मजाक

किन बस्छ सलिम सिनेमाका पोस्टर टाँसिएका भित्तामुनि रु के त्यो सदरलाइनबाट एकलैनी बजार पस्ने गल्लीतिर मोदिंदा मोदिंदैको दाहिने भित्ता होइन रु के ऊ त्यही भित्तामुनि वर्षौंदेखि जुत्ता पालिस गरेर बसिरहेछ ?

नयनराज पाण्डे

म हरेक दिन सम्झन्छु सलिमलाई । जबजब नेपालगन्जसित जोडिएका स्मृतिले भरिएको दराज खोल्छु, पुराना फाइलभित्र थुप्रिएका थरीथरीका कागज या धमिराले खाएका किताबका पानाहरुझैं ती अचानक खस्न थाल्छन् । एक खालको अजीब गन्धले ह्वास्स छोप्छ मलाई । मक्किएका पुराना किताबहरुको गन्ध ।

स्मृतिमा विभिन्न किसिमका बास्नाहरुको अजीब मिश्रण हुन्छ । त्यसैले ती बास्नालाई अनुभूत त गर्न सकिन्छ तर ठ्याक्कै यस्तो हो भनेर अभिव्यक्त गर्न सकिन्न । सकिन्छ, कवितामा सकिन्छ । तर, यतिबेला म कविता कहाँ लेखिरहेको छु र रु यतिखेर म विम्ब र प्रतीकहरुमा कहा“ खेलिरहेको छु र रु सलिमको कुरा गर्दा मसित काव्यमय भाषाको सङ्कट हुन्छ । जब म सलिमको कुरा भन्छु, जीवनका कलाविहीन खस्रा र धमिला सम्झनाहरुको सपाट शब्दचित्रमात्र भन्न सक्छु । सलिमसितको मेरो सम्झना कलाभन्दा धेरै पर तर जीवनभन्दा साह्रै निकटको कुरो हो ।

बादल पनि त हुन् नि स्मृति । त्यसैले दिमागमा थुप्रिएका स्मृति, विषय, प्रसङ्ग, परिवेश र वातावरण अनुसार बादलझैं बत्तिंदै आउंछन् र मनलाई ह्वात्त एउटा अनौठो खालको संवेगले निथ्रुक्क बनाउंछन् । वर्षातमा रुझेको लुगालाई जसरी निचोरेर टकटक्याउंछौं नि, हो त्यसरी नै स्मृतिहरु निचोरिन्छन् र तपतप चुहिन्छन् हाम्रै अस्तित्वको आँगनमा । यो त्यही आँगन हो, जहाँ सलिम र म गुल्लीडन्डा खेल्छौं । खोप्पीढुस खेल्छौं । कटिया समातेर माछा मार्छौं । गुलेन चलाएर भंगेरा मार्छौं ।

हो, त्यसैले सलिम मेरा लागि महङ्खवपूर्ण छ । हेर्दा कति साधारण, कति असहाय देखिन्छ सलिम । तर, कति जब्बर भएर आउँछ ऊ मेरो स्मृतिमा । उतिबेला मेराअगाडि आउँदा कि उसको खल्तीमा विभिन्न रङका गुच्चा हुन्थे कि माछा मार्ने बल्छी अर्थात् कटिया । चानचुन पैसाका ढ्याक पनि लिएर आउंथ्यो ऊ कहिलेकाहीं र भन्थ्यो, ‘आइज यार, खोप्पीढुस खेलौं ।’

तर, जब ऊ स्मृतिमा आउँछ, ऊ कटिया, गुच्चा या चानचुन पैसामात्र लिएर आउँदैन । त्यससँगै लिएर आउँछ, म हुर्किंदै गरेको समयको तातोपन पनि । सँगै लिएर आउँछ, मैले खोप्पीढुस खेल्नका निम्ति जमिनमा सानो खोपिल्टो बनाउन कोट्याउदै गरेको माटोको गन्ध र कटियामा अल्झेका चिप्ला न चिप्ला गिरही माछाको ताजा गन्ध पनि । हामी पराल बालेर माछा पोल्थ्यौं । माछा र परालको धूवाँको त्यो बास्ना पनि लिएर आउँछ ऊ । अनि, त मलाई लाग्छ– मेरो अतीतमा या मेरो स्मृतिमा सलिम जति पावरफुल मान्छे अरु कोही छैन । हो यार, मान्नूस् न ! ऊ पावरफुल मान्छे हो । ऊ लेख्न जान्दैनथ्यो, पढ्न पनि जान्दैनथ्यो । तर, उसले मेरो हात समातेर मलाई आफू बाँचेको परिवेशको कथा लेख्न सिकाएको छ । त्यसैले त मैले लेखेका अक्षरहरुबाट पनि अजीब खालको बास्ना आउँछ । सलिमको शरीरबाट बगिरहेको पसिनाको बास्ना त हो नि त्यो ।

