नेपाल टेलिकमको नाफा घटेपछि प्रतिशेयर आम्दानी सय रुपैयाँ तल झर्यो

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनीको नाफा गतबर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ५ प्रतिशतले घटेको छ । गत पुसको तुलनामा टेलिकमको नाफा ४३ करोड ५७ लाख रुपैयाँले घटेपछि प्रतिसेयर आम्दानी सय रुपैयाँ तल झरेको छ ।

कम्पनीले चालु बर्षको पुस मसान्तसम्म ७ अर्ब ४८ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ७ अर्ब ९१ करोड ८६ लाख नाफा गरेको थियो।

कम्पनीको सेवा बापतको आम्दानी घटेपछि नाफा घटेको हो । कम्पनीले सेवा प्रदानमार्फत १९ अर्ब ७० करोड रुपैयाँ आम्दानी गरेको छ । गत बर्ष यस्तो आम्दानी २० अर्ब ६४ करोड रुपैयाँ थियो। यसअवधिमा कम्पनीले दुई अर्ब ६६ करोड रुपैयाँ अन्य आम्दानी गरेको छ। कम्पनीको अन्य आम्दानी भने बढेको छ ।

कम्पनीले यस अवधिमा १२ अर्ब ३४ करोड खर्च गरेको छ । गतबर्ष कम्पनीको खर्च ११ अर्ब ७२ करोड थियो । कम्पनीको आम्दानी घटेको छ भने खर्च बढेको छ ।

कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ अर्ब ३४ करोड रुपैयाँ जम्मा भएको छ।

कम्पनीको आम्दानीमा गिरावट आउँदा प्रति शेयर आम्दानी ६ रुपैयाँले घटेको छ। कम्पनीको प्रति शेयर आम्दानी ९९‍.७७ रुपैयाँ छ। गतबर्ष प्रतिसेयर आम्दानी १०५.५८ रुपैयाँ थियो । कम्पनीको प्रति शेयर नेटवर्थ पनि ६२५ रुपैयाँबाट ६०२ रुपैयाँमा झरेको छ। मूल्य आम्दानी अनुपात ६.५८ बाट बढेर ८ गुणा पुगेको छ ।

मेरोलगानीबाट साभार

कमेन्ट गर्नुहोस्