मानसखण्ड लोकसंस्कृतिका अन्तरंग कुरा

सप्तकर्णालीदेखि महाकाली नदीबीचको विशिष्ट भूभाग प्राचीनकालदेखि मानसभूमिका रुपमा रहेको छ । मानस पर्वत एवम् मानस सरोवरको एक खण्डका रुपमा रहेको हुनाले यसलाई मानसखण्ड भनिन्छ । यस खण्डको आफ्नै भाषा, संस्कृति र साहित्य रहेको छ । जसलाई मानसखण्ड लोकसंस्कृति भनिन्छ ।

आचार्य घनश्याम लेखक

यस संस्कृति अन्तर्गत बैतडी र दार्चुलाको भाषा संस्कृतिलाई वायुतरी भाषा संस्कृति भनिन्छ भने डोटी र डडेल्धुराको भाषा संस्कृतिलाई देवतरी अर्थात् डोट्याली भाषा संस्कृति एवम् अछाम, बझाङ र बाजुराको भाषा संस्कृतिलाई खप्तडी भाषा संस्कृति भनिन्छ । यी तीनवटै भाषा संस्कृतिका साथै सिञ्जाली भाषा संस्कृति र कुमाउनी भाषा संस्कृतिको संयुक्त नाम मानसखण्ड लोक संस्कृति हो । विशेष गरेर प्रदेश नम्बर ७ को मात्र संस्कृति नै मानसखण्ड लोकसंस्कृति हो ।

यो संस्कृति नेपालको मात्र नभई समग्र भारत वर्षको प्राचीन संस्कृति हो । मानवको संस्कृतिका रुपमा रहेकाले यसलाई मानसखण्ड संस्कृति भनिन्छ । यस मानस संस्कृतिलाई मानसी संस्कृति पनि भनिन्छ । यसको प्रारम्भ वैदिककालमा भएको हो । वैदिक भाषा संस्कृतिका अनेक बान्कीहरू मानस भाषा संस्कृतिको निरन्तरता हो भन्न सकिन्छ ।

वैदिक साहित्य मात्र प्रयोग गरिने प्लुत (अतिदीर्घ) वर्ण मानसी भाषामा पनि पाइन्छ । महिलाले वेद पढ्ने अधिकार र गुरु बन्ने बनाउने परम्परा मानसखण्डमा मात्र रहिआएको छ । महिलाले समेत विशिष्ट प्रकारको जनै (दुब्धागो÷दोरक) लगाउने अधिकार मानसखण्डका नारीलाई मात्र दिइएको छ ।

यी विभिन्न आधारहरूमा मानसखण्ड संस्कृति वैदिक संस्कृति नै हो भन्ने कुरामा कुनै विवाद छैन । बृहतारण्योपनिषद्मा आएको ‘मानस एत्य’ वाक्यांशले मानस शब्द वैदिक कालमा पनि लोकप्रिय थियो ।

वैदिक हिन्दूहरू मानसखण्डसँग पूर्ण परिचित थिए, वैदिक हिन्दू भन्नाले तागाधारी अर्थात् जनै लगाउनेलाई बुझाउँछ, जस अन्तर्गत ब्राह्मण, क्षत्री, वैश्य र शूद्र पर्ने गर्दछन् । ब्राह्मणले जनै, क्षत्रीले कण्ठी, वैश्यले अनन्त एवम् शूद्रले रक्षालाई प्रमुख रुपमा लिने गर्दछन् । ब्राह्मणको बल शिर अर्थात् श्रुति (कान) मा, क्षतिको बल छातीमा, वैश्यको बल पाखुरामा र शूद्रको बल हातमा हुन्छ ।

त्यसैले मानसखण्ड प्रदेशमा बालबालिकाको नामकरण गर्दा शिशुका हातमा धागो बाध्नु अनिवार्य मानिन्छ । यो परम्परा चारै जातिमा रहेको छ । वैदिक हिन्दूहरूका अलावा अवैदिक हिन्दूहरूमा बौद्ध, जैन, सिख, किरात सम्प्रदायमा पनि मानसखण्ड संस्कृतिको प्रभाव परेको पाइन्छ । तर, अवैदिक हिन्दूहरूमा धागोको त्यति महत्व छैन । यद्यपि उपासना पद्दतिमा केही समानता रहेको छ ।

