‘पद्मावत’ले कमायो २०० करोड, बन्यो चार जनाको क्यारियरकै उत्कृष्ट फिल्म

काठमाडौँ- बलिउडको विवादित चलचित्र ‘पद्मावत’ले घरेलु बक्स अफिसमा कमाइले दुई सय करोड भारतीय रुपैयाँ नाघेको छ ।

दोस्रो सप्ताहान्तमा ४६ करोड भारतीय रुपैयाँ कमाएको यस फिल्मको आइतबारसम्मको कमाइ दुई सय १२ करोड ५० लाख रहेको छ ।

बलिउड ट्रेड एनालिस्ट कोमल नाहटाले सोमबार ट्विट गर्दै फिल्मले दोस्रो आइतबार २० करोडको कमाई गरेर दुई सय करोड क्लबमा प्रवेश गरेको जानकारी दिए ।

भारी विरोध र होहल्लाबीच गत २५ जनवरीमा रिलिज भएको यस फिल्मले सुरुको दिन जम्मा १९ करोड भारतीय रुपैयाँ कमाएको थियो भने चौथो दिन सय करोडको आँकडा पार गरेको थियो र पहिलो हप्ता एक सय ९२ करोड पचास लाख भारुको कारोबार गरेको थियो ।

यसका साथै फिल्मले संसारभरीबाट तीन सय करोड भारुभन्दा बढी कमाइसकेको छ । ‘पद्मावत’ निर्देशक संजय लीला भंसाली र यसका मुख्य कलाकार दीपिका पादुकोण, रणवीर सिंह र शहिद कपुर चारै जनाको क्यारियरको सर्वाधिक कमाइ गर्ने चलचित्र भएको छ ।

संजय लीला भंसालीद्वारा निर्देशित यो फिल्म सुरुदेखि नै विवादमा थियो । अहिले पनि भारतका चार राज्यहरूमा फिल्म प्रतिबंधित रहेको छ ।

कवि मालिक मोहम्मद जायसी रचित महाकाव्य ‘पद्मावत’मा आधारित यस चलचित्रमा दीपिकाले रानी पद्मावतीको भूमिका निर्वाह गरेकी छिन् । यस फिल्ममा अलाउद्दीन खिल्जीको भूमिका निर्वाह गरेका रणवीर सिहंको अभिनयको अचेल बलिउडमा विशेष चर्चा रहेको छ ।

जम्मा दुई सय १५ करोडको लागतमा निर्मित यो फिल्म हिन्दी भाषामा बनेको सबैभन्दा महँगो फिल्म मानिएको छ ।

कमेन्ट गर्नुहोस्