बाख्रालाई बचाउन बाघसँग भिड्ने महिलाले घाइते अवस्था मै लिइन् सेल्फी

भारतको महाराष्ट्र राज्यमा एक महिला बाख्रालाई बचाउन बाघसँग भिडेकी छिन् । बाघलाई लखेट्ने क्रममा नराम्रोसँग घाइते भएकी २१ वर्षीय रुपाली मेश्रामले आफ्नो घाइते अवस्थाको सेल्फी समेत लिएकी थिइन् ।

राज्यको पूर्वी विदर्भ क्षेत्रको भण्डारा जिल्लाको नागझिरा वन्य जन्तु आरक्ष नजिकैको गाउँमा पछिल्लो हप्ता एउटा घरको बाख्राखोरमा बाघ पसेको थियो ।

गाउँमा सधैं जसो हुने यस्तो घटनामा त्यसदिन नयाँ मोड आयो जब बाघले बख्रामथी आक्रमण गर्ना साथ वाणिज्यशास्त्रमा स्नातक रुपाली दाउराको भाटा  लिएर बाघमाथि झम्टिइन् ।

त्यसपछि बाघ पनि प्रत्याक्रमणमा उत्रियो । कोलाहल सुनेर बाहिर आएकी उनकी आमा जिजाबाईलाई समेत बाघले घाइते तुल्याइदिएपछि रुपालीले बहादुरी पूर्वक लडेर बाघलाई लखेटिन् ।

त्यति मात्र होइन् उनले घाइते अवस्थामा नै आमासँग सेल्फी पनि खिच्न भ्याइन् । पछि स्थानीय अस्पतालमा उपचारपछि उनी घर फर्किएकी छिन् ।

पातलो बस्तीमा घर भएकाले तत्काल कुनै मानवीय सहायता प्राप्त गर्न नसके पनि रुपालीले आधा घण्टासम्म बाघको सामना गरेको बुझिएको छ ।

पछि केही स्थानीय र वनरक्षक आएर उनलाई अस्पताल लगिएको थियो ।

अहिले भारतीय मिडियामा उनको बहादुरीको खुबै चर्चा भइरहेको छ । मिडियाकर्मीहरूले उनलाई घर फर्किन कत्तिको डर लागेको छ भन्ने प्रश्नको उत्तरमा उनले आफू घर फर्किन व्यग्र रहेको बताइन्।

 

बिबिसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!