जङ्गलको बाघ बजार पस्दा किन स्याल बन्नुभयो बाबुराम–प्रचण्ड कमरेड ?

टीकाराम ओली/

जमिन्दारको खेत जोत्दा उठेको ठेला र जनयुद्धमा प्रचण्ड बाबुरामहरुको बन्दुक बोकेर उठेका ठेलाले कहिले न्याय पाएन ।

जमिन्दारहरुले एक माना चामलमा ठेला उठाउने बनाए । प्रचण्ड–बाबुरामले माओवादी आन्दोलनलाई नै अयोग्य बनाएर प्रक्रियावादीहरुको संरक्षण गर्न पुगे । साहुको भरिया भएर चिरिएका पैतालाहरु जस्तै प्रचण्ड बाबुरामलाई रातो कार्पेटमा पुराउन कति चिरिएका छन् । रातो कार्पेटको लागि मात्र युद्ध थियो बाबुराम, प्रचण्ड कमरेड ? होइन भने माओवादको प्रयोग हो कि बदनाम ? बन्दुक बोकेको राज्यसँग घङ्गारुको भरमा श्रमजीवीहरुलाई किन बलि चढायौ ?

देशी विदेशी मालिकको विरुद्ध सुरुङ्ग युद्ध भन्ने आज त्यही देशी विदेशीसँग अंकमाल गर्ने भए सुरुङ्ग युद्ध के को लागि थियो ? शत्रु र मित्र थाहा नपाउने भए किन उत्पीडितहरुलाई खोक्रो सपना दिएको हो ? होइन भने सामन्तवादी उत्पीडनविरुद्ध संघर्ष गरेको योद्धा तपाईहरुलाई रातो कार्पेटमा पुराएका जिउँदा सहिद बालकृष्णलाई पिँजडाभित्र मुक्तिको सपना किन कैद गरिएको हो ? गोविन्द केसीको समर्थनमा सडकमा आउने बाबुराम बालकृष्ण पिँजडामा पर्दा समेत एक शब्द बोल्न सक्दैनन्, किन ? के देशी बिदेशी शक्तिकेन्द्रको रातो कार्पेटमै रमाएको हो ?

होइन भने प्रचण्ड र बाबुरामजी तपाईंहरु कहिले कांग्रेसको गोडा धुने कहिले एमालेको भजन गाउने तर बालकृष्णलाई एक शब्द खर्च नगरेको देख्दा माओवादी आन्दोलनलाई अपराधी, हत्यारा भनेर साम्राज्यवाद र बिस्तारवादसँग ल्याप्चे ठोक्नु भएछ होइन र ?

तपाईंहरुलाई यो ठाउँमा पुराउने र पटकपटक मन्त्री र सांसद बनाउने सिपाही बालकृष्ण होइनन् ? बालकृष्ण जस्ता योद्धाहरुले युद्धको मोर्चा नसम्हालेको भए तपाईहरुको हैसियत रातो कार्पेटसम्म पुग्ने थियो कि थिएन ? हामीले श्रमजीवीको मुक्ति पाउने सहिदहरुको रगतले रङ्गिएको रातो कार्पेट खोजेका थियौं ।

साम्राज्यवादले श्रमजीवीको हत्या गर्न प्रयोग गरेको रातो कार्पेट कालो खरानी बनाउन चाहन्थ्यौं । जतिबेला बालकृष्णले बन्दुक बोकेका थिए, त्यतिबेला सबैको प्यारा र इमानदार देशभक्त थिए । जतिबेला हतियार खोस्न लगाइयो अनि बालकृष्ण अपराधी भए । युद्धमा बन्दुक र गोलीको आदेश दिन सक्नेहरुले शान्तिकालमा जिम्मेवारी लिन सक्दैनन् भन्ने युद्धको त्यो रातो कार्पेट सहिदको रगतले आएको होइन त्यो त नुनदेखि सुन, दलालदेखि देशी विदेशी साम्राज्यवादको आशीर्वादबाट प्राप्त भएको रहेछ है ? युद्धको बेला सबै योद्धाहरुले तपाईहरुलाई बाउआमा भन्दा ज्यादा माया गरेको हो कि होइन ? त्यति बेलाका नेतृत्व तपाईहरुले आफ्नो योद्धाहरुको रक्षा गर्नु तपाईंहरुको कर्तव्य हो कि होइन ? एक थोपा शरीरमा रगत रहँदासम्म युद्ध जिन्दावाद भन्न सिकाउनु भयो, बालकृष्णले त्यही भन्नुभयो ।

