महेन्द्रनगरमा विविध साहित्यिक कार्यक्रम, धूमधामले मनाइयो सरस्वती पूजा

महेन्द्रनगर, माघ ८ । सरस्वती पूजा एवं वसंत पंचमीको अवसर पारेर पश्चिम नेपालको महेन्द्रनगरमा सोमवार भिन्न भिन्न ठाउँमा स्रस्टा सम्मान तथा साहित्यिक कार्यक्रमहरू सम्पन्न भएका छन् ।
सोमवार दिउँसो यहाँस्थित विपिन बुक्स एंड स्टेनर्सले आफ्नो वार्षिकोत्सवको अवसर पारेर वृहत खुल्ला गजल प्रतियोगिता एवं स्रस्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
विपिन बुक्स महेन्द्रनगर र सदाबहार साहित्य समाज  महेन्द्रनगरको संयुक्त आयोजनामा उक्त गजल प्रतियोगितामा सहभागी हुन प्रदेश नं. ७ का ९ ओटै जिल्लाहरुबाट र प्रदेश नं. ५ का दाङ र नेपालगन्जका साथै प्रदेश नं. ४ को कास्की जिल्लाबाट समेत उल्लेख्य मात्रामा गजलस्रस्टाहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा ९७ जनाले नाम दर्ता गराए पनि छनौट पछि ४९ जना सर्जकले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
कार्यक्रममा साहित्य क्षेत्रमा  योगदान पुर्याएको भन्दै  कैलालीको धनगढीमा रहेको समर्पण पुस्तक पसल,टिकापुरको देवकोटा लिट्रेचर बुक्स हाउस, धनगढीकी गजलकार तारा भट्ट पल्लवी, टिकापुरकी गजलकार दुर्गा जोशी, महेन्द्रनगरका श्रस्टा कविराज भट्ट ‘बिलौना’, महेन्द्रनगरका अग्रज साहित्यकार कल्याण ओझा, गजलकार भुवन निस्तेज, साहित्यकार डा. शान्ति पन्त सम्मानित हुनु भएको थियो ।
त्यस्तै पत्रकार रनि विवश, चन्द्र थापा समेत सम्मानित हुनु भएको थियो । कार्यक्रममा खगेन्द्र जोशी, युगीन विवेक, तेज पुरुष, रोहित भट्ट , भूपि धामी, तीर्थ भट्ट, मीन बाब्ली मिलनलाई पनि कदर पत्रद्वारा सम्मान गरिएको थियो ।
साहित्यकार खगेन्द्र जोशी, गजलकार भुवन निस्तेज र गजलकार तेज पुरुषले निर्णायक रहेको उक्त गजल प्रतियोगितामा दाङका वसन्त ओली ‘वसन्ती’ प्रथम, अछामकी ध्रुवा तिमिल्सिना द्वितीय, दाङकै प्रतीक संग्रामी तृतीय र कास्कीका अभिराम कुरुपताले सान्त्वना स्थान हासिल गर्नुभयो ।
प्रतियोगिता प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नुभएका स्रस्टाले क्रमशः नगद रु. २ हजार, १५ सय, एक हजार र ५०० सहित केही थान गजलसंग्रहहरू पुरस्कार स्वरूप प्राप्त गरेका थिए। कार्यक्रममा करिबन ३ दर्जन बढी अप्रतियोगी स्रस्टा हरूले समेत सृजना वाचन गरेका थिए ।
विपिन बुक्स एण्ड स्टेसनरीका संचालक कमल ढकालको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा साहित्यकार मधु हमाल प्रमुख अतिथि रहनु भएको थियो भने हरिश प्रसाद जोशी र प्रा. डा. मुकुन्द कलौनी विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रमको संचालन संचारकर्मी भागेश्वरी शाहले गर्नु भएको थियो।
कार्यक्रममा विपिन बुक्सले प्रकाशित गरेको गगन चुम्बन रचित गजल संग्रह ‘का का’माथि परिचर्चा समेत गरिएको थियो ।
देशका सबै ठाउँका स्रस्टाहरूको उपस्थिति रहेको यो महेन्द्रनगरकै पहिलो साहित्यिक आयोजन रहेको बताइएको छ ।
त्यस्तै सोमवार बिहान यहाँस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा महाकाली गजल प्रतिष्ठान, सिद्धनाथ विज्ञान क्याम्पस शाखा र बायोलोजिकल स्टुडेंट्स एसोसिएसन अफ नेपाल (बान)को संयुक्त आयोजनामा गजल वाचन प्रतियोगिता सम्पन्न भयो ।
बानका अध्यक्ष किशोर चन्दको अध्यक्षता, विज्ञान क्याम्पसकी क्याम्पस प्रमुख विमला शाक्यको प्रमुख आतिथ्य र प्राध्यापक खगेन्द्र जोशीको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा विजेताहरूलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान दिइएको थियो ।

          
          

कमेन्ट गर्नुहोस्