भ्यालेन्टाइन डेको सट्टामा लज्जा दिवस, मुस्लिम महिलाहरूद्वारा प्रदर्शन

बुधवार १४ फेब्रुअरी संसारभरि भ्यालेन्टाइन्स डे मनाइयो । तेस्रो शताब्दीका रोमन सन्त भ्यालेन्टाइनको सम्झनामा विशेष गरी इसाई समुदायद्वारा प्रेम दिवसका रूपमा विश्वभरि मनाइने यो पर्व अब इसाई समुदायमा मात्र सीमित रहेन । अचेल संसारभरिका विशेष गरी युवा-युवतीमाझ यसको लोकप्रियता दिनानुदिन बढ्दो छ । कसैले यसलाई पश्चिमा संस्कृतिक अतिक्रमण भनेर विरोध गरिरहेको छ भने कोही प्रेम अभिव्यक्त गरेर उत्सवको आनन्द लिइरहेको छ ।

यसै परिप्रेक्षमा भारतको महाराष्ट्र राज्यको नागपुर जिल्लामा मुस्लिम महिलाहरूले आजको दिनलाई फरक ढंगले मनाएका छन् । उनीहरूले १४ फेब्रुअरीलाई ‘हया डे’ अर्थात् लज्जा दिवसका रुपमा मनाएका छन् । खास गरेर इस्लामिक संगठन ‘गर्ल्स इस्लामिक अर्गेनाइजेशन अफ इंडिया’सँग आबद्ध केटीहरूले रुपान्तरित ढंगले यो दिवस मनाएका हुन् । उनीहरूले ब्यानर प्रदर्शन गर्दै लज्जा दिवस मनाएका छन् ।

हुन त भारतमा धार्मिक संगठनहरूले लामो समयदेखि यसको विरोध गरिरहेका छन् । हिन्दू धार्मिक संगठन बजरंग दलले सधैँ झैँ कार्ड जलाएर यसको विरोध गरेको छ । संस्कृतिविद्हरू यसलाई बहुराष्ट्रिय कम्पनीहरूको सांस्कृतिक षड्यन्त्रका रूपमा पनि हेर्दछन् । उनीहरूले यो पश्चिमा संस्कृतिको अन्धानुकरण भएको र यसको कुनै अवश्यकता नरहेको तर्क गरिरहेका छन् । त्यस्तै भारतकै अल स्टुडेन्टस् इस्लामिक सेन्टरले पनि लज्जाको संस्कृतिको प्रवर्द्धन गरिनु पर्ने भन्दै प्रदर्शन गरेका छन् ।

तर लज्जा दिवस मनाउने महिलाहरूले भने ‘हाम्रो सांस्कृतिक विशेषता लज्जा हो’ भन्ने ब्यानर र प्लेकार्ड प्रदर्शन गरेर रचनात्मक विरोध गरेका छन् ।

उता पाकिस्तानको पेशावरमा पनि त्यहाँस्थित संगठन ‘इस्लामी जमैत तुलाबा’ले हया डे अर्थात् लज्जा दिवस मनाएको छ ।  त्यहाँ स्थानीय प्रशासनले पाकिस्तानी संस्कृति विपरित रहेको भन्दै प्रेम दिवस मनाउन प्रतिबन्ध लगाएको थियो ।

कमेन्ट गर्नुहोस्