निर्धन उत्थान बैंक लिमिटेडको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न 

पुस ३० । निर्धन उत्थान बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा मिति २०७४ पुस २९ गते शनिबार काठमाडौं नक्साल भगवती बहालस्थित सेलिब्रेशन बैंड्ढेट पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष गणेशबहादुर थापाको सभापतित्वमा सम्पन्न सो साधारण सभामा अध्यक्ष थापाले आ.व. २०७३.७४ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । यस वार्षिक साधारण सभाले सामान्य प्रस्ताव तर्फ आ.व. २०७३.७४ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७३.७४ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको मिति २०७४ आषाढ मसान्तको चुक्ता पूँजी रु. ६० करोडको १४.०४ प्रतिशतले हुन आउने रु. ८,४२,१०,५२६।– नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस बैंकको आ.व. २०७४।७५ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्री आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको र निजको पारिश्रमिक रु. ५,००,०००।– निर्धारण गरेको छ ।

त्यसै गरी विशेष प्रस्तावतर्फ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ ले ब्यवस्था गरे बमोजिम बैंकको नाम परिवर्तन गर्ने र सोही बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव रहेकोमा हाल बैंकको नाम निर्धन उत्थान बैंक लिमिटेड रहेकोमा यसलाई संशोधन गरी “निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड” कायम गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको थियो ।

त्यसै गरी बैंकको अधिकृत पूँजी रु. १०० करोडबाट वृद्धि गरी रु. २०० करोड पुर्याउने, संचालक समितिबाट सिफारिश तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व. २०७३.७४ को मुनाफाबाट हाल कायम बैंकको चुक्ता पूँजीको ६६.६७ प्रतिशतले हुन आउने रु.४० करोड बराबरको बोनश शेयर जारी गर्ने, बैंकको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनश शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, बैंकको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने (नाम परिवर्तन, अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक समूहको शेयर स्वामित्वमा परिवर्तन गर्ने, संचालकहरुको सुविधामा वृद्धि गर्ने), बैंकको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनीहरु अमृत नाथ रेग्मी, दामोदर प्रसाद रेग्मी,  ईन्द्रकृष्ण श्रेष्ठ, डमरु बल्लभ घिमिरे, मनोहर कृष्ण श्रेष्ठले साधारण सभामा आफनो राय, सुझाव पेश गरेका थिए । साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले शेयरधनीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिनुका साथै आफनो मन्तब्य दिएका थिए ।

सो साधारण सभाको संचालन बैंकका कम्पनी सचिव राम बहादुर चौधरीले गरेका थिए । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित शेयरधनीहरुले सर्वसम्मतिबाट स्वीकृत गरेका थिए ।

लघुवित्त कार्यक्रमको यात्रा

नेपालमा विपन्न गरीब परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन प्रभावकारी बैंकिङ्ग पद्धतिको टड्कारो आवश्यकता देखिएको समयमा नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर स्वर्गीय डा. हरिहरदेव पन्तको अग्रसरतामा वि.सं. २०४७ साल चैत्र १७ गते “निर्धन” (गैर सरकारी संस्था)को स्थापना गरी रुपन्देही जिल्लाको सिक्टहन गाउँपालिकाबाट धितो बेगर समूह जमानीमा वि.सं. २०४९ साल चैत्र १ गते लघुकर्जा वितरण गरी देश मै पहिलो लघुवित्त संस्थाको बिजारोपण भएको थियो ।

गैर सरकारी संस्थाबाट दिगो रुपमा ब्यापक तरिकाले सेवा प्रवाह गर्न नसक्ने अनुभव भएपछि मातृ संस्था निर्धन कै पहलबाट वि.सं. २०५५।०७।१२ गते निर्धन उत्थान र्बैक लिमिटेडको स्थापना भएको हो । बैंकले आफनो सेवाको सफलतापूर्वक १९ वर्ष पार गरेको छ ।

यस वार्षिक साधारण सभामा बैंकका अध्यक्ष गणेश बहादुर थापाले बैंकले चालु आ.व. २०७४.७५ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा एक सुत्रीय अभियान “कार्यक्रमको गुणस्तर सुधार र बचत तथा निक्षेप वृद्धिमा केन्द्रीत भई नविनतम प्रविधिको प्रयोग तथा ग्राहकहरुलाई वित्तीय साक्षरताको माध्यमबाट क्षमता अभिवृद्धि गर्दै बदलिंदो प्रतिस्पर्धात्मक बजारमा बैंकलाई अगाडि बढाउने” बैंकले लक्ष्य लिएको छ ।

