१८० किमी मार्चपास सकेर ५० हजार किसान मुम्बईमा, भारतभरी हङ्गामा, विधानसभातर्फ अघि बढ्दै जुलुस (फोटो फिचर)

मुम्बई, भारतको त्रिपुरा राज्यमा वामपन्थीहरुको पराजयपछि लेनिनको शालिक ढलाएको चर्चा सेलाउन नपाउँदै मुम्बईमा किसानहरुको मार्चपासले सिङ्गो भारतमा हङ्गामा मच्चिएको छ ।
किसानहरुले आत्महत्या गर्ने देशहरुमा अग्रणी मानिएको भारतको नासिकका किसानहरुको यो जुलुस ५ दिनको बाटो पार गरेर मुम्बई पुगेको हो । मुम्बईको आजाद मैदानबाट किसानहरुको जुलुस विधानसभा घेराउ गर्न अघि बढ्दै छ ।

किसान आन्दोलनको मुख्य नेतृत्व वामपन्थी दलहरुले गरेपनि यसलाई अन्य गैर राजनीतिक दलहरुले समेत समर्थन दिएका छन् । यतिसम्म कि शिवसेनाका प्रमुख उद्वव ठाकरे समेत यसमा सहभागी भएका छन् । एनसीपीका नेता सरद पवारले पनि कार्यकर्तालाई आन्दोलनमा ऐक्यबद्धता जनाउन भनेका छन् ।


आन्दोलनको अगुवाई भने भाकपा र माकपा निकट किसान संगठनले गरेका छन् ।

किसानहरु आन्दोलनमा उत्रिएपछि महाराष्ट्रका मुख्यमन्त्री देबेन्द्र फर्नान्डिजले वार्ताको आव्हानगरेका छन् । सम्भवतः आज दुई बजे उनीहरुबीच वार्ता हुनसक्छ । तर किसानहरुले भने आफ्ना मागहरुमा लिखित आश्वासन नपाएसम्म विधानसभा घेराऊ गर्ने चेतावनी दिएका छन् ।

के छन मागहरु

१. कृषि उपजको लागत मूल्यको अतिरिक्त ५० प्रतिशत लाभ दिइयोस्।

२. सबै किसानहरुको ऋण माफी गरियोस् ।

३. नदी जोडने परियोजना अन्तर्गत महाराष्ट्रका किसानहरुलाई पानी दिइयोस् ।

४. वन्य जमिनमा पुस्तौदेखि खेति गर्दै आइरहेका किसानहरुलाई जमिनको स्वामित्व दिइयोस् ।

५. सञ्जय गान्धी निराधार योजनाको लाभ किसानहरुलाई दिइयोस् ।

६. किसान सहायता राशी ६ सय रुपैयाँबाट बढाएर ३ हजार प्रति महिना गरियोस् ।

७. स्वामिनाथन आयोगका सिफारिसहरु लागु गरियोस् ।

फर्नान्डिज सरकारले गत नोभेम्बरमा १०दिने आन्दोलनपछि ऋण माफी गर्ने घोषणा गरेका थिए । इतिहासकै सबैभन्दा ठूलो ऋणमाफीको योजना भनिएपनि यसका लागि को योग्य हुने भन्ने कुरा भने स्पष्ट थिएन । यसका साथै यो ऋणमाफीसँगै किसानहरुले अन्य मागहरु समेत लागु गर्न र स्वामिनाथन आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!