पार्टी एकता: नेतृत्वबारे प्राविधिक कुरा मिलाउन बाँकी, एकता संयोजन समितिले टुंगो लगाउन बैठक जारी

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन भन्दै दुबै पार्टीले शीर्ष तहमा आन्तरिक छलफल सम्पन्न गरेका छन् ।

माओवादी केन्द्रका राजधानीमा उपलब्ध शीर्ष नेताहरुबीच आन्तरिक छलफल भएकाे थियाे भने एमालेले स्थायी समितिको आकस्मिक बैठकमा बाेलाएर पार्टीकाे अाैपचािरक निर्णय गरेकाे थियो ।

प्रचण्ड र ओलीबीच पछिल्लो समय भएका सहमतिहरुका बारेमा पार्टीमा अन्तिम घारणा बनाउन दुबै पार्टीले आन्तरिक छलफल गरेका हुन ।

दुबै अध्यक्षबीच भएका भनिएका सहमतिलाई पार्टी एकता संयोजन समितिको बैठकमा छलफल गरेर अन्तिम टुंगो लगाउने तयारी छ ।

निर्णय हुन बाँकी रहेका विषयहरु

पार्टीको कार्य दिशा र पार्टीको नेतृत्वका बारेमा यसअघिका वान टु वान वार्ता र संयोजन समितिको बैठकमा विभिन्न चरण र मोडालीटीमा छलफल भएपनि अहिलेसम्म अन्तिम सहमति हुन सकेको छैन् ।

पार्टीको भावी कार्यदिशाका सम्बन्धमा माओवादीले २१ औं शताव्दीको नौलो जनवाद र एमालेको बहुदलीय जनवादलाई संश्लेषण गरि नयाँ कार्य दिशा बनाउनु पर्ने बताएदै आएको छ । भने एमालेले बहुदलीय जनवाद नै हुने पर्ने अडानमा छ ।

माओवादीले भने समाजवादी क्रान्तिको कार्यदिशा र बहुदलीय जनवादलाई पार्टीको तल्लो तहसम्म छलफलका लागि लाने र एकता महाधिवेशनबाट नयाँ कार्यदिशा बनाउने गरी बहसमा लाग्नु पर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी पार्टी नेतृत्वका विषयमा पनि ओली र प्रचण्ड सह अध्यक्षको मोडालिटीमा जाने अवस्थामा एक जना प्रधानमन्त्री बन्ने अवस्थामा पार्टी अध्यक्षको भूमिका कसले निर्वाह गर्ने बिषयमा सहमती हुन बाँकी छ ।

अहिलेसम्म दुई नेताहरुबीच कसले एकीकृत पार्टीको नेतृत्व गर्ने भन्ने सहमति भइसकेको छैन । विभिन्न चरणमा विभिन्न मोडालिटीमा छलफल भएपनि अन्तिम निणर्य भने भएको छैन । त्यस विषयमा संयोजन समितिमा अन्तिम निर्णय हुने बताइएको छ ।

यसअघिका छलफलमा दुबै अध्यक्षको समान हैसियत र भूमिका ’ रहने गरी सहअध्यक्षको मोडालिटी ‘मोटामोटी सहमति’ भएको बताइएको थियो ।

तर त्यस्तो मोडालिटीमा ओलीले सरकारको नेतृत्व गर्दा प्रचण्डले नै कार्यकारी अधिकारसहित पर्टीको नेतृत्व गर्ने वा ओली र प्रचण्डको भूमिका समान नै रहने भन्नेमा आजको संयोजन समितिमा अन्तिम टुंगो लगाउने तयारी भएको छ ।

नेतत्व र पार्टीको भावी कार्यदिशामा संयोजन समितिमा सहमति जुटेमा आज नै पार्टी एकता प्रक्रियाले अन्तिम रुप पाउने छ ।

कमेन्ट गर्नुहोस्