प्रधानमन्त्री ओलीसामु मुख्यमन्त्री भट्टले गरे ७ नम्बर प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले ७ नम्बर प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेश विगतदेखि नै पछाडि पारिएकाले अन्य प्रदेशसँग समान स्तरमा ल्याउन केन्द्र सरकारबाट प्राप्त हुने सहयोगमा प्रदेशलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री भट्टले आग्रह गरेका हुन् । मुख्यमन्त्री भट्टले राष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं आएको बेला प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री ओली र मुख्यमन्त्री भट्टबीच सरकार सञ्चालनका विषयमा समेत छलफल भएको मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार नरेन्द्र कुँवर ‘विजयसुन्दर’ले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई भ्रष्टाचारमुक्त गर्न, सुशासन कायम गर्न र जनतालाई विकासको अनुभूति हुने गरी काम गर्न निर्देशन दिएको कुँवरले बताए । ‘केन्द्र र प्रदेश सरकारबीच अधिकार बाँडफाँडको विषयलाई चाडो टुंग्याएर आवश्यक निर्देशन उपलब्ध गराउन समेत मुख्यमन्त्रीले आग्रह गर्नुभयो,’ कुँवरले भने ।

काठमाडौंमा रहेका मुख्यमन्त्री भट्ट विभिन्न निकायको भेटघाट कार्यक्रममा समेत सहभागी भएका छन् । हिजो भएको राष्ट्रपति निर्वाचनमा मतदान गर्न देशैभरिका मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सांसद काठमाडौं आएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!