अवसर र चुनौतिका बीच कम्युनिष्ट एकता

एसपी गौतम

कुनैबेला नेपालमा एउटै कम्युनिष्ट पार्टी थियो । १० वैशाख २००६ मा भारतको कोलकातामा ‘नेपाल कम्युनिष्ट पार्टी’ स्थापना भई अनेकौ टुटफुट र एकताबाट आजको दिनसम्म आइपुगेको छ ।

नेपाली कम्युनिष्ट आन्दोलन अहिले निर्णायक मोडमा छ । दुईवटा ठूला कम्यूनिष्ट पार्टी एमाले र माले एकताको गृहकार्य अन्तिम चरणमा पुगेको समाचारहरु आइरहँदा अब बन्ने नयाँ कम्युनिष्ट पार्टीको सिद्धान्त, नेतृत्व कसरी अगाडी बढ्छ भन्ने कौतुहलता सर्वत्र छ । एकताको लागि मात्र कि कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउने हो ? एकताले श्रमजीवी वर्ग र अन्य वर्गलाई कसरी सम्बोधन गर्छ ? एकता सिद्धान्तमा वा नेतृत्वको लहडमा ? यावत प्रश्नहरु उब्जिरहेको छन् । विगतका समयमा एकताको अभ्यास अन्य घटक र समूहहरुले पनि जारी नराखेका होइनन् । धेरै एकताहरु धेरै दिन टिकेन । यसबीचमा थुप्रै समूह एकिकृत विलय र सहमति भए र टुक्रिन पनि ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता अभियानलाई विगतकै एकता–टुटफुटको नियती नव्योहोर्ने आधारहरु व्यापक छलफल गर्न वाञ्छनीय छ ।

१. वैचारिक एकतापछि मात्रै संगठनात्मक एकता पार्टी एकताका लागि सैद्धान्तिक एकताको आधार के हो ?

जगबिनाको घर कसरी सम्भव हुन्छ ? वैचारिक एकताको मिलन विन्दु के ? यी यावत प्रश्नहरु स्वभाविक र महत्वपूर्ण छन् । अहिले माओवादी केन्द्र र एमालेभित्र अनेकौं समस्याहरुका चाङहरु छन् । एमालेभित्र समाजको विश्लेषणको सवालमा मतभेद छन् ।

महाधिवेशनले जतताको बहुदलीय जनवादलाई सिद्धान्तका रुपमा स्वीकारे पनि त्यो वर्तमान परिप्रेक्ष्यमा कार्यक्रममात्र भएको साथै परिमार्जन गर्नुपर्ने तर्क राख्ने नेता तथा कार्यकर्ताको ठुलो पंक्ति पनि छ । यसलाई २१ औं शताब्दिको समयानुकूल परिमार्जन गरेर लैजानुपर्छ भन्नेहरुलाई जवज हुबहु कायम राख्नुपर्छ भन्नेहरुले काउण्टर दिईरहेकै छन् ।

उता माओवादी केन्द्रभित्र ‘माओवाद’ वा विचारधारा के हो ? भन्ने बहस टुङगिएको छैन । तत्कालीन एकता केन्द्र (प्रकाश समूह) सँग एकता गर्दा नै बहसमा छिनोफानो गर्ने उल्लेख गरिए पति सत्ताको रापले वैचारिक पक्षमा सिन्को भाँचिएको छैन ।

माओ विचारधारा र माओवादको वकालत गर्ने समूहको कमी छैन । १५ वर्ष अघि च्यापिएको प्रचण्डपथ ब्युँताउनुपर्छ भन्नेको संख्या पनि कमी छैन । वैचारिक तथा सैद्धान्तिकरुपमा राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण, प्रधान शत्रु किराँत वर्गीय आन्दोलनको अवस्था र अवको दिशालाई पकड्ने सवालमा थुप्रै समस्याहरु छन् ।

माओवादीले महान जनयुद्ध भन्दै गरेको १० वर्षे सशस्त्र संघर्ष र त्यस क्रममा मारिएका शहिदहरुको विषयमा दुई पार्टी दुई किनारामा छन् । एमालेले जनयुद्ध बाहेक अर्को शब्द छोड्दा जनयुद्ध शब्द सुन्न नै चाहँदैन भने माओवादीले जनयुद्धबाहेक अर्को शब्द छोड्दा जनयुद्धबाट उठान माओवादी पंक्तिको परिचय नै गुम्ने अवस्था आउने भएकोले जनयुद्धबाहेक अर्को शब्द प्रयोग गर्न चाहँदैन ।

