प्रदेश नं ५ को सभामुख माओवादीका घर्ती निर्वाचित

काठमाडौं । प्रदेश नं ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए भने अकौ सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए ।

५ नं प्रदेशमा एमाले र माओवादी केन्द्रले क्रमश मुख्यमन्त्री र सभामुख पद लिने सहमति अनुसार घर्ती सभामुखमा निर्विरोघ चयन भएका हुन । यहाँ अन्य कसैको पनि सभामुखमा उम्मेदवार परेको थिएन । अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् ।

सभामुख चयन भएपछि घर्तीले नयाँ जिम्मेवारी पूरा गर्न सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

उपसभामुखको निर्वाचन भने फागुन ६ गते आइतबारका लागि तोकिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको छ । उपसभामुख भने नेकपा एमालेले पाउनेछ ।

कमेन्ट गर्नुहोस्