३३ किलो सुनकाण्ड थप रहस्यमयः तीनको मृत्यु, १७ समातिए, एसएसपीमाथि छानविन

विराटनगर । मोरङको उर्लाबारीका सनम शाक्यको हत्या र उनको हत्याको कारण मानिएको ३३ केजी सुन गायब प्रकरणमा केही सुन व्यापारीसहित तीन दर्जन व्यक्तिहरु अनुसन्धानमा तानिएका छन् । सनमको हत्या आंशकामा तानिएकाहरुको सबै सम्पत्ति रोक्का गरी अनुसन्धान थालेको प्रहरीले १७ जनालाई हिरासतमा लिइसकेको छ भने २१ जना फरार छन् ।

सुन गायब पारेको भन्दै भरिया रहेका शाक्यको हत्या भएपछि गृहमन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानविन टोली गठन गरेको छ । प्रहरी प्रधान कार्यालयको छुट्टै टोलीले पनि छानविन गरिरहेको छ । सहसचिव पौडेल नेतृत्वको टोलीले सुन गायब पार्ने प्रकरणमा प्रहरी उच्च अधिकारीको पनि संलग्नता रहेको भन्दै महानगरीय प्रहरी परिसर प्रमुख दिवस लोहनीसहित उच्च प्रहरी अधिकारीलाई निलम्बनको सिफारिस यसअघि नै गरिसकेको छ । सिफारिसअनुसार लोहनी जिम्मेवारीबाट हटाएर प्रहरी हेडक्वार्टर तानिएका छन् ।

छानविन टोली पूर्वी नेपाल आएपछि ३८ जनाको सम्पत्ति रोक्का गरी उनीहरुमाथि अनुसन्धान थालेको प्रहरी उच्च स्रोतले बताएको छ । उर्लाबारी मोरङ घर भएका शाक्यको हत्यापछि खुलेको ३३ किलो सुन काण्डमा प्रहरीकै संलग्नता भएको आशंकामा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । दुबईबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन गायब पारेपछि तस्करीमा संलग्नहरुले सुन खोजी गर्ने क्रममा यातना दिँदा भरिया शाक्यको हत्या भएको थियो ।

सो घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका दुई जनाको प्रहरी हिरासतमै रहस्यमयी रुपमा मृत्यु भइसकेको छ । प्रहरीले चैत २६ गते अनुसन्धानका लागि ३८ जनाको सम्पूर्ण कारोबार रोक्का गर्न अदालतसँग अनुमति मागेको थियोे । अदालतले सोही दिन नै बैङ्क खाता र जग्गालगायत सबै सम्पत्ति रोक्का गर्न अनुमति दिएको थियो । गत चैत २६ गते मोरङबाट पक्राउ परेका १७ जनाविरुद्ध

अनुसन्धानकालागि म्याद थप गरिएको छ । त्यसबाहेकका अन्य २१ जनामाथि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएका १७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा ‘संगठित अपराध तथा अपहरण गरी कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । प्रहरीले धरानबाट ‘चाचाजी’ भन्ने महाबिर गोल्यान, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङे, हेमन्त गौतम, पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लालबहादुर मगर, राजु महर्जनलाई नियन्त्रणमा लिएको छ । त्यस्तै मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे पक्राउ परेका छन् । जिल्ला अदालत मोरङबाट उनीहरुमध्ये गोल्यानलाई चैत २५ गतेबाट १६ दिन र अन्यलाई चैत २६ गतेबाट लागू हुनेगरी १५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

फागुन १९ गते सनमकोे शव राखिएको स्कारपियो गाडी विराटनगर–३ मा फेला परेको प्रहरीले बताउँदै आएको छ । अार्थिक अभियान दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!