एडिबीकाे २१ अर्ब लगानीमा धनगढीमा क्षेत्रीय शहरी विकास आयोजना शुरु

कैलाली । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) को संयुक्त लगानी रहेको क्षेत्रीय शहरी विकास आयोजना धनगढीमा पनि सुरु भएको छ । बुधबार भव्य समारोहकाबीच आयोजना सुरु भएको घोषणा गरिएको हो । आयोजनाले सडक, एकीकृत फोहोरमैला व्यवस्थापन साइट, ढल निकासलगायतका विकास पूर्वाधारका कार्य गर्नेछ ।

२१ अर्ब ४० करोड रुपैयाँ लागत रहेको क्षेत्रीय शहरी विकास आयोजनाले प्रदेश नं ७ का चार स्थानीय तहमा विकास निर्माणका कार्य गर्ने छ । आयोजनाले कैलालीका धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा सडक, डम्पीङ साइट, ढल निकास निर्माण तथा संस्थागत विकास कार्य गर्नेछ ।

आयोजनाको कुल लगानी मध्ये धनगढी उप–महानगरपालिका लागि सबैभन्दा बढी ३ अर्ब १९ करोड रुपैयाँ छुट्याइएको आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए ।

यस्तै, भीमदत्त नगरपालिकामा तीन अर्ब, गोदावरीमा एक अर्ब १९ करोड र शुक्लाफाँटा नगरपालिकामा ९७ करोड रुपैयाँ विभिन्न विकास निर्माण कार्यमा खर्च हुँदैछ । उक्त रकमबाट धनगढी उप–महानगरपालिकामा ३४ किलोमिटर सडक निर्माण, भीमदत्त नगरपालिकामा २६ तथा गोदावरी र शुक्लाफाँटा नगरपालिकामा समान आठ–आठ किलोमिटर सडकलगायत अन्य विकास पूर्वाधार निर्माण हुने आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले बताए ।

पहिलो चरण अन्र्तगत आयोजनाले धनगढी उप–महानगरपालिकाका साविक १ देखि ५ र वडा नम्बर ८ मा फोहोर मैला व्यवस्थापनका लागि डम्पीङ साइट निर्माण गर्नेछ । यस्तैं, उपमहानगरपालिकाका साविकका १ देखि ६ सम्म र ८, १०, १२ र १३ नम्बर वडामा ३४ किलोमिटर सडक र डे«न निर्माण हुने आयोजनाले जनाएको छ ।

अहिले फोहोरमैला व्यवस्थापन केन्द्र र सडकको सर्वे कार्य सम्पन्न भइसेको र छिट्टै टेण्डर पक्रियामा गएर आउ‘दो आर्थिक वर्ष २०७५/०७६ देखि निर्माणको कार्य थालनी हुने आयोजनाका निर्देशक कण्ठले जानकारी दिए ।

आयोजनाले लिएको लक्ष्य पूरा गर्न सबैले साथ दिनुपर्ने सरोकारवालाले जोड दिएका छन् । नगरबासीको साथ भएमात्रै आयोजनाले बोकेको लक्ष्य पूरा हुने भएकाले सबैले विकास निर्माणका कार्यमा सहयोग गर्न आवश्यक रहेको धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले बताए ।

विकास निर्माणका कार्यले तिव्रता पाउनका लागि नगरबासीले साथ दिने आशा राखेको उनले बताए । निर्माण कार्यमा कुनै अवरोध सिर्जना नभएमा पा“च वर्षभित्रमै लक्ष्य हासिल गर्ने आयोजनाले जनाएको छ । आयोजनाले सन् २०२२ सम्म विभिन्न विकास निर्माण कार्य गर्नेछ ।

कमेन्ट गर्नुहोस्