अमेरिकी राष्ट्रपति ट्रम्प सिरियाबाट फौजहरू फिर्ता मञ्जूर !

काठमाडौं, बैशाख ३ । फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोँले आफूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सिरियाबाट फौजहरू फिर्ता नगर्न मञ्जूर गराएको बताएका छन्।

यसै महिनाको सुरुमा राष्ट्रपति ट्रम्पले त्यहाँ अहिले परिचालित झण्डै दुई हजार फौजहरू फिर्ता बोलाउने बताएका थिए।

तर फ्रान्सका पत्रकारहरूसँग कुरा गर्दै माक्रोँले शनिवार हवाई हमला सुरु गर्नुअघि आफूले ट्रम्पसँग कुराकानी गरेको र दीर्घकालसम्मका लागि उक्त द्वन्द्वमा जोडिरहन सहमत गराएको बताए।

माक्रोँले संयुक्त राज्य अमेरिका, फ्रान्स र ब्रिटेनले गरेको हवाई हमलाहरू वैधानिक भएको पनि उल्लेख गरेका छन्।

उनले सिरियाले रासायनिक अस्त्र प्रयोग गरेको भन्ने आरोपबारे रुसले अड्को थप्दा कूटनीतिक ढंगले त्यस्ता हमला रोक्ने अन्तर्राष्ट्रिय समुदायको क्षमता कमजोर भएको पनि बताए।

निरन्तरता

यसैबीच सिरियाली सेनाले सरकार विरोधी फौजहरू विरुद्ध होम्स र हामा शहर आसपासका कारबाहीलाई निरन्तरता दिएको छ।

द्वन्द्व पर्यवेक्षकहरूले त्यहाँ २८ वटा हवाई आक्रमण भएको र गोलाबारी समेत जारी रहेको उल्लेख गरेका छन्।

एउटा सहायता समूह ‘ह्वाइट हेल्मेट्स’ले रकेट हमलामा एक जना बच्चा मारिएको जनाएको छ।

यसअघि राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले वासिङ्टनले राष्ट्रपति बशर अल असदसँग सम्बन्ध रहेका रूसी कम्पनीहरूविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरेको बताएकी थिइन्।

उनले अमेरिकी अर्थ मन्त्री स्टिभ मनुसिनले नयाँ प्रतिबन्धहरूबारे सोमवार जानकारी दिने जनाएकी छन्।

कमेन्ट गर्नुहोस्