चैतभित्र अल्पकालीन बजेट ल्याउने तयारीमा ७ नम्बर प्रदेश सरकार

धनगढी । आगामी आर्थिक वर्षका लागि असारमा मात्रै बजेट ल्याउन पाइने भएकाले ७ नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि चैतभित्रै अल्पकालीन बजेट ल्याउने तयारी गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बजेटबारे मन्त्रालयका सचिवसँग छलफल गरेका छन् । चालू आर्थिक वर्षका ४ महिनाका लागि अल्पकालीन बजेट ल्याउने तयारी भइरहेको छ ।

तयारी स्वरुप अर्थमन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेशमा रहेका ७ वटै मन्त्रालयका सचिवसँग छलफल गरेका छन् । छलफलमा मन्त्री बोहराले चालु आर्थिक वर्ष २०७४-७५ का ४ महिनाका लागि चैत्र मसान्तभित्रै १ अर्ब २ करोड ५० लाख रुपैयाँको बजेट ल्याउने तयारी थालिएको जानकारी दिए ।

‘हामीले नयाँ आर्थिक वर्ष २०७५–७६ का लागि पूर्ण बजेट त ल्याउनुपर्ने नै छ,’ मन्त्री बोहराले भने, ‘चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि अल्पकालीन बजेट ल्याउँदैछौ ।’

सरकार गठनपछि सञ्चित कोषको अभावमा मन्त्रालयलाई काम गर्न समस्या भएको छ । बजेटमा समावेश गर्नुपर्ने विषयबस्तु तयार गर्न सबै मन्त्रालयका सचिवलाई मन्त्री बोहराले निर्देशन दिएका छन् । ‘बजेटमा समावेश गर्नुपर्ने विषयवस्तु तयार गर्न सचिवहरूलाई निर्देशन दिएको छु । बजेट ल्याउन धेरै सयम पनि बाँकी छैन,’ मन्त्री बोहराले भने, ‘सबैमन्त्री मंगलबारदेखि नै कार्य सुचारु गर्ने छन् ।’

बजेटमा मुख्य प्राथमिकता कृषिलाई दिइने छ । यसका साथै गरिबी निवारण, शिक्षा स्वास्थ्य, यातायातलाई पनि बजेटले प्राथमिकता दिनेछ ।बजेट ल्याउनुअघि आवश्यक पर्ने ऐन नियम निर्माण गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई मन्त्री बोहराले निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्