भारतको महाराष्ट्र राज्यमा किसानहरूको आन्दोलनसामु राज्यले घुँडा टेक्यो, सबै जसो माग सम्बोधित हुने

काठमाडौं । आजीविकासँग सम्बन्धित विभिन्न मागहरू राखेर आन्दोलनरत भारतको महाराष्ट्र राज्यका किसानहरूका सबै जसो मागहरू पूरा गर्न त्यहाँको राज्य सरकार राजी भएको छ ।
सोमवार दिउँसो भएको द्विपक्षीय वार्तामा सहमति जुटेपछि किसानहरूले गत सात मार्चदेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन् । महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेंद्र फडणवीसले किसानहरूसँग गरिएका सबै वाचाहरू पूरा गरिने वचनबद्धता व्यक्त गरेका छन् । उनले सरकारले किसानहरूलाई लिखित रूपमै विश्वास दिलाइने बताएपछि आन्दोलन रोकिएको हो ।

राज्यका ५० हजार किसानहरू एक सय ८० किलोमिटर पैदल हिँडेर प्रादेशिक राजधानी मुम्बईमा जम्मा भएका थिए । उनीहरूले विधानसभा घेर्ने बताए पनि मुख्यमन्त्रीले माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन भएको छ ।
सरकारले आन्दोलनरत पक्षसँग सबै मागहरू सम्बोधन गर्न छ महिनाको समय मागेको छ ।

सरकारको तर्फबाट वार्ता टोलीको अध्यक्षता मुख्यमन्त्री आफैंले गरेका थिए । सुरुमा वामपंथी दलहरूको अगुवाई रहेको भएपनि सबै राजनीतिक दलहरू किसानहरूको समर्थनमा उभिएका थिए ।

साथै सरकारले आन्दोलनमा सहभागी हुन आएका किसानहरूलाई घर फर्किन विशेष रेल संचालन गर्ने जनाएको छ ।

भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीले ट्विट गरेर किसानहरूलाई देशका योद्धा भएको र यदि यी मागहरू पूरा नभए मुम्बईको आजाद मैदानबाट फेरि आन्दोलन थालिने चेतावनी दिएका छन् ।

त्यस्तै भारतीय काँग्रेसका अध्यक्ष राहुल गाँधीले पनि किसानहरूका मागहरू प्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

 

कमेन्ट गर्नुहोस्