महिला भलिबलको उपाधिका लागि न्यू डायमण्ड र एपीएफ भिड्ने

चितवन। विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाडौंको शिवम् न्यू डायमण्ड एकेडेमी चितवनको पटियानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनल भिड्ने भएका छन् ।

सोमबार सम्पन्न सेमिफाइनलमा विजयी हुँदै यी दुई टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

एपीएफले पुलिसविरूद्ध २५–१४, २७–२५ र २५–१५ को जित निकाल्यो ।
दोस्रो सेमिफाइनल खेलमा शिवम् न्यू डायमण्डले विभागीय टोली नेपाल आर्मीलाई ३–० को सोझो सेटमा नै पराजित ग¥यो ।

डायमण्डले आर्मीलाई २५–१४, २५–१२ र २५–२१ को सेटमा पराजित गरेको म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले जानकारी दिए । राष्ट्रिय खेलाडी प्रतिभा माली र मञ्जु गुरुङ तथा उत्कृष्ट फर्मममा रहेका खेलाडीका साथमा न्यू डायमण्ड निकै बलियो देखिएको छ ।

फाइनल भिड्ने दुवै टोली यो प्रतियोगितामा अपराजित छ । उनीहरुले केही दिनअघि मात्रै काठमाडौंमा सम्पन्न न्यू डायमण्ड कप भलिबलमा पनि फाइनल खेलेका थिए । यसमा न्यू डायमण्ड नै विजयी भएको थियो । प्रतियोगिताको अधिकांश उत्कृष्ट विधामा डायमण्डका खेलाडीले ट्रफी जितेका थिए ।

प्रतियोगिताको फाइनल मंगलबार १ बजे हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित दुई टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने प्रचारप्रसार समिति संयोजक रामहरि सेढाईंले जानकारी दिए ।

प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ भने अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले पाँच हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगिताको समापन मंगलबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने आयोजक भरतपुर महानगरपालिका २२ नम्बर वडा कार्यालयका वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्