‘जनसरकार प्रमुख’ घर्ती सभामुखमा निर्वाचित

बुटवल । प्रदेश नं ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । अन्य कसैको पनि उम्मेदवारी नपरेपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन । भोलि बस्ने प्रदेशसभाले निर्वाचित भएको घोषणा गर्ने बताइएको छ ।

पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्तीको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । प्रदेश ५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत छ । दुई पार्टीबीच एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति छ ।

मंगलबार माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा घर्तीले प्रदेश सचिबालयमा सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए ।

८७ प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनसँग ६१ सांसद छन् । घर्तीले प्रदेशसभालाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगले सञ्चालन गर्ने बताए ।

माओवादी जनयुद्धकालमा घर्ती रुकुमको जनसरकार प्रमुख थिए । घर्तीको स्थायी घर रुकुमको भूमे गाउँपालिका ९ हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!