जमिन जोत्नेको हुनुपर्छ भनियो, श्रमिकहरु त्यसको लागि रगत बगाउन तयार भए । बारी खन्नेको नै हुनुपर्छ भन्यौ, किसान बिद्रोह गर्न तयार भए । महल, कारखाना र पूँजी पसिना बगाउनेकै हुनुपर्छ भन्यो मजदुरहरु छापामार बन्न तयार भए । आखिर श्रमिक, किसान र मजदुरहरुले के पाए ? तपाईहरुलाई रातो कार्पेटमा पुराएपछि के भयो ? थवाङलाई राजधानी भनियो, सुकुम्बासी किसानलाई जग्गा, बेरोजगारलाई रोजगार, गरिबलाई गास, बास र कपास खै कता हराए ? शिक्षा, स्वास्थ्य भनियो, खै सबै कहाँ हराए ? वर्गीय युद्ध भनेका मान्छेहरु वर्ग त वर्ग त्यही श्रमजीवीको खुन पसिना चुस्ने वर्गको पो गुलाम बन्ने भनिएको रहेछ हैन ? ।

होइन, तपाईहरुको वर्गीय चेतनालाई प्रतिबन्ध नै लगाएका छन् त साम्राज्यवादीहरुले ? सत्यविरुद्ध पिँजडा तयार भएको हो त ? जङ्गल छँदाको बाघ बजार पस्दाको स्याल किन बन्नुभयो बाबुराम–प्रचण्ड कमरेड । तपाईहरु त दुई चार दिन स्याल बनेर भए पनि सरकार चलाउनु होला तर बालकृष्ण जस्ता हजारौं योद्धा हामी चै कुकुर बन्नु पर्यो है ? कायरहरुको व्यवस्थामा स्यालहरु खुशीयाली धेरै दिन हुँदैन । धेरै श्रमजीवीहरु आँसु, पीडा र संघर्षमा छन् । साठी लाख युवायुवतीहरु विदेशी तापक्रमसँग प्रत्येक दिन रोग, भोग र आँसु पसिनासँग संघर्ष गर्न बाध्य छन् । प्रत्येक दिन रातो बाकस पशुपतिमा खरानी बनेका छन् । राष्ट्रवादी भन्ने तर सिमाना गुमेको पीडा नै छैन ।

क्रान्तिको गतिसँगै राष्ट्र मजबुत बनाउने कुरा थियो । सत्ता जनताको हातमा र नेता निःस्वार्थ जनताको बीचमा रहने दस्ताबेज थियो । दुखी, गरिब र मजदुरहरु मालिक बन्ने कुरा थियो । अहिले कसरी वर्गीय सत्ताबिना जनताको मुक्ति सम्भब देख्नु भयो ? आफ्नै योद्धा पिँजडामा कैद हुने व्यवस्थाबाट वर्गीय सत्ता सम्भब छ कि छैन प्रचण्ड बाबुराम कमरेड ? तपाईंहरु वर्गीय एजेन्डा छोडेर व्यक्तिगत जीवनमा फर्केपछि तपाईंहरुप्रति आशा राखेका सर्वहारा वर्गको के स्थिति देख्नु भएको छ ? घाइते योद्धाहरु घाइते शरीर बोकेर खाडीसहित विभिन्न देश जाँदा परेको पीडा कसले बुझ्ने हो ? अयोग्य साथीहरूको बेहाल भएको जिम्मेवारी तपाईंहरुले नलिए कसले लिनुपर्ने हो ? गणतन्त्र योग्य तपाईं र बाबुराम योग्य नागार्जुन र शितल निवास, बालकोट, बल्खु सबै योग्य हुने तर श्रमजीवीहरु अयोग्य चैं किन ? ज्ञानेन्द्रको निजी सम्पत्ति तपाईहरुलाई थाहा होला तर कम्युनिस्टहरुले निजी सम्पत्ति लुकाउने कहिलेसम्म हो ? सादा जीवन उच्च विचार भन्ने तपाईहरु आज भोलि ज्ञानेन्द्र भन्दा पनि हाइफाई देखिन्छ नि ? वर्गीय जीबन मात्र देख्ने तपाईहरु एकाएक किन ब्यक्तिगत जीबनतिर फर्किनु थियो भने किन खोक्रो सिद्धान्तमा पारियो श्रमजीवीहरुलाई ?

