जनप्रतिनिधि वा धनप्रतिनिधि ?

उमेश बन्जाडे

सबैलाई अधिकार चाहिएको छ। ‘कर्तव्य के हो ?’ भन्दा पाखुरा सुर्क्याएको छ। थोरैमात्र तलमाथि हुँदा पनि जातीयता वा धार्मिकता जोडेको छ, अनि बेसुरमा जंगिएको छ । के देशमा सधैं यस्तैखाले गतिविधि जारिरहे भने हामीले खोजेको समृद्धि वा सुशासनको प्रत्याभूति गर्न पाँउला त ? रातले बिहानीको संकेत गर्छ भनेझैं देशमा चुलिँदै गएको यो बेथितिले फेरि पनि एउटा माहौलको भट्टी तताउँदै छ भन्ने आँकलन गर्न हिचकिचाउनु पर्दैन ।

पहिलो त नेपालको राजनीतिक परिवर्तन स्वभाविक हिसाबले भएन, अहिलेसम्म जनतालाई साधन मात्र बनाइयो । शहिदको खेती गरेर महिमा मण्डन गरियो।अँध्यारोमा रहेका प्रायोजकहरु, व्यापारीहरु निर्णायक बन्न पुगे ।

फलस्वरूप आजको दुर्भाग्य व्यहोरिरहेछौं । आजको समयमा अधिकारको नाउँमा केन्द्रको लुटतन्त्र स्थानीय स्तरमा फ़ैलिंदै छ । पहिले केन्द्रमा मात्रै लुटिन्थ्यो भने त्यो प्रक्रिया विकसित भएर स्थानीय तहसम्म आइपुगेको छ । कहींकतै बाहेक जनप्रतिनिधि भनिएकाहरु डरलाग्दो तरिकाले धन प्रतिनिधिको रुपधारण गरिरहेका छन् ।

उमेश बन्जाडे

घुसखोर, कमिशनखोर र महासामन्तहरु जन्मिरहेका छन्। गाउँबस्ती टोलटोलमा दलालहरुको हाली मुहाली छ भने नैराश्यताको भारी बोकेर सपना पूरा गर्ने अभिष्टमा दैनिक हजारौं युवाहरूले देश छाड्ने क्रम बढ्दो छ । राष्ट्रिय ढुकुटीमा आहाल बस्नेहरु फगतमा सन्किएर रेल र तेलका सगुनहरुमा जनजा लठ्याउँदै समाजवादको यात्रा तय भएको ठान्दैछन । ग्रामीण भेगका गाउँमा सिटामोलको हाहाकार छ, डाक्टर भएपनि स्वस्थ्य चौकीहरु रित्तो बसेका छन, सामान्यरुपमा ट्याक्टर कुँदनेसम्म बाटो छैन । अघिल्लो पटक खाएको शपथ नसेलाउँदै ‘देशभर तुईनमा झुन्डिएर यात्रा गर्नुपर्ने समय गयो’ भनेर वचनवद्धता गरेका केपी शर्मा ओली अर्को पटक प्रधानमन्त्री बनिसके, तर अहँ कयौं ठाउँमा स्कुले नानीहरु जीवन जोखिममा राख्दै तुईन तरेर खोलाहरु छिचोल्छन्, त्यसको वास्ता बेस्ता छैन, बरु जतिसक्दो चाँडो रेल नै कुँदाउने धाउन्नमा छन् उनी, त्यसैले फुर्सद नभएको पनि हुन सक्छ ।

विडम्बना त के भने, यहाँ मान्छेले कसरी सहजरूपमा बाँच्न पाउने भन्ने विषय भन्दा, रेल अनि पानी जहाज कुँदाउने विषय प्रमुख बनेको छ।

देशका जिम्मेवार निकाएहरु भ्रष्टाचारमा लिप्त छन् । साधारण कामको लागि प्रशासन धाउने सामान्य नागरिकले हाकिमहरुको कम्तीमा दश पटक हप्काई खानुपर्छ, जतासुकै घुस्याहा र ठालुहरुकै रामराज्य छ । अनि हामीले कुनचाहिं परिवर्तनको डंक पिट्नु ? हिजो आमूल परिवर्तनका लागि भन्दै पोखिएको रगतको अवमूल्यन गर्दै ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना पिपल फेँदीमा जल चढाएर प्राप्त भएको व्यवस्था’ ठान्दछन भने यो व्यवस्थालाई कसरी जनताको व्यवस्था भन्नू ? राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने साधानहरु पूरानै व्यवस्थाको हितमा काम गरिरहेका छन् ।

नेपालमा राजनीतिक परिवर्तन पटक–पटक भएपनि राज्यका मेसिनरीमा कहिलै परिवर्तन भएन । उनीहरु न जनताको नियन्त्रणमा छन् न त जनताको सेवकको रुपमा काम गरिरहेका छन्, न जनताप्रति जवाफदेहीता नै छ । बरु उनीहरु पीडक र शासकको रुपमा काम गरिहेका छन् ।

