साउदीमा १५ वर्ष हराएका टेकबहादुर घर फर्कंदै

काठमाडौं, फागुन २ । साउदी अरेबियामा १५ वर्षसम्म हराएका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् ।

१७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् । साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो ।

त्यसपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने स्थितिमा पुर्‍याउन दूतावास सफल भएको साउदी अरेबियाका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंहले नयाँ पत्रिकालाई बताए ।

गुल्मीको तत्कालीन कल्लीकोट गाविस–४ धाप आमडाँडाका राकसकोटीले आफू १६ वर्ष १० महिनाअघि साउदी अरेबिया आएको नयाँ पत्रिकासँग टेलिफोनमा बताए ।

उनी साउदी अरेबिया जाँदा बिहे भएको एक वर्ष मात्रै भएको थियो । तीन महिनाको छोरा र श्रीमतीलाई छोडेर उनी पैसा कमाउन साउदी गएका थिए । नयाँ पत्रिकामा खबर छ ।

कमेन्ट गर्नुहोस्