकै समस्या देखिन्छ । माओबादीमा भने पहिलो पुस्ताका नेता प्रचण्डमात्रै हुन् भन्दा फरक पर्दैन । पदिय बाँडफाडको कुरा गर्दा माओबादीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्मानजनक हैसियत दिए पहिलो पुस्ताको व्यवस्थापनबाट माओबादी मुक्त हुन्छ । र माओवादीमा एकताको बाटो खुल्छ । एमालेका नेताले पनि व्यक्तिगत स्वार्थलाई त्यागी एकताको लागि मार्ग प्रसस्त गर्न सक्नुपर्छ ।

देश र जनताको लागि एकता गर्न लागेका दुई दलका नेताहरुले ब्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ र निर्वाचनमा जनतालाई दिएको आश्वासन पुरा गर्नतिर लाग्नुपर्छ ।

यदि, एकता कुनैपनि कारणले रोकियो र बाम सरकार निर्माण भएन भने, जसरी अहिलेको निर्वाचनमा बाम गठबन्धनलाई जनताले जिताएर पठाएका थिए त्यसरी नै पत्तासाफ गर्ने तागत पनि जनतामै रहेको छ भनेर नेताहरुले बुझ्नुपर्छ । त्यसैले, हिजो जनतामाझ गरेका बाचा र भोलि जनताको अघि शिर ठाडो गरेर बोल्ने नैतिकताका साथै भोलिको आफ्नै दलको भबिष्यको लागि पनि बिगतका तितामिठा घटनाक्रमलाई बिर्सिएर एमाले माओबादीका नेता–कार्यकर्ताले एकता अभियानमा आ–आफ्नो नेतृत्वलाई सहयोग गर्न जरुरी देखिन्छ ।

हुन त बाम गठबन्धनको घोषणा जसरी जनतालाई अप्रत्यासित लागेको थियो । भित्रीरुपमा त्यस्तो पक्कै थिएन । यो एक दशक अघिदेखिकै महाअभियान थियो । दुई ठुला शक्तिहरुलाई एउटै बनाउनु चानचुने काम होईन । एकता बाहिर प्रचार गरेजस्तो सजिलो र गाह्रो दुवै छैन । यो समयमा सबै नेता कार्यकर्तामा त्याग आवश्यक छ । प्रचण्ड र ओलिमात्र होइन आम कार्यकर्ताको ब्यवस्थापन मुख्य चुनौतिको रुपमा रहेको छ । केन्द्रदेखि प्रदेश, जिल्ला, क्षेत्र र वडाहरुमा को अध्यक्ष हुने भन्नेमा कार्यकर्ताबीच लुछाचुँडी हुनसक्छ । त्यसलाई सबै मिलेर समाधान गर्नुपर्छ । यो समय नेतृत्वले पनि आफ्ना कार्यकर्ताको भावना पनि बुझ्नुपर्छ । एकता गर्ने नाममा कार्यकर्तालाई बेवास्ता गरियो भने शक्ति आर्जन होइन क्षय पनि हुनसक्छ ।

अहिलेको स्थितिमा एमाले–माओवादी एकताको बिषय दुई पार्टीबीचको मात्र नभएर जनताको चासो र चिन्ताको बिषय बनिसक्यो । त्यसैले दुईपार्टीको एकता अब ब्यक्तिगत स्वार्थले रोकिनुहुन्न । सिद्वान्त र कार्यदिशामा मतभेद होलान् । माओवाद र जनताको बहुदलीय जनवाद वा एक्काईसौ शताब्दीको नौलो जनबादलाई पनि एकताको बाधक बनाउनुहुन्न । बरु निर्वाचनमा जनतालाई समाजबादको सपना देखाएका कारण दुबै पार्टीले माओबाद, एक्काईसौ शताब्दीको नौलो जनबाद र जबज लाई इतिहासको रुपमा दर्ज गरेर भोलिको लागि सुरक्षित राखी समाजवाद पुग्ने फास्ट ट्रयाक नयाँ र राजनीतिक सिद्धान्त र नयाँ कार्यदिशाको प्रतिपादन गरेर अघि बढ्नुपर्छ । देशलाई स्थिरताको बाटोमा लैजाने त्यो भन्दा अर्को विकल्प हुन सक्दैन ।

बाम गठबंधनको घोषणा भएसँगै कतिपय कम्युनिष्ट पार्टीहरु एमाले र माओबादीसँग मिलिसकेका छन् भने कतिपय मिल्ने तयारीमा छन् । यदि माओबादी र एमाले एकिकृत भएर कमिन्यूष्ट केन्द्रको निर्माण भई देशमा स्थिर सरकार बन्यो र मुलुकमा बिकास र सम्बृद्विको ढोका खुल्यो भने अन्य स(साना टुक्रामा विभाजित कम्युनिष्ट पार्टीहरुको अन्तिम विकल्प भनेको एकिकृत कमिन्यूष्ट पार्टीसँग मिल्ने नै हो । अहिलेको बाम गठबंधन एकतामा परिणत भयो भने अन्त्यमा देश तिन दलिय प्रणाली (बाम धार नयाँ कमिन्यूष्ट पार्टी, लोकतान्त्रिक धार काङ्ग्रेस र वैकल्पिकको नयाँ शक्ति या साझा पार्टीले) मै जाने हो । त्यसको लागि सबै मिलेर कम्युनिष्ट एकताको पुल बलियो बनाउन जरुरी छ ।

कमेन्ट गर्नुहोस्