बौद्ध, जैन, सिख एवम् किरातका पूर्वजहरू पनि वैदिक हिन्दू नै हुन् । यस आधारमा मानसखण्ड लोक संस्कृति वैदिक हिन्दू र अवैदिक हिन्दू दुबैको मूलस्रोत हो । कैलाश मानससरोवर यस संस्कृति आधारशीला हो, जो भगवान गौतम बुद्ध, भगवान महावीर, गुरु नानकदेवको तपोभूमि पनि हो ।

आद्यगुरु शंकराचार्य लगायत विभिन्न महापुरुषहरूले मानसखण्ड संस्कृति गौरवलाई बढाएको पाइन्छ । महान् सन्त धर्म सम्राट करपात्री जी महाराजले आफ्नो प्रसिद्ध रचना ‘रामराज्य और माक्र्सवाद’ भन्ने ग्रन्थमा मानस संस्कृतिको चर्चा गरेका छन् । मानस संस्कृतिको हिन्दू समाजमा विशिष्ट स्थान छ । यस संस्कृतिलाई प्रत्येक हिन्दूले मूल संस्कृति मानेको छ मान्नुपर्छ ।

ब्रह्माको मनबाट जन्मिएको हुनाले मानसी संस्कृति भनिएको हो । मनको संकल्प नै मानस संस्कृति हो । मानस सरोवरको तटीय इलाकामा विकसित भएको सभ्य संस्कृतिको नाम मानसखण्ड संस्कृति हो । माया संस्कृतिले बारम्बार यस मानस संस्कृतिमाथि प्रहार गर्‍यो । तर, हार मानेर जानुपर्‍यो । आज माया संस्कृति विश्वबाट लोप भइसकेको छ । तर, मानस संस्कृति यथावत् कायम रहेको छ ।

मानसखण्ड लोकसंस्कृतिमा दृश्य, अदृश्य र दृश्यादृश्य पक्षहरू रहेका छन् । संस्कृतिका केही पक्षलाई हेर्न र प्रदर्शन गर्न सकिने छन् भने केही पक्ष मनमस्तिष्कले मात्र अनुभव गर्ने खालका छन् तथा केही पक्षलाई प्रदर्शन तथा अनुभप दुबै गर्न सकिन्छ । यस क्षेत्रमा प्रसिद्ध लोक आभूषणमा हार, कल्ली, सुता, पैडा, वाला, नथु, बुलाकी रहेका छन् ।

लोक मान्यता अनुसार सुवर्णका गहनालाई कमरभन्दा माथि मात्र लगाइन्छ । जसको कारण सुवर्ण विष्णु भगवानको रुप र शिवजीको ब्रह्मचर्यको रस हो । त्यस्तै, लोकलज्जा र ठण्डीगर्मीबाट बाँच्न पहिरचनको आवश्यकता पर्दछ ।

काचबन्दी, बगलबन्दी , खुमट्याभोटो, कन्ज्यौडी, सन्दराज, पगडी, आदि पुरुष वर्गका पोशाक हुन् भने पिछौडो, अङिया, घाघरो, फेटा, गादो, झकुलो आदि महिलाका पोशाक हुन् । भुवा नृत्य, हुड्के नृत्य, छलिया नृत्य र धामी, बगौली, पण्डा, पूजारीका आ–आफ्नै स्तरका पोशाक हुने गर्दछन् ।

मानसखण्ड कला र लोककलाका क्षेत्रमा समृद्ध क्षेत्र हो । ज्यूति, अरिपण, छाला, ऊन–रेसा तथा पातहरूबाट बनाइने सरसामान यहाँको लोककलाको नमूना हो । विवाहको अवसर बेउला बेउलीको अनुहारमा कुरुनी छेड्नु (बुट्टा भर्नु), चिठा छड्को ९चिना० मा बुट्टा भर्नु बेदी पुर्नु आदि अद्वितीय कलाकारिता हो ।