उल्लेखित अभियानलाई आधार बनाई मुख्य रुपमा निम्नानुसारको कार्य गर्ने लक्ष्य लिएको छ :

० ३० हजार ६०० भन्दा बढी सदस्य थप गरी ३ लाख २७ हजार ग्राहकलाई सेवा पुर्याईने,

० सदस्य र ऋणीको अनुपात समीक्षा अवधिको ६९ प्रतिशतलाई वृद्धि गरी कम्तिमा ७० प्रतिशत पुर्याउने अर्थात कम्तिमा २ लाख २९ हजार ऋणी संख्या पुर्याउने ।

० लगानीमा रहेको कर्जा रु. ३ अरब २५ करोड ६३ लाखले वृद्धि गरी १५ अरब ५८ करोड ४७ लाख पुर्याइने,

० बचत तथा निक्षेप रु.२ अरब ५ करोड २१ लाख वृद्धि गरी रु. ८ अरब २८ करोड २८ लाख पुर्याइने ।

० ३० दिनभन्दा बढीको कर्जा जोखिम रकम ०.३९ प्रतिशतलाई घटाएर ०.२४ प्रतिशतमा ल्याउने ।

बैंकले ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरुको आर्थिक, सामाजिक, जनचेतना विकासको लागि बिना धितो सामुहिक दायित्वमा कर्जा लगानी गर्दै आई रहेको छ । बैंकले आफना ग्राहक सदस्यहरुलाई लघुवित्त संस्थाहरुले प्रदान गर्दै आईरहेका मुख्य चार वटा सेवाहरु कर्जा, बचत, बिमा, र विप्रेषण सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकले आयआर्जन, उद्यमशीलता विकास तथा विस्तारको लागि, वैदेशिक रोजगार, शिक्षा, धारा, चर्पी, उर्जा अन्तर्गत बायो ग्याँस, सोलार, सुधारिएको चुल्हो, कृषि उत्पादन, सिंचाई, कृषि उपकरण, दुग्ध उत्पादन, बाली आदि जस्ता विभिन्न प्रयोजनको लागि बैंकले आफना ग्राहक सदस्यहरुलाई कर्जा प्रवाह गर्दै आई रहेको छ ।

बैंकले आफना ग्राहक सदस्यहरु तथा अभिभावकहरुलाई ब्यवसाय विकास तालिम, सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, नेतृत्व विकास तालिमहरु प्रदान गर्दै आई रहेको छ । बैंकले देशको सात वटै प्रदेशमा बसोबास गर्ने ३,०१,५३१ घर परिवारहरुका १५ लाख ७ हजार ६५५ जनसंख्यालाई १७८ वटा शाखाहरुका १५,०५५ केन्द्रहरु मार्फत ८५२ जना कर्मचारीहरुबाट सरल तथा सुलभ किसिमले लघुवित्त सेवा प्रदान गर्दै आई रहेको छ ।

बैंकले चालु आ.व. २०७४.७५ को मंसिर मसान्तसम्ममा रु. ७८ अरब ३० करोड २३ लाख ६० हजार ४३९ लगानी गरी रु. ६५ अरब १० करोड ३२ लाख ८५ हजार ७०५ कर्जा असुली गरेर रु. १३ अरब १९ करोड ९० लाख ७४ हजार ७३४ कर्जा लगानीमा रही रहेको र सोही अवधिसम्म बैंकले आफना ग्राहक सदस्यहरुको रु. ७ अरब ४ करोड ५ लाख ८८ हजार ७६३ बचत तथा निक्षेप परिचालन गरेको छ ।

बैंकले गत आ.व. २०७३.७४ मा ५७ करोड १५ लाख ४३ हजार ९८० रुपैयाँ खुद मुनाफा गरेको थियो भने चालु आ.व.को ५ महिनामा रु. २४ करोड २२ लाख ८९ हजार ९८४ रुपैयाँ खुद मुनाफा गरेको छ ।

बैंकको चुक्ता पूँजी रु. ६० करोड रहेकोमा यस साधारण सभामा प्रस्तावित बोनश शेयर ६६.६७ प्रतिशतका दरले ४० करोड बोनश शेयर वितरण गर्न स्वीकृति अनुमोदन भएपछि बैंकको चुक्ता पूँजी १०० करोड पुगेको छ ।

कमेन्ट गर्नुहोस्