यसपाली माया महँगो,भ्यालाइनटेन डे का लागि करोडौंकाे गुलाब आयात

काठमाडौं । यस वर्षको प्रणय दिवसका लागि भारतबाट एक करोड २५ लाख रुपैयाँ बराबरको रातो गुलाफ आयात गरिने भएको छ। यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो।

अघिल्लो वर्ष एक करोड रुपैयाँको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो। दुई लाख २५ हजार वटा रातो गुलाफको बजारमा माग रहेको छ।

त्यसमध्ये २० प्रतिशत आन्तरिक उत्पादनले धाने पनि ८० प्रतिशत अझै पनि भारतबाट ल्याउनुपर्ने अवस्था रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए।

गत वर्षको प्रणय दिवसमा एक लाख ९० हजार वटा मात्र रातो गुलाफ खपत भए पनि यस पटक केही माग बढेको छ। यस वर्ष ३५ स्टिक गुलाफ बढी आयात गर्न लागिएको हो।

गत वर्ष उपभोक्ताले ५० देखि ६० रुपैयाँ तिरेका भए पनि यस वर्ष भारतमा नै फूलको मूल्यमा वृद्धि भएकाले अघिल्लो वर्षको तुलनामा केही मूल्य वृद्धि हुने श्रेष्ठको भनाइ छ।

श्रेष्ठले भने, ‘जाडोको समयमा फूल उत्पादनमा कमी आउने भएको र अझै पनि पुष्प व्यवसायप्रति मानिसको आकर्षण नभएकाले आन्तरिक उत्पादनले धान्न कठिन भएको हो।’

हाल काठमाडौं उपत्यकाको तीन वटै जिल्ला, चितवन, काभ्रे र नुवाकोटमा रातो गुलाफको व्यावसायिक खेती गरिँदै आएको छ। हरेक वर्ष फेब्रुअरी १४ मा यो पर्व मनाउने भए पनि एक हप्ता अघिदेखि बजारमा फूल व्यापारको चहलपहल हुने गर्छ।

त्यसैगरी, अघिल्लो वर्ष ७० लाख रुपैयाँ बराबरको सयपत्री फूलको माला ल्याइएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष श्रेष्ठले जानकारी दिए। काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने गर्छ। गत वर्ष एक अर्ब ६१ करोडको वार्षिक फूलको आर्थिक कारोबार हुने गरेको थियो। तिहारमा मात्र सात करोड रुपैयाँको फूलको कारोबार हुँदै आएको छ।

मुख्यगरी कात्तिक महिनादेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एसोसिएसनले जनाएको छ।

प्रणय दिवसमा रातो गुलाफ र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा भने आत्मनिर्भर बनिसकेको छ। अस्ट्रेलिया, मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ।

नेपालमा पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, चितवन र मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ।

यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। सामान्यतया ६ सय प्रजातिका फूल रहे पनि १ सय ४७ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा ४ सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ। रासस

कमेन्ट गर्नुहोस्