यस्ता थुप्रै विषयहरु छन् वैचारिक भिन्नताका । विचारको एकता नभई संगठानात्मक एकताले नेताहरुको व्यवस्थापन त क्षणिकरुपमा होला तर कम्यूनिष्ट आन्दोलनलाई गति दिन नसक्ने निश्चित प्राय छ । एकताको आधार सिद्धान्त नै हुनसक्छ अरु त प्राविधिक कुराहरु हुन् । एकताको सर्वोपरी सिद्धान्त विचार केवल केन्द्रमा रहने नेतृत्वले मात्रै निक्र्यौल गर्नेभन्दा पनि केन्द्रदेखि गाउँ तहसम्म वैचारिक बहस नचलाई गरिएको एकताले नेतृत्व पंक्तिलाई सन्तुष्टि बनाउन सक्छ । त्यो केवल प्राविधिक एकता हुनसक्छ ।

चुनावमा तालमेलको नाममा भजाइएको एकताको नाराले क्षणिकरुपमा त फाइदा पुर्याउला त्यसको दिर्घकालीन फाइदा हुन सक्दैन । वैचारिक एकताले मात्रै संगठनात्मक एकतालाई टेवा पुर्याउन सक्ने भएकोले वैचारिकरुपमा कार्यदिशा, पथप्रदर्शक सिद्धान्त र २१ औं शताब्दीमा हामी रहँदै गर्दा समाजवादको मोडलमा एकरुपता आवश्यक हो ।

कम्तीमा पनि एकतालाई दिनमात्र तोकेर एकताभन्दा पनि सबै तहमा व्यापक छलफल, गृहकार्य र मुर्तरुप पछिमात्र एकता गर्दा विगतका नियतीलाई नदोहोर्याउने परिपक्क आधार हुनसक्छ ।

अर्कोतर्फ दुवै पार्टीमा विद्यमान संगठानात्मक संरचनाहरु अस्तव्यस्त हुन् जो कामकाजीरुपमा जान सकिरहेका छैनन् । ती संरचनाहरुलाई एकता महाधिवेशनसम्म लैजान वैचारिक राजनैतिक कार्यदिशाले मात्र तय गर्न सक्छ । केवल नेतृत्वहरुको व्यवस्थापन विचार, सिद्धान्त र आन्दोलनको प्रकृतिले निर्देश गर्दछ । नेपाली श्रमजीवी जनताको परिवर्तन ल्याउनको निम्ति नयाँ बन्ने पार्टीको संगठनात्मक ढाँचामा पनि भरिवर्तन हुन जरुरी छ । जसले गर्दा सबै नेता कार्यकर्ताले यथेस्ट भुमिका प्राप्त हुनुपर्ने हुन्छ । पार्टी संगठन चलायमान हुने तथा पार्टी संगठन पंतिका अधिकतम कार्य चुस्तता ल्याउन महाअधिवेशन मर्फत एउटा समाजवादी कार्यक्रम कसरी ल्याउने ? वर्तमान अवस्थामा मजबुतरुपमा बनेको वामपन्थी सरकारको मोर्चा कसरी प्रभावकारी बनाउने नीति तथा कार्यक्रमहरुमार्फत मन्त्रीपरिषदबाट कसरी समाजवाद प्रतिबिम्बित गराउने विचारिन पक्षलाई सम्वोधन गर्न आवश्यक छ ।

साँच्चै कम्यूनिष्ट आएर अन्तर आयो है नेपाली समाजमा नेपाली श्रमजीवी जनताको जिन्दगीमा अन्तर देखा पर्यो भन्ने कुराले पनि भावि नयाँ वन्ने पार्टीको दिशा र दशालाई मजबुत बनाउन टेवा पुर्याउन सक्छ । तसर्थ केन्द्रदेखि गाउँ तहसम्म व्यवस्थित संगठन बलियो हतियार सावित वनाउन नयाँ पार्टीको चुनौति र अवसर हुन सक्छ ।

२. पूँजीवादको जगमा रहँदा समाजवादको मोडल के ?

