शालिक ढल्दैमा विचार ढल्न सक्छ र?

‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ ।

रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर क्रान्तिको गौरवशाली एक शतक भर्खरै पूरा भएको छ ।

हामीले नेपालमा अक्टोबर क्रान्तिका नायक लेनिनलाई स्मरण गरिरहँदा छिमेकी देशको त्रिपुरा राज्यमा भने डोजर लगाएर उनको शालिक ढालिएको छ । विगत २५ वर्षदेखि भारतीय कम्युनिष्ट पार्टी (सिपिआई एम) को सरकार रहेको त्रिपुरामा पाँच वर्षअगाडि मात्र लेनिनको शालिक निर्माण गरिएको थियो ।

सन् २०१३ मा स्थानीय कलाकार कृष्ण देवनाथले लेनिनको उक्त शालिक निर्माण गरेका थिए । भारतीय जनता पार्टी (बिजेपी)का कार्यकर्ता र समर्थकले चुनाव जितेको उन्मादमा विश्वभरिकै कम्युनिस्ट पार्टीका आदर्श लेनिनको शालिकमा डोजर लगाएका हुन् । दक्षिण त्रिपुरामा पर्ने बेलोनियास्थित लेनिनको अग्लो शालिकमा डोजर लगाउनुअघि बिजेपीका कार्यकर्ताले ड्राइभरलाई मात्ने गरी मादक पदार्थ सेवन गराएका थिए ।

त्रिपुरामा भारतीय जनता पार्टीले चुनाव जितेको ४८ घन्टापछि लेनिनको शालिक ढालिएको हो । सिपिआई (एम)ले यस घटनालाई ‘कम्युनिज्मफोबिया’ अर्थात् साम्यवादसँगको त्रास भनेको छ भने भाजपाले लामो समय कम्युनिष्टद्वारा दबिएकाहरूको आक्रोश भनेको छ । ५ मार्चमा ढालिएको लेनिनको शालिक सोही ठाउँमा बेवारिसे भएको छ भने कम्युनिस्ट पार्टीका समर्थकले यस घटनाको विरोध जनाउँदा केही ठाउँमा झडपसमेत भएका छन् ।

लेनिनको शालिक ढालिएको घटना यो नै पहिलो भने होइन । यसअघि सन् २०१३ मा युक्रेनको राजधानी किएफमा पनि विरोधीहरूले डोजर लगाएर लेनिनको शालिक ढालेका थिए ।

को हुन् लेनिन ?

इतिहास साक्षी छ, कुनै पनि महान् क्रान्तिकारी आन्दोलन वैज्ञानिक र क्रान्तिकारी संगठनात्मक सिद्धान्त र मूल्य मान्यताद्वारा निर्देशित संगठनविना सफल भएका छैनन् । क्रान्तिकारी आन्दोलन र क्रान्तिकारी संगठन कुनै जड वस्तु नभएर निरन्तर गतिशील सजीव प्रक्रिया हुन् ।

हो, यही संगठनात्मक सिद्धान्तका प्रतिपादक हुन् लेनिन् । उनैले प्रतिपादन गरेको संगठनात्मक सिद्धान्तमा टेकेर नै विश्वभरिका कम्यूनिस्ट पार्टीहरू अगाडि बढेका छन् ।

अास्था केसी

सोभियत रुसको इतिहासमा त लेनिनको स्थान निकै विशेष छ नै विश्वभरिको राजनीतिमा पनि उनको स्थान महत्त्वपूर्ण छ । क्रान्तिको बाटोबाट रुसी जनतालाई सत्तामा पु¥याउन लेनिनकै अहम भूमिका रहेको छ ।