+++  +++  +++

गल्ती गरेछु मैले । सदरलाइन गएर एकपल्ट भए पनि रस्तोगी फोटो स्टुडियोमा मैले सलिमसित उभिएर एउटा फोटो खिच्नुपथ्र्यो । त्यो फोटो भइदिएको भए आज म भन्न सक्थें, उसको हुलिया कस्तो थियो ! कसरी जोडिएका थिए उसका आँखीभौं एकआपसमा । आँखीभौं जोडिएकाहरु रिसाहा हुन्छन् रे १ सुनेको थिएँ मैले । तर, सलिम किन कहिल्यै पनि रिसाएन मसित रु त्यसबेला पनि किन रिसाएन ऊ, जब उसले र मैले सुर्खेत रोडको गड्ढामा सँगै कटिया थापेका थियौं । दुई–तीन घन्टामै सलिमले आठ–दसवटा टेंगना र गिरही माछा मारिसकेको थियो । मैले भने पटक–पटक कटियामा गड्यौंलामात्र उनिरहेको थिएँ । एउटा पनि माछा मार्न सकेको थिइन । अन्तिममा परेको एउटा माछा पनि कटियाबाट निकाल्ने क्रममा फुत्किएर फेरि गडाहामै खसेको थियो । त्यतिबेला मेरो ताल देखेर मज्जाले हाँसेको थियो सलिम र मैले आवेशमा सलिमको कटिया भाँचिदिएको थिएँ । हो, त्यतिबेला पनि रिसाएन मसित सलिम ।

मेरो स्मृतिमा त्यसैले सधैं सलिमको हँसिलो अनुहार आइरहन्छ । हँसिलो र सुकिलो । हो, उसका लुगा भने कहिल्यै पनि सुकिला भएनन् । उसले एउटाबाहेक अर्को कमिज फेरेको सम्झना छैन मलाई । कमिजको कलरमा जमेको कालो र चिल्लो मयलले पनि उसको सुकिलो व्यक्तित्वलाई मैल्याएको थिएन । मान्छे लुगाले मात्र सफा कहाँ देखिँदो रहेछ र रु लुगाले मात्र मान्छेको नग्नता छोपिने भए सधैं ठाउँठाउँमा प्वाल परेको र घरिघरि गुप्ताङ्ग देखिइरहने कट्टु लगाउने सलिम मेरो स्मृतिमा किन नाङ्गो भएर आउँदैन रु किन अश्लील देखिन्न सलिम रु गरिबीले उसलाई कागतीलाई झैं निचोरे पनि उसको स्मृतिले किन मलाई कहिल्यै पनि अम्लीय अनुभूति गराउदैन ?

सलिमको कथा लेखिसकेको छु मैले । निकै वर्षअघि । उलार र लूमा सलिमको उपस्थिति छैन । तर, मलाई थाहा छ— त्यहाँ सलिम नै सलिम छ जताततै । ऊ अलिकति प्रेमललवामा मिसिएको छ र अलिकति कलुवामा पसेको छ । ऊ लूको इलैयामा पनि मिसिएको छ र करिममा पनि घोलिएको छ । ऊ उलार र लूका पानापानामा फेड इन र फेड आउट हुँदै आउंदै जाँदै गरिरहेको छ । उलार र लूका पानाहरु जबजब पल्टाउछु, एउटा पानाबाट फुत्त निस्कन्छ र अर्को पानामा फुत्त पसिहाल्छ सलिम । माछाझैं नदीको एउटा धारबाट उफ्रन्छ र तुरुन्तै अर्को धारमा मिसिन्छ ऊ । कहिलेकाहीं त लाग्छ, सलिम नै त्यो सियो हो, जसले उलार र लूका पानापानालाई गासेंको छ । आधा अधुरो वस्त्र लगाउने सलिम मेरा लागि जाडोको सुइटर बुन्दै आउँछ । सम्झनाको न्यानो सुइटर, जसलाई सलिमले अतीतको सलाइमा सम्झनाको गोल्छा या वर्धमान ऊनले फटाफट बुनेको छ ।

यो पुस–माघ कसरी काट्यो होला सलिमले रु उसलाई जाडो भयो कि भएन रु मलाई दिक्क लाग्छ । म किन उसलाई न्यानो सुइटर दिन सक्दिन रु किन म उसलाई सधैं कठ्याँग्रिरहेकै स्थितिमा छाडिदिन्छु रु सलिम मेरो अस्तित्वको त्यो हिस्सा हो, जसलाई ढुसी परेर कुहिन दिनुहुन्न भन्ने के थाहा छैन मलाई ?

