रोहिंज्यालाई सहयोग गर्न एक अर्ब डलर आवश्यक

काठमाडौं । म्यानमारमा भएको सैन्य कारबाहीबाट बच्न भागेर बांग्लादेश पुगेका लाखौँ रोहिंज्या शरणार्थीहरूका लागि मानवीय सहायता पुर्याउन झण्डै एक अर्ब डलर आवश्यक भएको संयुक्त राष्ट्रसंघले बताएको छ।

स्वीट्जरल्याण्डको जेनेभामा आगामी हप्ता हुने बैठकमा ‌सहयोगका लागि ‌औपचारिक आह्वान गरिने संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक मिया सेप्पोले बीबीसीलाई बताइन्।

उनले भनिन्, ‘खानेकुरा, आश्रय, सरसफाइ तथा स्वास्थ्य सेवा रोहिंज्या शरणार्थीहरूलाई प्रदान गर्नका लागि राष्ट्रसंघले ताजा आह्वान गर्दैछ। शरणार्थीहरूलाई घरफिर्ती गराउनका लागि अझ कति समय लाग्छ भन्ने स्पष्ट छैन।’

सात लाखभन्दा बढी शरणार्थीहरूले म्यानमारसँगको बांग्लादेशी सीमा नजिकका क्षेत्रका शिविरहरूमा आश्रय लिइरहेका छन्।

म्यानमारको रखाइन राज्यमा सैन्य कारबाही चर्किएपछि धेरैजसो शरणार्थीहरूले थोरै सरसामान बोकेर बांग्लादेश प्रवेश गरेका थिए र बाँच्नका लागि पूर्णतः उनीहरू सहायता निकायहरूमाथि नै निर्भर छन्।

ठूलो संख्यामा प्रवेश गरेका शरणार्थीका कारण स्थानीय मानिसहरु तथा वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई सीमित पार्न चाहेको पनि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सेप्पोले उल्लेख गरिन्।

विशेषगरी वर्षायाममा बाढी र पहिरोको जोखिममा रहेका करिब एक लाख शरणार्थीलाई स्थानान्तरण गर्न आफूहरूले चाहेको पनि अधिकारीहरूले बताएका छन्।

गत वर्षको अन्त्यमा रोहिंज्या शरणार्थीहरूको घरफिर्तीका लागि बांग्लादेश र म्यानमारबीच एउटा सम्झौता भएको थियो तर घरफिर्ती प्रकिया रोकिए जस्तो देखिन्छ। बीबीसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!