२२ अप्रिल, १८७० मा रुसको सिंविस्र्क भन्ने स्थानमा लेनिनको जन्म भएको थियो । उनको वास्तविक नाम उल्यानोभ थियो । पछि उनी भ्लादिमिर इलिइच लेनिनका नामले विश्व प्रख्यात भए । उनका बुबा एक स्थानीय विद्यालयका निरीक्षक थिए । ग्र्याजुएट भइसकेपछि पनि लेनिन सन् १८८७ मा कजान विश्वविद्यालयको विधि विभागमा पुनः भर्ना भएका थिए तर विद्यार्थीको क्रान्तिकारी प्रदर्शनमा भाग लिएका कारण उनलाई विश्वविद्यालयले निष्काशन गरेको थियो ।

सन् १८८९ मा उनले रुसमा माक्र्सवादी संगठन स्थापना गरेका थिए । केही समय उनले वकालत पनि गरे । पछि माक्र्सवादी नेता बनेपछि केही समय उनले जेलजीवन बिताए । उनका केही पुस्तक पनि प्रकाशित छन् ।

लेनिनले बोल्सेभिक पार्टीकी नेतृ क्रुप्सकायासँग विवाह गरेका थिए । सन् १८९५ मा लेनिनलाई बन्दीगृहमा हालियो र १८९७ मा तीन वर्षका लागि पूर्वी साइबेरियाको एक स्थानमा निर्वासित गरियो । निर्वासनमा रहँदा लेनिनले ३० वटा पुस्तकहरू लेखे, जसमध्ये एक थियो– ‘रूसमा पूँजीवादको विकास ।’ यसमा माक्र्सवादी सिद्धान्तहरूका आधारमा रूसको आर्थिक उन्नतिको विश्लेषणको प्रयत्न गरिएको छ । यही पुस्तकमार्फत् उनले आफ्नो मनमा रूसका निर्धन श्रमिक र सर्वहारा वर्गको मुक्तिका लागि आजीवन लाग्ने प्रण गरेका थिए ।

सन् १९०० मा निर्वासनबाट फर्किएपछि लेनिनले ‘इस्क्रा’ नामको एक पत्रिका प्रकाशन गरे । लेनिनले आफ्ना पुस्तक र अरू लेखहरूमा उल्लेख गरेका छन् कि क्रान्तिको नेतृत्व यस्ता अनुशासित दलका हातमा हुनुपर्छ, जसको मनमा क्रान्तिका लागि केही गर्ने हुटहुटी होस्, जो जनताको मुक्तिका लागि हृदयबाटै समर्पित होस्, जसले सर्वहारा वर्गको मुक्ति आफ्नो एक मात्र लक्ष्य बनाओस् ।

सन् १९०३ मा रूसी श्रमिकहरूको समाजवादी लोकतन्त्र दलको दोस्रो सम्मेलन भयो । यसमा लेनिन तथा उनका समर्थकहरूको अवसरवादी तत्त्वहरूसँग कडा बहस भयो । अन्तमा क्रान्तिकारी योजनाको प्रस्ताव बहुमतबाट पारित गरियो । यसपछि पार्टीमा विभाजन आयो । लेनिनको पार्टीको नाम बोल्सेभिक पार्टी र अर्को पार्टीको नाम मेन्सेभिक पार्टी रह्यो ।

माक्र्सवादी विचारक लेनिनको नेतृत्वमा सन् १९१७ मा रूसमा क्रान्ति भएको थियो । रूसी कम्युनिस्ट पार्टी (बोल्सेभिक पार्टी) का संस्थापकसमेत रहेका लेनिनको विचार आज विश्वभरिका कम्युनिष्टमाझ ‘लेनिनवाद’को नामबाट स्थापित छ ।

त्यतिबेला मानिसहरू दोस्रो विश्वयुद्धले गर्दा निकै चिन्तित र आक्रोशित अनि त्रसित थिए । त्यसै कारण वोल्सेभिक पार्टीका मानिसहरू सरकारको विरोधमा लागे । विस्तारै वोल्सेभिकहरूले सरकारी कार्यालयमा कब्जा जमाउन थाले । उनीहरू झन् पछि झन् बलिया र सशक्त हुँदै गए । यो त्यही रुसी क्रान्ति थियो, जसले वोल्सेभिकहरूलाई सत्तामा पु¥यायो । यसको नेतृत्व उनै लेनिनले गरेका थिए ।

