प्रचण्ड चाहना– देश समृद्ध बनोस्, सबैको आँखामा खुशी छाओस्, नेपाल विश्वकै नमूना देश बनोस्

प्रचण्डलाई जान्नेहरुका लागि ‘प्रचण्ड एउटा गतिको नाम हो ।’ यो गतिले चुप लागेर बस्न जान्दैन

रमेश भट्ट
निर्वाचनअघि एउटा कार्यक्रममा प्रचण्डले भने, ‘मलाई यथास्थितिमा कुँजिएर, बेथिती देखेर पनि चुप लागेर बस्न मन छैन, मलाई गतिशील जीवन मन पर्छ’

कार्लमाक्र्सको कविताको सन्दर्भ लिएर देशभरिबाट राजधानी भेला भएका माओवादीका अगुवा नेताहरुका अगाडि प्रचण्डले उक्त कुरा निकै भावुकतासाथ भनेका थिए ।

एकताको सन्दर्भ चलिरहेको थियो त्यतिबेला । असौजको तेश्रो हप्ताको कुरा हो यो । प्रचण्डले देशका लागि केही गर्न, देशलाई विकासको पथमा तीब्र गतिमा अघि लैजान आफूले कैयन कुरा त्याग गरेर, कैयन कुरामा सम्झौता गरेर गतिशील हुन नै पार्टी एकताका लागि मनस्थिति बनाएको बताएका थिए ।

र, त्यो बेलादेखि उनी निरन्तर पार्टी एकताका लागि लागिपरेका छन् ।

प्रचण्डलाई जान्नेहरुका लागि ‘प्रचण्ड एउटा गतिको नाम हो ।’ यो गतिले चुप लागेर बस्न जान्दैन । र, यो गतिले देश र समाजको अग्रगमन चाहन्छ ।

नेपालको इतिहासमा यथास्थितिको ग्रहणले स्थान लिएको बेला प्रचण्डले धक्का दिँदै आए । खासगरि समाजले जडता लिन खोजेको बेला उनले चालेका कदमले उथलपुथल निम्त्यायो । उनका कदमको परिणामले सार्थकता पायो या पाएन भन्ने बहस चलाउन सकिएला, तर यदि उनले पनि अरु नेताहरुजस्तै यथास्थितिलाई स्वीकारेर या ‘बस्तुगत र आत्मगत अवस्था अनुकूल छैन’ भन्ने नाममा चुप लागेर बसेको भए नेपाल आजको अवस्थामा कुनै पनि हालतमा पुग्ने थिएन ।


२०५२ सालदेखि २०६२ सालसम्मको इतिहास नेपाली परिवर्तनको इतिहासमा एउटा अवस्मरणीय काल थियो । यसमा कैयन् दुखद घटनाहरु घटे तर यो समग्र एक दशकले नेपालको राजनीतिमा भने उथलपुथल मच्चायो । यसले यथास्थितिको शान्त जस्तो देखिने तर कुहिएको तलाउमा हलचल मच्चायो । समाजमा वर्षौदेखि कुल्चिएका मनहरुले सतहमा आएर आफ्नो वेदना चिच्च्याउन पाए । यो चानचुने कुरा थिएन । देशमा राजतन्त्रका विरुद्ध यसले आधार तयार पार्यो । दलित, महिला, मधेसी, उपेक्षित उत्पीडित क्षेत्रले आफ्नो अधिकारको कुरा उठाउन सके । यो कुरा प्रचण्डको घोर बिरोध गर्नेहरुले समेत उपेक्षा गर्न सक्दैनन् ।

राजतन्त्रको अवसानदेखि संविधान निर्माणसम्मको हरेक चरणमा प्रचण्ड नै प्रमुख गतिशील पात्र थिए, जसले जडतालाई चिर्न सके । यो क्रममा उनले सैद्धान्तिकरुपमा धेरै गुमाए पनि । आफ्नै साथीहरुको साथ छुट्यो, आफूले मन पराउँदै आएका सिद्धान्तहरु थन्क्याउनुपर्ने बाध्यता पनि आइपर्यो तर देश र जनताका लागि, देशलाई अघि बढाउन, जनतामा समृद्धीको हुटहुटीलाई यथार्थमा परिणत गर्न उनले भूमिका निर्वाह गरि नै रहे ।


