युवती कुट्नेलाई छाड्न दवाव दिने मेयर चौधरीस‌ंगकाे कुराकानी ..

भन्छन् - 'मलाई आफ्नो दायित्व थाहा छ, कसैले सिकाउनुपर्दैन । '

काठमाडौँ, २६ फागुन । किशोरीलाई कुटपिट गर्ने रामबहादुरलाई बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरेको थियो ।

तर, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायालगायतको रोहवरमा तत्कालै छोडिएको प्रहरी नायब निरीक्षक दिनेश विष्टले बताए ।

शुक्रबार किशोरीका बुबाले किटानी जाहेरी दिएपछि पुनः पक्राउ गरिएको छ । ‘रामबहादुरलाई पक्राउ गरिएको छ, बोक्सी भन्दै कुटपिट घटनाको अनुसन्धान थालिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने ।

रमिते मेयर भन्छन्–

भिडभाड देखेर प्रहरी चौकी गएको थिएँ, तर म बोलिनँ, आफ्ना काम अरू पनि छन् ।

प्रश्न: मेयरज्यू, तपाईंको नगरपालिकास्थित देउकलिया गाउँमा बिहीबार बोक्सीको आरोपमा एउटी किशोरीलाई समाजकै अगाडि मरणासन्न हुने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ, यो विषयमा तपाईंलाई जानकारी छ कि छैन ?

जवाफ: किन नहुनु ? जानकारी छ । पीडितलाई अहिले धनगढी लगिएको छ, अस्पतालमा उपचार भइरहेको छ । कुटपिट गर्ने व्यक्तिलाई पनि सार्वजनिक अपराधको मुद्दा लगाउन जाहेरी परेको छ ।

प्रश्न: जाहेरी कसले दिएको हो ?

जवाफ: पीडित पक्षले ।

प्रश्न: जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?

जवाफ: हिजो नै भयो ।

प्रश्न: कुटपिटबाट घाइतेलाई हिजो नै एम्बुलेन्समै राखेर प्रहरी चौकीमा लगिएको थियो, तपाईं पनि त्यहाँ पुग्नुभएको थियो भन्ने जानकारी आएको छ नि ?

जवाफ: हो, म एकैछिन पुगेको थिएँ ।

प्रश्न: कुटिएकी किशोरीलाई पनि चौकीमा राखिएको थियो, घटना कसरी भएको हो, उनीसँग केही जानकारी लिनुभयो ?

जवाफ: अहँ, किन लिनु र ?

प्रश्न: होइन, पीडित किशोरीसँग सोधपुछ पनि गर्नुभएन ?

जवाफ: मैले पीडितसँग पनि गरिनँ, पीडकसँग पनि गरिनँ ।

प्रश्न: त्यसो भए किन जानुभएको त चौकीमा ?

जवाफ: बाटोमा जाँदै थिएँ, भिडभाड देखेँ, के रहेछ भनेर हेरेको । मान्छेहरू आपसमा बाझाबाझ गरिरहेका थिए । त्यस्तोमा के बोल्ने भनेर आफ्नो बाटो लागेँ ।

प्रश्न: ए, त्यसो भए ‘रमिता’ हेरेर फर्कनुभयो ?

जवाफ: हो, अरू पनि काम हुन्छन् नि मान्छेका ।

प्रश्न: साँच्चै, तपाईं मेयर हुनुअघि त्यहाँको उमाविमा पढाउनुहुन्थ्यो रे, हो ?

जवाफ: हो, राष्ट्रिय उमाविमा अंग्रेजी पढाउँथेँ ।

प्रश्न: ए, तपाईं आफैँले अंग्रेजी कहाँ पढ्नुभएको हो नि ?

जवाफ: काठमाडौं, कीर्तिपुर केन्द्रीय क्याम्पसतिर । ०६८ तिर मास्टर्स पास गरेको हुँ ।

प्रश्न: त्यसो भए त तपाईं युवा नै हुनुहुन्छ ?