सर्वहाराको अधिनायकत्वले नै साँचो अर्थमा जनताका लागि सच्चा लोकतन्त्रको काम गर्ने लेनिनको मान्यता थियो । लेनिनको विश्वास थियो कि कुनै पनि काम गर्दा दबब दिएर वा बल प्रयोग गरेरभन्दा धेरै संगठन निर्माण गरेर र संगठित मानिसहरूलाई नयाँ विचारले प्रशिक्षित गरेर मात्र सर्वहारा वर्गको अधिनायकत्व संभव हुनेछ ।

बाहिरी देशका सेनाहरूले हस्तक्षेप गरेपछि रुसमा सुरु भएको गृहयुद्ध तीन वर्षसम्म रह्यो । सन् १९२८ देखि १९३० सम्म लेनिनले विदेशी आक्रमणकारी र प्रतिक्रान्तिकारीसँगको लडाइँमा दृढतापूर्वक सोभियत जनताको नेतृत्व गरेका थिए । उनकै पहलमा सन् १९२२ मा सोभियत संघको स्थापना भएको थियो ।

लेनिन इतिहासका सबैभन्दा महान् कम्युनिष्ट क्रान्तिकारीमध्ये एक थिए । २१ जनवरी, १९२४ मा मस्तिष्कघातका कारण ५४ वर्षको अल्पायुमै उनको निधन भए पनि लेनिन करोडौँ जनका मनमा हजारौँ वर्षसम्म जीवित रहनेछन् ।

विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको योगदान

प्रथम विश्वयुद्धको समयमा लेनिनको नेतृत्वमा रूसी साम्यवादीहरूले सर्वहारा वर्गको अन्तर्राष्ट्रियताको समर्थन र साम्राज्यवादको विरोधमा विश्वयुद्धको विरोध गरेका थिए । रुसमा क्रान्तिको नेतृत्व गर्दै विश्वयुद्धको विरोध गर्दै गर्दा उनले माक्र्सवादको दार्शनिक विचारधारालाई अघि बढाउने प्रयत्न गरे। उनले आफ्नो पुस्तक ‘साम्राज्यवाद’ (१९१६)मा साम्राज्यवादको विश्लेषण गर्दै साम्राज्यवाद पूँजीवादी विकासको चरम र आखिरी अवस्थामा रहेको उल्लेख गरेका थिए । साम्राज्यवाद र पुँजीवादबाट निराश भएकालाई उनको यो कुराले उत्साहित गरेको थियो ।

सन् १७८१ को पेरिस कम्युनपछि पश्चिमी युरोपमा कुनै क्रान्तिकारी विस्फोट भएको थिएन । रुसमा भएको सन् १९१७ को अक्टोवर क्रान्ति नै त्यस्तो क्रान्तिकारी विस्फोट थियो, जसले लेनिनको नेतृत्वमा विश्वलाई नयाँ युगमा प्रवेश गराएको थियो । लेनिन त्यस्ता क्रान्तिकारी नेता थिए, जसले छरिएका माक्र्सवादीहरूलाई एकै ठाउँ ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यद्यपि, लेनिनलाई यो काममा पूरै सफलता भने हात परेन । अवसरवादी र अर्थवादीहरूले लेनिनको यो सपना पूरा हुनबाट रोकिरहेका थिए ।