सलिम नै त हो, मलाई नेपालगन्जका गल्लीगल्ली घुमाउने । करमोहना र परसपुर लैजाने उही त हो मलाई । जोगागाउँको मेला मैले ऊसितै हेरेको होइन र रु मैले आफ्नो उमेरसँगै हुर्कंदै गरेको नेपालगन्जलाई सलिमकै आँखाबाट हेरेको त हुँ नि १ ल भैगो, सलिम मेरो आँखा होइन रे ! तर, मैले मेरो आँखामा लगाएको दूरबिन त सलिम नै हो । त्यही दूरबिनको सहायताले त मैले देख्न सकेको हुँ नेपालगन्जका दुःखी–गरिबहरुको अनौठो समाज । कति स्वार्थी छु म, जसको कारणले मैले त्यो समाजको कथा लेख्न सकें, त्यो सलिमको नाम मैले आजसम्म सहलेखकका रुपमा पनि उल्लेख गर्न सकिन । कति पाखण्डी छु म !

मलाई लाग्छ– हरेक लेखकले लेख्ने उत्कृष्ट किताब उसको पाखण्डको अति उत्तम सिर्जना हो । हरेक सिर्जनासँगै लेखकले एउटा अपराध पनि गर्छ । किनभने, उसले आफ्ना सिर्जनाका लागि प्रयोग गर्ने स्मृति र त्यो स्मृतिका बाहकलाई अलिकति पनि जस पाउने मौका दिदैन । हरेक श्रेय, हरेक पुरस्कार र हरेक वाहवाही ऊ एक्लैले लुट्छ । ऊ आफ्ना सिर्जनाहरुको कपिराइटका लागि मरिहत्ते गर्छ । तर, सलिम र सलिमजस्ताहरु कहिल्यै पनि त्यो सिर्जनामा आफ्नो हिस्सेदारीको दाबी गर्न आउँदैनन् । गरिबीको राजमार्गमा कुद्ने उनीहरुको पाइला सिर्जनाको आकर्षक महलको नक्कासीदार ढोकासम्म आएर फेरि त्यही राजमार्गतिर फर्किन्छ । सिर्जना र डकैतीमा त्यसैले अलिकति भए पनि कतै न कतै समानता त छ नि ! हरेक लेखक सिर्जनाको जङ्गलमा हालीमुहाली गर्ने औतारी डाँका नै हो क्या ! मान्नूस् न !

मैले आफ्नै स्मृति र त्यससँग जोडिएको एउटा कालखण्डलाई फेरि घामकिरीमा उतारें । उलार र लूमा लुकेर बसेको सलिम यसमा जागा भएर आएको छ । दृश्यमा उपस्थित भएको छ ऊ यस पटक । उपन्यासभरि सलिम छ । सलिमको स्मृति छ । सलिमले उब्जाइदिएको सपनाको फसलको कटाइ र छटाइ त छ नि घामकिरीमा ।

तर, सलिमलाई उलार र लूमा आफू कहाँ छु भन्ने पनि थाहा छैन । घामकिरीका पानाहरुमा कहाँकहाँ उसको कथा भनेको छु भन्ने पनि थाहा छैन उसलाई । यतिबेला पनि ऊ के एकलैनीको त्यही मोडमा जुत्ता पालिस गर्दै बसेको होला कि नेपालगन्ज छाडेर कतै अन्तै बसाइ सरिसक्यो ?

निकै वर्षअघि एकलैनीको त्यही मोडमा देखेको थिएँ मैले । मलाई चिनेन उसले । मैले आफ्नै घरेलु नाम भनें । त्यसपछि उसको अनुहारका त्वचा र नसा धेरै पटक खुम्चिने र फैलिने गरिरहे । निकैबेरपछि मात्र उसले चिनेको थियो र भनेको थियो, ‘अच्छा, तो वही राजु बाबु होव तुम ?’

साथी नै त थिएँ , म उसको । त्यसैले ‘राजु’ भनेर बोलाउथ्यो सानोमा ऊ मलाई । तर, धेरै वर्षको अन्तरालमा म उसका लागि ‘राजु बाबु’ पो भइसकेको रहेछु । मैले त्यतिखेर बुझिन, त्यो मेरो हैसियत बढेको सूचना थियो या मित्रताको आदिम किताबमा धमिरा लागेको सङ्केत थियो रु के सलिमसितको मेरो सम्बन्ध बिस्तारै बिस्तारै मक्किदै गइरहेको हो ?