आधुनिक विज्ञानको विकास हुनुभन्दा अघिदेखि नै मानसखण्डमा खाद्यान्न पिस्ने कुट्ने साधन, शिकार गर्ने घरेलु औजार, धान गहुँ चुट्ने उपकरणको विकास भइसकेको थियो । ती साधनहरूमा पानीघट्ट, कागज बनाउने प्रविधि, गुलेली आदि रहेका छन् ।

सामाजिक एकता, विश्वबन्धुत्व र मनोरञ्जनका लागि यहाँ गौरा पर्व, विषु पर्व, बुड्डौनी, पुषेपन्ध्र आदिको आयोजना हुन्छ भने पर्यावरणीय सन्तुलनका पञ्जपल्लव (आम, पिपल, बड, उमर, पाकड) को पूजाआजा गरिन्छ । सन्तुलित तथा शुद्धताजा भोजन होस् भनेर चुल्हा खाने र झिगा आदि किरा फट्याङ्ग्राबाट बाँच्न ‘बलु छोड्ने’ अवधारणाको विकास भएको पाइन्छ ।

गोरुभैसी चोख्याउनु, मुण्डो पुज्नु, डोली पुज्नु, सरौदो राख्नु, विवाहपछि बटुल्या जातो गर्नु यहाँको मौलिक संस्कृति हो । नारीले बेद पढ्नु हुँदैन भन्ने मान्यतालाई चिर्दै नारीले नारीलाई नै गुरु बनाएर ‘श्री श्चते लक्ष्मी चपत्न्या बहोरात्रे …’

(ऋग्वेद) मन्त्र दीक्षा लिनु, गौराब्रतका ब्रतालु गौरियाहरूले आफूभन्दा जेठोलाई समेत बिरुडाले पुजेर आशिर्वादका रुपमा ‘बाध जति बलियो, स्याल जति चलाख हुनु’ जस्ता आशिर्वादात्मक भाव प्रकट गर्नु नारी जातिलाई दिइएको सम्मान हो ।

लोकरीतिका रुपमा सन्तान जन्मेपछि उसका बुबाआमालाई दुबो हाल्ने, विणो–भेटी–उचाइनु राख्ने, दुःख पीडा हुँदा धामीझाक्री बोलाई धम्यौलाइ गर्ने, जोइसी गणाउने, भूतप्रेत लागेपछि छलछिद्र गर्ने जस्ता लोक विश्वास र लोकोपचारहरू रहेका छन् । डाक्टर वैद्यभन्दा पनि धामी, बगौली र देवमा बढी विश्वास गर्ने यस्तो विशिष्ट परम्परा मानसखण्ड क्षेत्रमा अद्यावधि रहिआएको छ ।

एकादश रुद्र–बाह्र आदित्य, आठवसु र इष्टकूल देवता गरी तेत्तीस देवतालाई हिन्दु धर्ममा ३३ कोटी (करोड) देवता, मानेको छ, यही अवधारणा मानसखण्ड क्षेत्रमा पनि रहिआएको छ । यस अलावा पाञ्चायन (शिव, विष्णु, दुर्गा, गणेश, सुर्य) देवताहरूको पनि सुरक्षित स्थान छ भने मसानी, आँचली (वनदेवी), देवपिशाच, ब्रह्मपिशाजलाई समेत स्थान दिएको छ, लोक देवताका रुपमा पुजिने गरिन्छन् यिनीहरू ।

विवाह उत्सवमा हुने सांगीतिक धुन र धार्मिक क्रियाकलापमा भिन्नै किसिमको लोक संगीत सुन्न पाइन्छ । शिवजीको डमरु र ताण्डप नृत्यलाई हुड्को र हुड्ने नृत्यका रुपमा जीवित राखेको छ । मानसखण्डको खानपान पनि नेपालका अन्य जातजाति र क्षेत्रको भन्दा विशिष्ट फरक छ । यहाँको संस्कृति नै वास्तविक नेपाली हो । यो संस्कृति नेपालको सबैभन्दा प्राचीन र मौलिक संस्कृति हो । ९लेखक आध्यात्मिक प्रवक्ता एवम् मानस चिन्तक हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!