७ नोभेम्बर, १९१७ मा लेनिनको अध्यक्षतामा सोभियत सरकारको स्थापना भएको थियो । प्रारंभबाटै सोभियत शासनले शान्ति स्थापनामा निकै महत्त्वपूर्ण योगदान दिन सुरु ग¥यो । जर्मनीसँग मिलेर लेनिनले जमिन्दारहरूको भूमि खोसेर सबै सम्पत्तिमा राष्ट्रको स्वामित्व स्थापित गरेका थिए । व्यवसायहरू तथा कारखानाहरूमा श्रमिकहरूको नियन्त्रण कायम गरिएको थियो र बैंकहरू तथा परिवहन साधनहरूको राष्ट्रियकरण गरिएको थियो ।

लेनिनले सोभियत रुसको नेतृत्व आफ्नो हातमा लिएपछि श्रमिकहरू तथा कुनानहरूलाई पुँजीपति र जमिन्दारहरूबाट छुटकारा मिलेको थियो । समस्त देशवासीहरूमा पूर्ण समानता लागू भएको थियो । नवस्थापित सोभियत प्रजातन्त्रको रक्षाका लागि रातो सेनाको निर्माणसमेत गरिएको थियो ।

लेनिनले सोभियत शासनको विदेश नीति यस्तो बनाएका थिए कि कुनै पनि युद्धमा देशवासीलाई बलिको बोको हुन दिइनेछैन । सबै प्रकारका लडाइँ र दुश्मनहरूको अन्त्य गरिनेछ । सोभियत रुसका जनताले देशलाई साम्यवादमा लैजाने अन्तिम कोसिसमा लेनिनको साथ दिएका थिए । साम्यवादका शत्रुहरूबाट देशलाई बचाउन लेनिनले प्रतिरक्षा व्यवस्थालाई सुदृढ गराउन खोजेका थिए । रुसका तत्कालीन मजदुर र गरिब जनताहरू लेनिनलाई आफ्नो अन्नदाता र भगवानको रूपमा सम्मान पनि गर्थे ।

कहाँ-कहाँ छन् लेनिनका शालिकहरू ?

सन् २०१७ मा रुसमा सम्पन्न सोभियत क्रान्तिका नायक लेनिनको शालिक अन्य पाँच देशमा पनि बनाइएका छन् । अमेरिकाको सियाटल राज्यमा सन् १९९० मा लेनिनको शालिक बनाइएको थियो । लुई कारपेन्टर नामका एक अंग्रेजी शिक्षकले स्लोभाकियाबाट अमेरिकासम्म यो शालिक पु¥याउनका लागि आफ्नो घर धरौटी राखेका थिए ।

त्यसैगरी सोभियत वैज्ञानिकहरूले अमेरिकाको दक्षिणी ध्रुवमा एमण्डसन स्टेशन निर्माणको बदलामा सन् १९५८ को डिसेम्बर महिनामा अन्टार्कटिकाको सबैभन्दा टाढा पोल अफ इनएक्सेसिबिलिटीमा एक शोध केन्द्र स्थापना गरेका थिए । शोध सुरु गर्नु दुई हप्ताअघि यस केन्द्रको छतमा प्लाष्टिकबाट बनेको लेनिनको शालिक स्थापना गरेका थिए । अहिले यस ठाउँमा लेनिनको शालिकबाहेक सिंगो शोध केन्द्र हिउँले पुरिएको छ ।

दोस्रो विश्वयुद्धताका ब्रिटेन र सोभियत संघ नाजी जर्मनीको विरुद्धमा उभिएका थिए । त्यही समयमा ब्रिटेनका लेनिन समर्थकले लण्डनको फिन्सबरी काउन्सिलमा सम्मान स्वरूप लेनिनको शालिक स्थापना गरेका थिए । रुसीमूलका वास्तुकार बर्थोल्ड लुबेत्किनले लेनिनको उक्त शालिक बनाएका थिए ।

लेनिन आफ्नो लण्डन बसाइको सिलसिलामा होल्फोर्ड चोकको नजिकै बस्ने गरेका कारण यो शालिक सोही चोकमा स्थापित गरिएको थियो तर पछि केही विरोधीहरूले उनको शालिक तोडफोड गर्न थालेपछि यसलाई इस्लिंग्टन संग्रहालयमा सारिएको थियो ।

त्यसैगरी सोभियतका विरोधीले तोडफोड गर्न नसकुन् भन्ने उद्देश्यले लेनिनको एक शालिक युक्रेनको तारहनकुटमा स्थापना गरिएको थियो । अहिले क्रिमियाको तारहनकुटमा रहेको पानीभित्र बनाइएको एक संंग्रहालयमा सोभियत संघसँग सम्बन्धित केही अरू नेताका स्मारकहरूसँगै लेनिनको उक्त स्मारक पनि सुरक्षित राखिएको छ ।

इटलीको कावरियागोमा पनि लेनिनको एक शालिक स्थापित छ । सन् १९१८ मा यो शहरमा रहेका कन्जरभेटिभ र बोल्सेभिकबीच कडा बहस छेडिएको थियो । उक्त बहसमा पछि कन्जरभेटिभले नै जिते ।

र अन्त्यमा,

लेनिन विश्व सर्वहाराका एक नायक हुन् । विश्वभरिका गरिव र सर्वहाराहरू लेनिनको नाम श्रद्धाका साथ उच्चारण गर्दछन् । गत हप्ता धर्मनिरपेक्षता र समानताका प्रतिमूर्ति तिनै लेनिनको शालिक हाम्रो छिमेकी देश भारतको त्रिपुरा राज्यमा डोजर लगाएर ढालिएको छ । यस घटनाले संसारभरका कम्युनिस्टहरूलाई के सन्देश दिएको छ भने अझै पनि संसारमा त्यस्ता आततायीहरू छन्, जो जबर्जस्त मानिसहरूका आस्थामा प्रतिबन्ध लगाउन चाहन्छन् । ती आततायीहरूले के कुरामा ख्याल राख्नुपर्छ भने एउटा शालिक त ढाल्न सकिएला तर करोडौँ मानिसमा रहेका उनको शालिक कसैले ढाल्न सक्दैन । आज विश्वका करोडौँ मानिसहरूको मन र मस्तिष्कमा लेनिनको त्यो शालिक बिराजमान छ, जो गरिव र सर्वहाराहरूको, दलित र महिलाहरूको, हेपिएका र चेपिएकाहरूको मुक्तिदाता पनि हो ।

सही विचार हुँदाहुँदै पनि आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक चरणमा छ । नेपालको हकमा पनि यही भइरहेको छ । नेपालमा भर्खरै वामपंथीहरूको सरकार बन्दै छ । माक्र्सवाद र लेनिनवादलाई आफ्नो पथप्रदर्शक सिद्धान्त मान्ने नेकपा एमाले र मालेमावादलाई पथप्रदर्शक सिद्धान्त मान्ने माओवादी केन्द्र जस्ता दुई ठूला पार्टीबीच पार्टी एकता हुनै लागेको छ । यस्तो अवस्थामा नेपालका वामपन्थीहरूको काँधमा संसारलाई केही देखाउने त्यो अवसर आएको छ । संसारका सर्वहारा र कम्युनिस्टका लागि केही प्रेरणा बन्ने गरी काम गर्ने त्यो जिम्मेवारी आएको छ ।

यस्तो अवस्थामा छिमेकी देश भारतमा ढालिएको लेनिनको शालिक नेपालमा स्थापित गरी आफ्ना गुरुको सम्मान गर्ने त्यो हिम्मत के नेपालका वामपंथीहरूले देखाउन सक्लान्, यो विषयलाई सबैतिर चासोका साथ हेरिएको छ । लेनिनको शालिक ढालेर केहीले तुष्टि प्राप्त गरे पनि उनका विचारलाई मर्न नदिऔँ, कम्तीमा पनि नेपाली कम्युनिस्टहरूमा उनका आदर्श र मान्यता अनि विचारको सम्मान व्यवहारमै गरेर देखाउने उत्प्रेरणा प्राप्त होस् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!