सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगको म्याद एक वर्ष थप

काठमाडौँ — बिनानिष्कर्ष कार्यकाल पूरा हुन लागेका संक्रमणकालीन न्याय व्यवस्थापनका लागि गठित दुई आयोगको अवधि अन्तत: एक वर्ष थपिएको छ ।

मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगले माग गरेअनुसार एक वर्ष म्याद थपेको हो । ऐन नभएको र अन्य विविध अवरोध रहेको भन्दै यसअघि दुवै आयोगका आयुक्तले यथास्थितिमा म्याद थप गर्नुको औचित्य नभएको बताउँदै आएका थिए । तर, म्याद सकिने अन्तिम समयमा उनीहरू आफैंले अनुरोध गरेपछि यथास्थितिमै एक वर्षको कार्यावधि मन्त्रिपरिषद्ले थप गरिदिएको हो ।

सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन, २०७१ अनुसार अधिकतम ३ वर्षको कार्यकाल माघ २६ गते सकिँदै थियो । केहीअघि मात्र सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेर ‘दुवै आयोगले कारणसहित म्याद थप गर्न आवश्यक परेको भन्दै अनुरोध गरेमा म्याद थप गर्न सक्ने’ व्यवस्था गरेको थियो । तदनुसारै दुवै आयोगका पदाधिकारीले तीनै दलका शीर्ष नेता र प्रधानमन्त्रीसमक्ष म्याद थपका लागि आग्रह गरेका थिए ।

६० हजारभन्दा बढी पीडितले उजुरी दर्ता गराएकाले म्याद थप नभए ती अलपत्र पर्ने तर्क गर्दै दुवै आयोगले म्याद थप होस् भन्ने आकांक्षा व्यक्त गरेका थिए । उजुरीमाथि छानबिन गर्न कानुन अभाव रहेको र अन्य व्यवधानसमेत रहेको जानकारी पनि आयुक्तहरूले नेताहरूलाई गराएका थिए ।

सम्बन्धित् समाचार  नयाँशक्ति पार्टीः टुटफूटका दुई वर्ष

सरकारले केहीअघि म्याद थपका लागि कुनै सर्त भए लेखिपठाउन दुवै आयोगलाई परिपत्र गरेको थियो । सत्यनिरूपणले आफ्ना सर्त पहिल्यै लेखेर दिइसकेको भन्दै त्यसैअनुसार हुनुपर्ने जवाफ पठाएको थियो । बेपत्ता छानबिनले भने ५ सर्तसहित ३ वर्ष म्याद थप गर्नुपर्ने माग गरेको थियो । सरकारले दुवै आयोगका कुनै पनि सर्त स्वीकार नगरी म्याद थप गर्न सक्ने प्रावधान राखेर ऐन संशोधन गरेको थियो ।

आफैंले आग्रह नगरी म्याद थप नहुने भएपछि आयोगका पदाधिकारीले अन्तिम समयमा लामै दौडधुप गरेपछि सरकारले म्याद थप गरेको हो । यो परिस्थितिप्रति द्वन्द्वपीडितहरूले असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । दुवै आयोगले हालसम्म गरेका कामका आधारमा म्याद थप गर्नुपर्ने कुनै कारण नहुँदानहुँदै म्याद थप भएकाले आफूहरू दु:खी भएको द्वन्द्वपीडित साझा चौतारीले जनाएको छ ।

कांतिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: