लघुकथा: देउताहरूको इच्छा

भुवन निस्तेज

“अब घर जानु पर्छ ।” अगुवाले भन्यो ।

“कुन घर ?” पछ्याइरहेकाले प्रश्न तेर्स्यायो, “हामी त नयाँ संसारको खोजीमा हिंडेकाभन्नुहुन्थ्यो त?”

“हो तर अब घर फर्किनु पर्छ ।” अगुवाले कुनै कारण बताएन ।

“अनि नयाँ संसारवाला कुरा नि? फेरि हामीहरूले उल्लेखनीय यात्रा पुरा गरिसकेका छौं । यस्तोमा हामीले आजसम्म पार गरेका भिर, पाखा, गाह्रा, अप्ठ्यारा र यत्रो यात्राका उपलब्धिहरूको फेहरिस्तहरू के गर्ने त ?” अर्को पछ्याइरहेकाले जिज्ञासा थप्यो ।

“ती सबैको अभिलेख राखिएको छ । हाम्रा यस यात्राका अनुभूतिहरू भविष्यमा हाम्रा लागि उपयोगी सिद्ध हुनेछन ।” अगुवाले स्पष्टीकरण दियो ।

“त्यसो भए के हामी पुरानै परिवेशमा फर्किने त ?जसलाई फेर्न हिजो हामीले त्यत्रो कष्टसाध्य यात्रा थालेका थियौं ।” एउटा अर्को पछ्याइरहेकाको प्रश्न ।

“हो… ”, अगुवाको चिसो संवेदनहीनजवाफ ।

“त्यसो भएत्यो जोखिमपूर्ण यात्राथाल्नुको के औचित्यथियो त? फेरि हमीले जे जे गुमायौं त्यसको के हुने ?” यो अर्कैको प्रश्नथियो ।

साथीहरू ! साथीहरू !! साथीहरू !!!” उसले सम्झाउने पारामा भन्यो, “यो अधीरता त्याग्नुस् । सब ठिक हुन्छ । त्यो जोखिमपूर्ण यात्रा र त्यो गुमाई उचित क्षतिपूर्तिद्वारा प्रतिस्थापित गरिनेछ ।”

“क्षतिपूर्ति ? यस प्रकारको यात्राको क्षतिपूर्ति लक्षप्राप्तिबाहेक अरु के नै हुन सक्छ र ?” फेरि एउटा जिज्ञासा ।

“यहाँको कुरो सही हो, तर प्रतिकूल परिवेशमा यात्रा जारी राख्नु पनि त बुद्धिमानी होइन । हेर्नुस हाम्रो यात्रा अवधिको समग्र आर्जन पनि त अर्थपूर्ण छ ।” अगुवाले आकास तिर हेर्दै भन्यो, “हेर्नुस हामीहरू खुला मैदानमा छौं र मौसमले भीषण असिनापातको संकेत गर्दैछ । त्यसैले आऔं हामी एकपल्ट हाम्रो सहयात्रामा निभ्नपुगेका दियाहरूको नाममा एक मिनेट मौन धारण गरौँ र फर्किऔं ।”

यात्रुहरुको भीडबाट एउटा गम्भीर तर संयमित स्वर सुनियो, “महामहिम अगुवा, यो त वस्तुगत आँकलन भएन । जुन असिनापातको सम्भाव्य आतंकबाट तपाईं यो यात्रा रोक्ने निर्णयमा पुग्नु भएको छ त्यसै प्रकृतिका सयौं असिना झरीहरूसँग पैंठाजोरी खेल्दै हाम्रो यात्रा यो स्थानसम्म पुगेको छ । हाम्रा टाउकामा यी टुटुल्का, करङमा काम्रा हेर्नुस् हामीले पथका दुर्दान्त अवरोधहरू डटेर पन्छाएका छौं । आज अचानक यो यात्रा रोक्नुको अभिप्राय के ?”

एकछिन अडिएर अगुवाले भन्यो, “समादरणीय आदि-जिगीशु ! यहाँको मत हाम्रो समुहमा सधैं सम्मानित रहन्छ । तर मैले वस्तुस्थितिलाई मद्देनजर गरेर नै यो निर्णय लिएको हुँ ।” उसले लामो सास तान्दै माथितिर हेर्दै भन्यो, “फेरि आकाशका देउताहरूको पनि यस्तै इच्छा छ ।”

एक छिन समुहमा मौनता छायो । सबै फर्किए । र, यात्रा टुंगियो । तर एउटा नवयुवक त्यहीं अडिइरह्यो । उसमा पछाडि फर्किने साहस आएन । उसले सोच्यो, “परिवेश यात्रा थालिंदा पनि यस्तै थियो । र, आकाशका देवताहरूको इच्छा ऊ बेला पनि यात्रा अनुकूल थिएन ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!