बिहे गर्न नमानेपछि कञ्चनपुरमा युवतीमाथि निर्घात कुटपिट

महेन्द्रनगर । आफूसँग बिहे गर्न नमानेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा २४ वर्षिय युवति सोनी चन्दमाथि निर्घात कुटपिट गरिएको छ ।

आज बिहान १० बजे सोनीकै घरमा आएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको जनाइएको छ ।

राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको सोनीका आफन्तले बताएका छन् । सोनीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ ।

घरमा रहेकी आमाले छोरीमाथि कुटपिट हुँदा रोक्न खोजेपछि आमामाथि समेत कुटपिट गरिएको जनाइएको छ । घरमा आमा र छोरी मात्रै बस्ने गरेका थिए । सोनीमाथि कुटपिट गर्ने राकेश चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्