‘मार्क्सवादी सिद्धान्तलाई आंगिकार गर्छौं, हामी नै नेपालका सर्वमान्य मार्क्सवादी संगठक हौुं भन्दै डुग्रीनेहरुले, समग्र कम्युनिस्ट युद्ध, आन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई बडो नमिठो र पट्यारलाग्दो ढङ्गबाट आफु केन्द्रीत बनाए । सधैं आफ्नै वरिपरि रिँगाए । नयाँ व्यवस्थाको नामाकरण गरिएता पनि ठाउँमा पुरानै वर्ग र मान्छेहरुको रजगज चल्यो । कहींकतै देखाउनकै लागि वा पहुँचका भरमा निर्णायक थलोमा पुगेका उपेक्षित वर्गका प्रतिनिधिहरु पनि आफ्नै दुनो सोझ्याउन केन्द्रित बने ।

हिजो राज्यसत्ताबाट अपहेलित हुँदाहुँदै पनि शान्त रहेको जुन वर्गलाई जनयुद्धको नाममा फकाएर वा थर्काएर उठ्न सिकाइयो, अधिकार मागेर नपाए खोसेर लिनुपर्ने पाठ पढाइयो, हकहितका निम्ति आइपरे बलिदान दिनपनि सुझाइयो, फलतः त्यही वर्गले अहिले थोरै चिप्लिन खोज्दा पनि अठ्याई रह्यो। अलिकतिमात्रै रानिकानी नमिल्दा घुर्क्याइरह्यो । खबरदारी गर्ने बहानामा गोरु चुटेर हलो अट्क्याई रह्यो ।

वर्षौंदेखि राज्यद्वारा उपेक्षित वर्गलाई बोल्न र अधिकार माग्न सिकाइयो साथसाथै कर्तव्य र बोध गम्य हुन भने सम्झाइएन । न हिजो सर्वश्व जनताका नाममा भनेर कुर्लिएकाहरु सत्तामा पुगेर जनउत्तरदायी बन्नसके न त अधिकार खोज्नेहरुले ‘अर्काको आस्थामा ठेस पुर्‍याउनुहुँदैन है’ भनेर गम्भीरता देखाउन सके । यसैको ज्वलन्त उदाहरण हो वर्तमान अवस्थामा देखिएका जातीय तथा धार्मिक आस्थाका असन्तुष्टिहरु ।

हिजो कहालीलाग्दो जनयुद्धको अध्याएबाट आएकाहरुपनि आजको यो बेथितिको भागिदार बन्नैपर्छ ।

‘नाफाको जिन्दगी मस्तिगर्छुु भन्ने सोचाईले व्यक्तिगत जीवनमा बहार त ल्याउला परन्तु त्यो दिगो हुन सक्दैन र त्यसले देशलाई समेत भलो गर्नेछैन । राजनीतिमा सिद्धान्त र दर्शन साधन हुन् यसर्थ निष्ठावान भई सिद्धान्तको सिर्जनशील प्रयोग गरिनुपर्दछ । राजनीतिको साध्य त समाज, राष्ट्र र सम्पूर्ण मानवजातिको मुक्ति अनि रूपान्तरण नै हो। निष्ठा, त्याग र बलिदानको कसीमा, आफुुुलाइ कति प्रतिफल प्राप्त भयो या भएन यो गौँण महत्वको कुरा हो ।

आफू बाँचेको समाज र समयमा कति रूपान्तरण भयो, यो चाहिँ प्रधान कुरा हो । रूपान्तरण फ्याट्ट फित्कौलीले हानेर प्याट्ट झिँगा मारेजस्तो सजिलो प्रकृया होईन । एउटा दीर्घकालीन सचेत अभियान र धैर्यपूर्वक हिँडिने लम्बेतान बाटो हो। हिजो निर्णायक ठाउँमा पुग्न पाइन भनेर उधिनपुत्योल मच्चाउने र आज पुगेपछि जनताका आधारभूत समस्यामा समेत बेवास्ता गर्नु नै नेपाली राजनीति भित्रको ठूलोरोग र दुर्भाग्य बनेकोछ।

स्मरण रहोस् सत्ता बाहिरहुँदा बारम्बार जनता सम्झने जनप्रतिनिधिहरु सत्तामा पुगेपछि सधैं यसरी नै जनता बिर्सिदै धनप्रतिनिधी तर्फ फड्को मार्दै गएभने सायद देशसँगै उनिरुको राजनैतिक भविस्यपनि त्यति उज्यालो उन्मुख पक्कै नरहला।

लमही दाङ, हालस् क्वालालम्पुर, मलेसिया

कमेन्ट गर्नुहोस्

error: Content is protected !!