जवाफ: हो, भर्खर ४० वर्षको भएँ ।

प्रश्न: युनिभर्सिटी क्याम्पसबाट अंग्रेजीमा मास्टर्स पढेको एउटा युवा जनप्रतिनिधि भएको छ, तर आफ्नै गाउँमा एउटी किशोरी बोक्सीको आरोपमा सार्वजनिक रूपमा कुटिँदा बोल्न सक्नुहुन्न भने तपाईंको
शिक्षालाई, तपाईंको उमेरलाई र जनताबाट तपाईंले पाएको विश्वासलाई के भन्ने होला ? -नयाँ पत्रिका दैनिकबाट

जवाफ: त्यसमा कारबाही गर्ने काम प्रहरीको हो, मेयरको होइन ।

प्रश्न: ती किशोरी तपाईं आफैँ शिक्षक भएको राष्ट्रिय उमाविमा कक्षा ११ कि विद्यार्थी पनि हुन् नि, जानकारी छ तपाईंलाई ?

जवाफ: जानकारी भएन ।

प्रश्न: आफ्ना नगरपालिकाभित्रकी बासिन्दामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ, सार्वजनिक रूपमा दुव्र्यवहार भएको छ, तर ती को रहिछन्, के गर्छिन् भन्ने विषयमा तपाईंलाई चासो भएन ?

जवाफ: मैले तपाईंलाई भनिसकेँ, त्यो काम प्रहरीको हो ।

प्रश्न: जनतामाथि अन्याय भएको छ भने आवाज उठाउने भूमिका पनि छैन तपाईंको ?

त्यो तपाईंले सिकाउनुपर्दैन । मलाई आफ्नो दायित्व थाहा छ ।

प्रश्न: गोठमा गोबर सोहोरिरहेकी बालिकालाई लछारपछार गर्दै लगेर सात घन्टासम्म कुटपिट भएको छ, ती बालिका कसकी छोरी हुन्, तर आफ्नो गाउँ–टोलकी ती बालिकाको विषयमा तपाईंलाई ३०
घन्टासम्म पनि जानकारी किन छैन ?

जवाफ: मैले तपाईंलाई भनिसकेँ, मान्छेका अनेक काम हुन्छन् । आफ्नो गाउँमा मैले के गर्ने भनेर काठमाडौंमा बसेको पत्रकारले फोन गरेर सिकाउनुपर्दैन, तपाईं आफ्नो काम गर्नोस् ।

प्रश्न: देश संघीयतामा गएको छ, जनताले स्थानीय जनप्रतिनिधि पाएका छन्, तपाईंजस्ता युवा निर्वाचित पनि भएका छन् । तर, आफ्नै छिमेककी चेलीमाथि यत्रो ज्यादती हुँदा पनि तपाईं थाहा नपाएजस्तो
गर्नुहुन्छ भने त्यसविरुद्ध आवाज उठाउनु, प्रश्न गर्नु ताप्लेजुङदेखि दार्चुलासम्मका सचेत नागरिकको कर्तव्य हो नि, होइन र ?

जवाफ: तपाईं आफ्नो कर्तव्य पूरा गर्नोस्, तर मलाई नसिकाउनुस् ।

तर, अन्तिममा तपाईंलाई एउटा कुरा भनौँ है, मेयरज्यू

भन्नोस् ।

प्रश्न: नामचाहिँ ममताप्रसाद कसले राख्यो होला ? तपाईं त निष्ठुरप्रसाद हुनुहुँदो रहेछ ?

जवाफ:त्यो तपाईंको मूल्यांकन हो । मलाई त्यसमा चासो छैन ।

तर, आजसम्म जे भयो भयो, पीडितहरू अस्पतालमा छन्, मिल्यो भने भोलि गएर भेटिदिनुहोला, उनका गुनासा सुनिदिनुहोला । कारबाही के भयो भनेर हामी भोलि पनि फोन गर्छौँ । ठीकै छ, बिहानै नगर्नुहोला, बेलुका गर्नुहोला ।

कमेन्ट गर्नुहोस्