त्यसपछि फेरि केही वर्षको अन्तरालमा नेपालगन्ज जाँदा मैले सलिमलाई देखिन । सलिमहरुको बस्ती पनि देखिन । मानौं एउटा बालकले पेन्सिलले बनाएको चित्र थियो उसको त्यो बस्ती, जसलाई उसको कुनै साथीले इरेजरले मेटिदिएको थियो । जसरी हराएको थियो प्रेमललवाको घर र टाँगा उलारमा, त्यसरी नै सर्लक्क हराएको थियो यस पटक सलिमको बस्ती । म किन रुन सकिन त्यतिबेला रु के समयले परिपक्व बनाएको थियो मलाई रु या मेरा आँखाभित्र सुकिसकेका थिए नुनिला र ताता आँसुहरु रु आफ्नो आँखाको पानी सुकाएर के आफ्ना रचनामार्फत म मेरा पाठकलाई रुवाउने नौटङ्की गरिरहेको छु रु यदि यो विडम्बना हो भने म, यो पङ्क्तिको लेखक हजारहजार विडम्बनाको चलायमान दस्तावेज हुँ । नपढ्नूस् मलाई । इग्नोर मि !

तर, म सलिमलाई ‘इग्नोर’ गर्न सक्दिन“ । ऊ आइरहन्छ मेरो स्मृतिमा । ऊ आउँदा उसले आफ्नो काखीमै च्यापेर ल्याउँछ, मैले लेख्नैपर्ने कथाहरुको पाण्डुलिपि । त्यही पाण्डुलिपि म टाइप गर्छु र आफ्नो नामको आख्यान बनाएर छाप्छु । सलिमले फेरि पनि माग्दैन मसित सहलेखकको हैसियत । उसले रोयल्टी पनि माग्दैन । कपिराइटको दाबी पनि गर्दैन । ऊ उसरी नै हाँसिरहन्छ, जसरी हाँसेको थियो मेरो कटियाबाट फुत्केको माछालाई देखेर ।

म आज पनि अलमलिन्छु, सलिम मेरो साथी हो या मसम्म कथाका पाण्डुलिपि बोकेर आउने हुलाकी रु म अलमलमै छु, यो सलिमको पहिचानको सङ्कट हो या म आफैं गुमाउदै छु आफ्नो पहिचान रु कि, म क्रमशः ‘राजु’बाट बन्दै गइरहेको छु ‘राजु बाबु’ ?

आममान्छेहरुको बीचबाट निस्किएर खास मान्छे बन्नु जति खतरनाक कुरा एउटा लेखकका लागि के नै हुन सक्छ ?

ए मेरो समयका प्रिय लेखकहरु, के हामी सबै त्यही खतरामा त छैनौं ?

प्रश्न छ, ठूलो प्रश्न । प्रश्न एकचोटि उभिएपछि उभियो, उभियो । यो धरहराजस्तो ढल्दैन कहिल्यै । मलाई डर लाग्छ कहिलेकाहीं, हामी कतै आफैंले सिर्जना गरेका प्रश्नको पर्खालभित्र कैदमा त परिरहेका छैनौं ?

+++    +++    +++

सलिमको अनौठो बानी थियो । ऊ कहिलेकाहीं जनावरसित बोल्थ्यो । जनावरसित दोहोरो संवाद भएझैं गथ्र्यो । म उसको टोलमा पुग्दा ऊ कहिलेकाहीं वरिपरि भुस्याहा कुकुर भेला पारेर बसिरहेको हुन्थ्यो । उसले ती सबै कुकुरको नाम राखेको थियो । कसैको अभिताभ बच्चन, कसैको धर्मेन्द्र, कसैको हेमामालिनी, कसैको जीनत अमान र परवीन बाबी । ऊ तिनीहरुसित सिनेमाका कुरा गथ्र्यो, सिनेमामा तिनीहरुको भूमिका र अभिनयको कुरा गथ्र्यो । मैले सोध्दा भन्थ्यो, ‘मजाक गरेको यार !’

तर, नियति, समय अनि परिस्थिति सबैसबै कुराले सलिम र सलिमजस्ता बस्तीबाट हराउंदै गरेका मान्छे आफैं एउटा ‘मजाक’ अर्थात् एउटा क्रूर ठट्टा बनिरहेका छन् अझै पनि । र म, लेखक भइटोपलेको एउटा पाखण्डी पुरुष, सलिमकै कथा लेखेर उसको भागको रोयल्टी पचाइरहेछु । यो भन्दा भद्दा ‘मजाक’ अरु के होला ?

स्मृतिमै सही । जबजब सलिम र मेरो जम्काभेट हुन्छ । मजाक भइरहन्छ । म उसको हातमा कहिले उलार, कहिले लू र कहिले घामकिरीका पुस्तक राखिदिन्छु ।

ऊ सोध्छ, ‘कहानी लेखेको बे ?’

म जवाफ दिन्छु, ‘यार ! लेखेको हैन । बस्, मजाक गरेको ।’

सलिम फेरि पनि हाँसिरहन्छ । ठीक त्यसरी नै, जसरी ऊ हाँसेको थियो भर्खर समातेको माछा मेरो हातबाट फुत्कंदा ।

(लेखक पाण्डेको संस्मरण ‘यार’ बाट साभार।)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!