वतमान नेपाली समाजमा चर्चा रहँदै आएको समाजवाद शब्द प्रयोग त भएको छ तर समाजवादको मोडल के हुने कुनै गृहकार्य भएको छैन । नेपाली समाजमा जनवादी क्रान्तिका कतिपय कार्यभारहरु पहिले नै पूरा भएका हुन् तर वर्गसंघर्षको दृष्टिकोणले नेपाली समाजमा अझै श्रमजीवी तथा तल्लो वर्गको धरातलमा काफी अन्तर आउन नसकेको सत्य हो ।

त्यसैले जनवादी क्रान्तिका वाकी कार्यभारहरु सामाजवादी कार्यक्रमहरुसँग कसरी जोडेर लैजाने ?

माओवादी केन्द्रको २१ औं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवाद प्रचुर शिक्षा लिएर आगामी समाजवादको मोडल तथा कार्यक्रमहरु तय गर्न आवश्यक छ । जवज र २१ औं शताब्दीको जनवादले यहाँसम्म ल्याएता पनि समाजवादको निम्ती अर्कै समाजवादले मोडल ल्याउनुपर्छ नै ।

समाजवादको मोडल कस्तो भन्ने शास्त्रीय बहसमात्रै भन्दा पनि नेपालको धरातलमा रहेर वहस गरिनु उपयुक्त हुन्छ । विश्व परिवेशलाई नियाल्दा सबै समाज एकै ठाउमा छैनन् । नेपालको सन्दर्भमा कुरा गर्दा भर्खरै सामन्तवादी युगबाट पूँजीवादी युगमा प्रवेश गरेर समाजवादको गोरेटो तय गर्न जग बसाल्दै छौं। पूँजीवाद एेतिहासिकरुपले पुरानो भइसकेकोले हाम्रो गन्तव्य समाजवाद नै हुन्छ । त्यसैले भोलिको निम्ती समाजवादको मोटामोटी खाका नयाँ बन्ने पार्टीले निर्माण गर्नुपर्छ । नेपालको सापेक्षतामा औद्योगिक र उत्पादनशील पूँजी तथा पूँजीवादको विकास गर्ने साथै त्यसलाई शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता जस्ता क्षेत्रमा जनताका अधिकारहरुलाई ग्यारेण्टी गरेर समाजवादसँग जोडेर लैजाने खालको मोडल अपनाउन उपयुक्त हुनसक्छ ।

यस अर्थमा पूँजीवादको विकल्प समाजवाद हो । त्यसका निम्ति हिजोका चीन, भियतनाम, रुस, क्युवा जस्ता देशका मोडेल र अभ्यासवाट सिक्नुपर्छ । तर त्यसैको पुनरावृत्ति नेपालको सन्दर्भमा हुन सक्दैन, त्योभन्दा अगाडि बढ्न सक्ने खालको समाजवादको मोडलको परिकल्पना आजको आवश्यकता हो ।

एकता समाजवादी क्रान्तिको आधार बन्न सकेमा विगतका टुटफुटका अनेकौं श्रृंखलाहरुमा पूर्णविराम लाग्ने छ भने नेपाल समाजवाद उन्मुख परिवेशमा फड्को मार्ने छ । विगतका नियतिहरुलाई नदोहोर्याउन दुई पार्टीबीचको एकताको गृहकार्य, वैचारिक, सांगठनिक एकता र योजनाले तय गर्ने छ । एकतालाई मजवुत वनाउन सवै तेतृत्ववर्ग र सरोकारवालाहरुको अझ भूमिका आवश्यक छ।

दुई पार्टीको एकताले नेपालमा छरिएर रहेका कम्यूनिष्टहरुलाई एकत्रित गर्ला ? वामपन्थीको मजबुत एकताले प्रजातान्त्रिक शक्तिहरुलाई रक्षात्मक बनाउन सक्ला ? यो सवालहरुको पटाक्ष एकतापछिको नयाँ पार्टीको गठन पश्चात नै हुनेछ । कामना गरौं यो एकताले विश्वमा रहेका श्रमजीवी तथा प्रगतिशील पार्टीहरुलाई शिक्षामात्रै होइन नेपाललाई नमुनाको रुपमा विकास गर्नेछ ।

 

कमेन्ट गर्नुहोस्