“पार्टी एकता भएपछि मात्रै नयाँ सरकार बन्छ” – वामदेव गौत्तम

लगातार पाँच वर्ष वामपन्थी नेतृत्वको सरकारले काम गर्छ

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको वैठकले आइतबार गठन गरेको विकास र सुशासनको खाका तय गर्न गठित कार्यदलले सोमबारदेखि नै काम थालिसकेको छ । नयाँ सरकार गठन हुनु अघि नै खाका तयार पार्नु पर्ने भएकाले कार्यदललाई समयको चाप छ । यसैसन्दर्भमा कार्यदल संयोजक एमाले उपाध्यक्ष वामदेव गौतमसंग गरिएकाे कुराकानी

कार्यदलले तत्काल के के काम गर्छ ?

विकास र सुशासनको योजनाको प्राथमिकता तय गर्न बनेको कार्यदलको संयोजक मलाई तोकिएको छ, अरु ६ जना सदस्यहरु छन । अव बन्ने सरकारले कार्यदलले दिएको सुझाव अनुसार आफ्नो काम अगाडि बढाउनेमा विश्वस्त छु ।

कार्यदलले सरकार अघि नै यी काम सक्नु पर्ने होला, समयको चापमा कसरी काम गर्ने ?

यो काम नयाँ सरकार गठन अघि नै सक्नु पर्छ, नसकी सुखै छैन । किनकी अब तत्कालै वैचारिक र सांगठनिक कामहरु गर्नुपर्दछ । छिटै काम सकेर संयोजन समितिलाई सुझा दिन्छौं ।

सरकार अघि नै विकास र सुशासनको खाका तयार हुनु राम्रो संकेत हो, तर यसको विश्वसनीयताका आधार के हुन् ?

हामीले दिएको सुझाव कार्यान्वन गर्छ । योजना कार्यान्वन नै यसको विश्वसनीयताको आधार हुन । विश्वास हुन्छ ।

तपाँईहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा महत्वकांक्षी योजना र सपना बाँड्नु भएको छ । त्यसको कार्यान्वनको खाका पनि यही कार्यदलले बनाउने हो ?

हैन, यो कार्यदलले तत्काल त्यो काम गर्दैन । कार्यदलले नयाँ सरकार गठन हुने वित्तिकै गर्ने कामको प्राथमिकता किटान गरेर दिन्छौं । घोषणा पत्र कार्यान्वनको सम्वन्धमा दुई पार्टीवीच ब्यापक छलफल हुन्छ । योजनाविदहरुसंग छलफल हुन्छ । योजना आयोग र मन्त्रालयहरु वीच समन्वय गरेर अघि बढ्छौं । त्यसको लागि समय लाग्छ । अहिले तत्काल शुरु गरिहाल्ने कामको खाका हामीले बनाउँछौं ।

एमाले र माओवादीले चुनाव लगत्तै पार्टी एक बनाउने घोषणा गरेका थिए, तर यो काममा अपेक्षित गति आएन न नि ?

तीन चार दिनमा पार्टी एकता संयोजन समितिको वैठक बस्छ । यो वीचमा राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारको गृहकार्यमा लाग्नु पर्नेछ । वैचारिक धारणा र सांगठनिक स्वरुप तय गर्न कार्यदल बनाएर काम थालिहाल्छौं । त्यसअघि नै दुई पार्टीका अध्यक्षहरुले धेरै विषयमा सहमति जुटाइसक्नुहुनेछ । पार्टी एकतामा कसैले शंका गर्नु आवश्यक छैन । लगातार पाँच वर्ष एमाले र माओबादी गठबन्धनको सरकारले काम गर्छ । अरु दलहरु पनि सरकारमा सहभागी गराउँछौं । राजनीतिक स्थिरता पनि हुन्छ । सम्वृद्धि पनि कायम हुन्छ, त्यो बाटोमा हामी लागिसकेका छौं ।

नयाँ सरकार गठन अघि नै पार्टी एकता हुने हो ?

हो, नयाँ सरकार गठन अघि नै हुन्छ ।

सरकार पहिले कि पार्टी एकता भन्नेमा कुनै द्विविधा छैन ?

विल्कुल छैन । पार्टी एक भएर नै सरकार चलाउने हो । कसैले केही शंका गर्नु पर्दैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!