१६ बुँदे सम्झौता नभएको भए ? संविधान निर्माण हुन सक्थ्यो र ? कल्पना नै गर्न सकिन्न । तर प्रचण्डले नै सडकमा घोषणा भएको ३३ दलीय मोर्चाको आन्दोलनलाई छोडेर सहमतिका लागि पहल गरेपछि यही १६ बुँदे सम्झौता संविधानमा परिणत भयो । हिजोका दिनमा गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइराला र एमालेभित्रका हरेक नेताहरुलाई ‘कन्भिन्स’ गरेर अघि बढाउन त्यो कदम निर्णायक थियो ।

संविधान बनिसकेपछि संविधान कार्यान्वयनको पहिलो खुडकिला त्यति सहज थिएन । छिमेकीहरुसँगको सम्बन्ध पुरै चौपट अवस्थामा थियो । देशको पचास प्रतिशत जनसंख्या भएको एउटा सिंगो भूगोल आक्रोशित थियो । त्यति सहज थिएन निर्वाचन सम्पन्न गर्न । यो त्यस्तो निर्वाचन थियो, जसमा हजारौं हजार महिला, दलित, उपेक्षितहरु नेता बनिरहेका थिए । र, प्रचण्डले यो पनि सम्भव तुल्याए । सँगसँगै उनले चाहने हो देशलाई छोटो समयमा तीब्र आर्थिक र सामाजिक विकासतर्फ लैजान सकिन्छ भन्ने केही मानकहरु समेत स्थापित गरे । यो उनको जडताविरुद्ध प्रहारको दृढ मनोबल र स्पिरिटको कमाल नै थियो ।

अहिले फेरी प्रचण्ड छटपटिएका छन् । उनको छटपटि यही समृद्धि हो । उनी प्रधानमन्त्री बने दुईपटक । अरुहरु जस्तो पदका लागि मात्रै मरिहत्ते गर्ने हो भने चार चौध गरेर उनी फेरी पाँच दश वर्ष प्रधानमन्त्री बन्न सक्छन् । तर त्यो बाटोलाई उनले नकार गरेका छन् । उनको अबको सपना समाजवादी समाज निर्माणको सपना हो । उनले बारम्बार भने, अबको दशक शान्तिपूर्णरुपमा समृद्धिका लागि बिताउन चाहन्छु, मर्नुअगाडि समाजवादको आधार तयार भएको हेर्न चाहन्छु ।


प्रचण्डको यही सपना नै अहिले माओवादी र एमालेबीच एकताको मुख्य मियो हो । नत्र भने एमाले एक अर्थमा यथास्थितिमा चुर्लुम्म डुबिसकेको पार्टी हो । २०४८ देखि २०७४ सालसम्म राष्ट्रिय राजनीतिमा ढुलुमुल अवस्थामा रहेको दल हो । यो भित्र पनि इमान्दार र अग्रगमनका पक्षकामीहरु छन् । तर नेतृत्वले गतिशीलता भने लिन नसकेको अवस्था हो । त्यसैले यो शक्तिलाई समेत यसको मूल लक्ष्य र उद्देश्य अनुसार अघि बढाएर देशमा वामपन्थीहरुको सरकार निर्माण गर्दै समृद्ध नेपाल निर्माण गर्ने प्रचण्डको अहिलेको सपना हो । अहिलेको हुटहुटी हो । त्यसैले उनी बारम्बार पार्टी एकताको पक्षमा बोलिरहेका छन् । वामपन्थीको सरकार र समृद्ध नेपालको बारेमा कुरा गरिरहेका छन् ।

अहिले प्रचण्ड एउटा जटिल समयमा उभिएका छन् । यो जटिलता नयाँ नेपाल निर्माणका लागि नेतृत्व दिने शक्ति निर्माणको हो । उनीभित्रको समृद्धिको चाहना र स्पिरिटलाई बुझेर सिँगो माओवादी र एमालेका नेता तथा कार्यकर्ताहरुले एकता प्रक्रियालाई सार्थकरुपमा टुंग्याएर समृद्धिको महाअभियानमा अघि बढ्न सकेमात्रै प्रचण्डको हुटहुटीले एउटा स्थिरता पाउँछ ।

यो कुरा एकता चाहने सबैले बुझ्नु जरुरी छ । प्रचण्ड चाहना– देश समृद्ध बनोस्, सबैको आँखामा खुशी छाओस्, नेपाल विश्वकै नमूना देश बनोस् ।

आउनुस्, यो चाहना तपाई हाम्रो पनि चाहना बनाऔं । देशलाई समृद्धिको बाटोमा अघि बढाऔं । पार्टी एकताप्रति इमान्दार हुँदै यसलाई सार्थक टुंगोमा पुर्याउँ ।

 

कमेन्ट गर्नुहोस्