माओवादीका त्रिलोचन भट्ट भोलि ७ नं प्रदेशको मुख्यमन्त्री बन्ने

भट्टलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष ३८ जना प्रदेशसभा सदस्यको हस्ताक्षर

धनगढी, २ फागुन । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई नियुक्त गर्न ३८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रमुखसमक्ष दावी पेश गरिएको छ । दावी अनुसार प्रदेश प्रमुखले भोलि भट्टलाई मुख्यमन्त्री नियुक्त गर्ने छन् ।

प्रदेशसभामा रहेका ५३ सदस्यमध्ये नेकपा एमाले र माओवादी केन्द्रका ३८ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित त्रिलोचन भट्टले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन् । प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री चयनका लागि फागुन ४ गते दिउँसो ११ बजेभित्र बहुमत जुटाएर दावी पेश गर्न आजै आव्हान गरेका थिए ।

आव्हान बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै भट्टले प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ले बताए ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले मुख्यमन्त्री चयनका लागि आवश्यक बहुमत कुनै पार्टीको नपुगेकाले बहुमत सदस्यको समर्थन लिएर मुख्यमन्त्री दावी गर्न आउन पत्र लेखेका थिए । ५३ सदस्य रहेको ७ नम्बर प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेका २५ सदस्य र नेकपा माओवादी केन्द्रका १४ सदस्य छन् ।

सम्बन्धित् समाचार  यसर्थ ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्ट

वाम गठबन्धनबाट एमाले र माओवादीको समर्थनमा त्रिलोचन भट्ट मुख्यमन्त्री हुने यसअघि नै निर्णय भइसकेको थियो । माओवादी केन्द्र प्रदेश संसदीय दलले त्रिलोचन भट्टलाई नेता चयन गरेको थियो ।

भट्टलाई प्रदेश प्रमुख मोहनराज मल्लले भोलि मुख्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको जनाइएको छ । मल्लको अध्यक्षतामा आज भएको छलफलले त्रिलोचन भट्टको नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय गरेको हो ।

छलफलमा सहभागी माओवादी सांसद वीरमान चौधरीले भोलि मुख्यमन्त्री नियुक्त गर्ने कार्यक्रम तय भएको बताए । उनका अनुसार फागुन ५ गते सपथ ग्रहणको कार्यक्रम तय भएको छ । ‘फागुन ४ गते सूर्यग्रहण लाग्ने भएकाले ५ गते शुभ साइतमा शपथ ग्रहण कार्यक्रम तोकिएको छ,’ उनले भने ।

मुख्यमन्त्रीको नियुक्तिमा ढिलाइ हुन थालेपछि प्रदेश प्रमुख मल्लले मुख्यमन्त्री नियुक्ति र प्रदेश सरकार गठनबारे राजनीतिक दलसँग आज छलफल गरेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४ दलसँग प्रदेश प्रमुख मल्लले छलफल गरेका थिए ।

निर्वाचन आयोगले प्रदेश प्रमुखसमक्ष मतपरिणाम बुझाएको १ महिनाभित्र मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ । आयोगले माघ ५ गते परिणाम बुझाएको थियो । निर्वाचन आयोगले मतपरिणाम बुझाएको १ महिनाभित्र प्रदेश सभामा बहुमत प्राप्त दलको नेता वा २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित् समाचार  त्रिशूली बस दुर्घटनामा दिवंगत नेता यादवको अन्त्येष्टि

कुनै पनि दलको बहुमत नभए वा निर्धारित अवधिमा दलहरूले बहुमत पु¥याएको पत्र प्रदेश प्रमुखलाई बुझाउन नसके प्रदेशको ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने र मुख्यमन्त्रीले ६ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । ७ नम्बर प्रदेश सभामा एमालेका २५, माओवादीका १४, नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना सांसद छन् ।

को हुन् भावी मुख्यमन्त्री भट्ट ?
डोटीबाट प्रदेशसभामा निर्वाचित त्रिलोचन भट्ट २०४७ सालमा मोटो मसालमा आवद्ध हुँदै वामपन्थी आन्दोलनमा सक्रिय भएका हुन् । प्रवासमा रहँदा भारतको महाराष्ट्र प्रदेशमा मजदुरी सँगसँगै पार्टीका गतिविधिमा संलग्न भएका भट्टले २०५८ सालमा प्रदेशको सचिवको जिम्मेवारी पाएका थिए । पछि भट्ट प्रवासमै प्रदेश इन्चार्ज समेत भए ।

नेपाल फर्किएपछि २०६१ सालमा डोटी जिल्ला सचिव भएका भट्ट २०६२ सालमा जिल्ला इन्चार्ज भए । पार्टीको केन्द्रीय सदस्य हुँदै भट्ट हाल पोलिटब्यूरो सदस्य रहेका छन् । डोटीको केआईसिंह गाउँपालिका–६ फलेडी स्थायी घर भएका ४७ वर्षिय भट्टले भारतमा रहँदा मजदुरी र चौकीदारीको काम समेत गरेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: