भारतीय क्रिकेटर शमीले पत्नी कुट्ने गरेको खुलासा, मुख्यमन्त्रीसामु हारगुहार

नयाँदिल्ली । भारतीय क्रिकेट टीमका बलर मोहम्मद शमीले पत्नी कुट्ने गरेको खुलासा भएको छ । कुटपिटबाट पीडित पत्नी हसिन जहांले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीसामु न्यायका लागि हारगुहार गरेकी छन् ।

भारतीय पत्रिका अमर उजालाका अनुसार आफूमाथि कुटपिट गर्ने श्रीमानमाथि कारवाहीको माग गर्दै पत्नी हसिनले मुख्यमन्त्री बेनर्जीलाई आग्रह गरेकी छन् । पत्नीमाथि कुटपिट गरेको गम्भीर आरोप सार्वजनिक भएपछि क्रिकेटर शमी हैरान भएका छन् । गम्भीर आरोपले शमीमाथि चुनौति थपिएको छ ।

शमी पत्नी हसिनले कोलकाता पुलिसमा सुरक्षाको माग गर्दै निवेदन समेत दिएकी छन् । कुटपिट गर्ने पतिविरुद्ध बोल्दा सामाजिक सञ्जालबाट धम्की मिल्ने गरेको पीडित हसिनको आरोप छ । शमीले अन्य महिलासँग सम्बन्ध राख्ने गरेको र घरेलु हिंसाको आरोप समेत पत्नी हसिनले लगाएकी छन् । शमी र उनको परिवारले शारीरिक र मानसिक पीडा दिएको हसिनको आरोप छ ।

हसिनले केही फोटो समेत सार्वजनिक गरेकी छन् । जसमा शमी विदेशी महिलासँग देखिएका छन् । यद्यपि, शमीले आफ्नी पत्नीको आरोप षड्यन्त्रमूलक भएको बताएका छन् । घटनाबारे हसिनका वकिल जाकिर हुसैनले सञ्चारमाध्यमसँग कुराकानी गर्दै भने, ‘सामाजिक सञ्जालमा मिलिरहेको धम्कीले उहाँलाई बाहिर जान असुरक्षित महसुस भएको छ ।’ हसिनले कोलकाता प्रहरी मुख्यालय लालबजार गएर सुरक्षाको माग गरेकी छन् । वकिल हुसैनले भने, ‘हसिन यो मुद्दामा मुख्यमन्त्रीको समर्थन चाहन्छिन्, बेनर्जी महिला मुख्यमन्त्री भएकाले हसिनाको हृदयमा उहाँप्रति सम्मान छ ।’

कमेन्ट गर्नुहोस्