घाटाका दिन गए, यो वर्ष ५० करोड नाफा गर्छौं : महाप्रबन्धक पौडेल

काठमाडौं । उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले सरकारले उद्योगधन्दा र कलकारखाना नाफा कमाउन नभई नागरिकलाई सहज आपूर्ति, निर्यात प्रतिस्थापन र रोजगारी सृजनाका लागि सञ्चालन गरेको बताएका छन् ।

विशेषगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि सरकारले उद्योगधन्दा र कलकारखाना चलाउन हुँदैन भन्ने धारणा विकास हुँदा देशका दर्जनौ उधोगधन्दा कौडीको मूल्यमा बिक्री गरिएको थियो । भृकुटी कागज कारखानादेखि बाँसबारी छालाजुत्ता कारखानासम्म सबैलाई नाफा कमाउन नसकेको भन्दै विक्री गरिएका थियो ।

तर विगत तीन वर्षदेखि उदयपुर सिमेन्ट कारखानाकाे महाप्रबन्धक रहेका पौडेल भने यी  तर्क स्वीकार गर्न तयार छैनन् । राज्यले नाफाघाटाको हिसाब गरेर कुनै काम गर्दैन र गर्नु हुदैन भन्छन् पौडेल ।

‘नेपालमात्रै होइन भारतदेखि अमेरिकासम्म पनि राज्यले सञ्चालन गरेका केही सेवामूलक संस्था बाहेक अरुसबै नाफामा हुदैनन् ।’ महाप्रबन्धक पोडेलले भने,  ‘ यदि त्यसो हो भने त वीर अस्पताल पनि बन्द गरे हुन्छ ।’

विक्रम सम्बत २०४९ सालमा ६ अर्व रुपैया लागतमा जापान सरकारले निर्माण गरेको उदयपुर सिमेन्ट कारखानाको जडित क्षमता दैनिक आठ सय टन रहेको छ । दुई वषपछि नेपाल सरकारलाई हस्तान्तरण गरिएको कारखानाले पछिल्लो २० दिन दैनिक सात सय टन उत्पादन गरिरहेको पौडेले बताए ।

कारखानाको अहिलेको अवस्थाबारे महाप्रबन्धक पौडेलले भने, ‘यही अनुपातमा बाँकी तीन महिना उत्पादनले निरन्तरता पाएमा हामी यो वर्ष ५० करोड नाफा गर्छौ । त्यो व्याज र ह्रास कट्टी गरेर हो ।’

स्थापनाकाल ( २५ वर्ष) देखि उदयपुर सिमेन्ट कारखाना नोक्सानीमा नरहेपनि बाहिर केही समूह र व्यक्तिले ‘घाटा’ मा रहेको अपवाह फैलाएको पौडेलको भनाइ छ । उनले भने, ‘कारखाना अपरेटिङ लागतमा केहिल्यै पनि घाटामा छैन । तर व्याज र ह्रासलाई सालोडोलोमा हिसाब गर्दा आलोचकहरुले यस्तो भन्छन् ।’

उदयपुर सिमेन्ट कारखानाको अहिलेको समस्या साधन र स्रोत भएको तर बजारको भने कुनै कमी नरहेको उनले बताए । मुलुकमा यति बेला निजी क्षेत्रबाट दर्जनौ सिमेन्ट उद्योग खुले पनि बजारको भने समस्या नरहेको पौडेलको दाबी छ ।

‘नेपालमा उत्पादित सिमेन्टले कुल बजार मागको ५० प्रतिशत मात्रै आपूति गर्न सकेको छ । बाँकी भारतबाट आयात हुन्छ । नेपालको राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोशीमा ५८ प्रतिशत भारतीय सिमेन्ट प्रयोग भएको छ । त्यसैले बजारको केही कमी छैन ।’ पौडेलले भने, ‘चतरादेखि गाइघाटसम्म निर्माणधिन सड्कमा एक करोड बोरा सिमेन्टको आवश्यकता छ । हाम्रो कारखानाले बार्षिक ४० लाख बोला उत्पादन गर्छ । बजारको समस्या छैन ।’

नेपालमा सञ्चालित अधिकांश सिमेन्ट उद्योगले आवश्यक पर्ने कच्चा पदार्थ क्लिङकर भारतबाट आयत गदर्छन तर उदयपुर सिमेन्ट कारखानाले भने आवश्यक क्लिङकर आफै उत्पादन गर्ने गरेको पाैडेल बताउछन् ।

सरकारले सञ्चालन गरेका उद्योगलाई हेर्ने राष्ट्रिय नीतिको खाँचो रहेको बताइन्छ । हाल सञ्चालनमा रहेका र अब सञ्चालनमा आउनेलाई फरक फरक तरिकाले हेर्नु पर्ने पौडेलले बताए । करीब सँगसगै सञ्चालनमा आएकाे र केबल ५० टन उत्पादन क्षमताको फरक रहेका उदयपुर र हेटौडा सिमेन्ट कारखानाको निर्माण लागतमा भने ठूलो अन्तर छ ।

७५० टन क्षमताको हेटौडा सिमेन्ट कारखानाको निर्माण लागत जम्मा दुई अर्व हो भने ८०० टन क्षमताको उदयपुरको ६ अर्व । अहिले उदयपुरले भोग्नुपरेको प्रमुख समस्या भनेको ‘मर्मत र प्रतिस्थापन’ रहको पौडेलको भनार्इ छ । उनले भने, ‘२० लाखकोे कार किनेर ट्याक्सी चलाउनु र ८० लाखको गाडी किनेर ट्याक्सी चलाउनुमा आम्दानी उही हो नाफा कसमा बढी हुन्छ । त्यो शुरुमा सोच्नु पर्ने हो । २५ वर्ष पुराना मेसिनको मर्मत र जिर्ण हुँदै गरेका मेसिन प्रतिस्थापन गर्ने कार्य प्रमुख चुनौति हो।’

छ अर्व लागतमा निर्माण भएको कारखानामा दुई अर्व सरकारको लगानी र चार अव ऋण सहयोग हो । त्यसमध्ये व्याजसहित दुई अर्व कारखानाले सरकारलाई बुझाइसकेको छ । र दुई अर्बबारे विवाद रहेका बताउँदै पौडेलले भने, ‘पहिलेको सहमति पालना गर्ने हो भने अब सरकारलाई तिर्न पर्ने छैन । त्यही भएर हामीसँग भएर पनि नतिरेको हो ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!