सन्दिप लामिछानेकाे उत्कृष्ट प्रदर्शन, एक्लैले लिए केन्याको ४ विकेट

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आफ्नो चौथौं खेलमा नेपाल अहिले केन्यासँग भिडिरहेको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि युवा लेग स्पिनर सन्दीप लामिछानेले केन्याका चार विकेट झारेका छन् । भने १ विकेट बसन्त रेग्मीले हात पारेका छन्। सन्दीपले १७ ओभरको अन्तिम बलमा नेपाललाई पहिलो सफलता दिलाएका थिए। उनले केन्याका ओपनिङ ब्याट्सम्यान एलेक्स ओबाडालाई आउट गरे । ओबाडालाई सन्दीपले ४१ रन बनाएर खेलिरहदा बोल्ड गरेका थिए । यस्तै, सन्दीपले धिरेन गोन्डारियालाई ४ रन बनाएर खेलिरहदा दीपेन्द्रसिंह ऐरीबाट क्याच गराए।

सन्दीपले ३४ ओभरमा लगातार २ विकेट लिए। उनले पहिलो बलमा केन्याका कप्तान राखेप पटेललाई १ रनमा आउट गरे। दोस्रो बलमा सन्दीपले रुसव पटेललाई शून्य रनमा एलबिडब्लूको धरापमा पारे। तेस्रो बलमा केन्याका नेल्सन ओडिम्बोले डट बल खेलेपछि सन्दीप ह्याट्रिक गर्न चुके। सन्दीपले ८ ओभर बलिङ गर्दा ५ मेडन राखिसकेका छन् । उनले १२ रन खर्चिएका छन्।

पटेललाई आउट गर्नअघि बसन्तले केन्याका ‌ओपनर इर्फान करिमलाई विकेटकिपर ज्ञानेन्द्रबाट क्याच गराए। करिमले सय बल खेलेर ४२ रन जोडे। उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन्।

ब्याटिङ गरिरहेको केन्याले ३६ ओभरमा ५ विकेट गुमाएर १०८ रन जोडेको छ।

कमेन्ट गर्नुहोस्