कमरेड प्रचण्ड बाबुराम तपाईहरु सर्वहारा वर्गलाई रोडमै छोडेर गणतन्त्र योद्धा बालकृष्ण ढुंगेललाई जेल हालेर आरामले सुत्ने डलर निकै नै आएको होला नि ?

रोल्पा सम्झौता हुँदै १२ बुँदे दिल्ली सम्झौता नेपालको राष्ट्रियता जोगाउनको लागि थियो कि सिमानामा पिलर बेच्नको निम्ति ? बृहत शान्ति सम्झौता श्रमजीवीहरुको न्यायको लागि थियो कि तपाईंहरुलाई काठमाडौमा शान्तिसँग बाँचेर श्रमजीवीविरुद्ध मोर्चा बनाउन र विदेशी दूत र “रअ”का प्रमुख र एजेन्टहरुलाई भेट्नको लागि थियो ?

प्रचण्ड बाबुराम कमरेड तपाईंहरुबाट आशा गरेका वर्ग निराश र हिजो तपाईंको मूल्य तोक्ने बर्ग कसरी तपाईंको आफ्नो भए ? तपाईँकै आदेशमा ज्यानको बाजी राखेर जनयुद्धमा होमिएका कोही पिँजडामा, कोही अपांग, कोही घाइते, कोही अयोग्य, कोही बेपत्तासहित परिवारमा रुवाबासी भइरहँदा तपाईंको आदेश गलत साबित किन भयो ? दरबार खोजेकै हो भने एक छाक काम गरेर ज्यान पाल्ने मजदूरहरुलाई बीच सडकमा छोडेर दरबारमा छिर्नु थियो भने न्यायको सपना केका लागि थियो ?

प्रचण्ड–बाबुराम कमरेड, बालकृष्ण एउटा ब्यक्ति मात्र होइन तपाईँले नेतृत्व गरेको मुक्ति र परिवर्तनको सपना देख्ने महान योद्धा हो । तपाईंहरु पहुँचमा भएको बेला पनि किन बालकृष्णको न्यायको बारेमा एक शब्द पनि आउँदैन ? बालकृष्णलाई जेल हाल्नु भनेको तपाईंहरुले उठाएको एजेन्डाको हत्या गर्नु होइन र ?

अन्तमा, प्रचण्ड–बाबुराम कमरेड । बालकृष्णलाई त यो व्यवस्थाले अपराधी देख्यो तर १७ हजारको हत्यारा को हुन् ? हजारौं बेपत्ता पार्ने को हुन् ? हजारौं घाइतेको दुश्मन कहाँ छन् ? रुकुमको खारा, रोल्पा, कालिकोटलगायत देशभर माओवादीको नाममा सर्वसाधारणको हत्या कसले गरेको हो ? दिलबहादुरहरुको हत्यारा को हुन् ? कृष्ण सेनका हत्यारा को हुन् ? तपाईँले भन्न सक्नुहुन्छ ? सबैभन्दा ठूलो युग परिवर्तन गर्ने श्रमजीवीहरुको हत्यारा को हो ? यसको उत्तर तपाईँहरुबाट पाउने आशा गर्दछु । अहिलेलाई बिदा ।

उही तपाईंको
टीकाराम ओली

कमेन्ट गर्नुहोस्