जहाँ हिन्दू र शिखले मस्जिद बनाउँदैछन्

भारतमा साम्प्रदायिक हिंसाका घटना पटक-पटक भइरहन्छ। तर पञ्जाबस्थित एउटा गाउँले धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भावको गतिलो उदाहरण पेश गरेको छ।

मिस्त्री नाजिम खानले पञ्जाबको मूम गाउँमा शिव मन्दिरको निर्माण गरिरहेका बेला उनको मनमा एउटा कमी महसुस भयो।

मुस्लिम भएर शिव मन्दिरको निर्माण गरिरहेका नाजिमको गाउँमा एउटा पनि मस्जिद थिएन, जहाँ गएर उनी नमाज पढ्न सकून्।

४० वर्षीय नाजिमले भने, “हामीसँग नमाज पढ्नका लागि मस्जिद छैन। पाहुनाहरू हाम्रो घरमा आउँदा निकै अप्ठ्यारो महसुस हुन्छ।”

गाउँमा मस्जिद नभएको कुराले उनको मनमा जरा गाड्दै गयो।

एकदिन उनले आफ्ना गाउँका चार सय मुस्लिमहरूका माझ मस्जिद बनाउनुपर्ने प्रस्ताव राखे।

तर गरिबीका कारण मस्जिदका लागि जग्गा खरिद गर्न सक्नु उनीहरूको सामर्थ्यबाहिरको विषय थियो।

त्यस क्षेत्रका अधिकांश मुस्लिमहरू अशिक्षित छन्, जो ज्यालादारी गरेर गुजारा चलाउँछन्।

त्यहाँका करिब चार सय हिन्दु र चार हजारभन्दा बढी शिखहरूको आर्थिक अवस्था चाहिँ निकै राम्रो छ।

१८ महिनापछि शिव मन्दिरको निर्माण सम्पन्न हुनेवाला थियो। त्यसैबेला नाजिमले एउटा अभूतपूर्व कदम चाले।

यसै वर्षको शुरूतिर नाजिम मन्दिर व्यवस्थापक समितिका पदाधिकारीहरूकहाँ गए।

र, उनले भने, “छिट्टै तपाईँहरूको एउटा नयाँ मन्दिर हुनेछ र नजिकै एउटा पुरानो मन्दिर पनि छ। तर हामी मुस्लिमहरूका लागि एउटा पनि मस्जिद छैन। के तपाईँहरू मस्जिद बनाउन हामीहरूलाई सानो जग्गा उपलब्ध गराउन सक्नुहुन्छ?”

त्यसको एक हप्तापछि मन्दिर व्यवस्थापक समितिले मन्दिरसँगैको ९०० वर्ग फीट जग्गा दिने निर्णय सुनायो।

मस्जिद

त्यो निर्णय सुनेपछि नाजिमले भने, “म निकै खुशी भएँ, आभार प्रकट गर्नका लागि मसँग कुनै शब्द थिएन।”

मन्दिर व्यवस्थापक समितिका एकजना सदस्य समेत रहेका आयुर्वेद चिकित्सक पुरूषोत्तम लालले भने, “त्यो निकै जायज माग थियो। हामी यहाँ दुःख-सुख बाँड्छौँ। तर मुस्लिमहरूको एउटा पनि मस्जिद नहुनु अन्याय जस्तै थियो।”

नाजिमसहितका मिस्त्रीहरूले अहिले निर्माण गरिरहेको मस्जिद दुई महिनापछि तयार हुनेछ, जहाँ मुस्लिमहरूले अब नमाज पढ्न पाउनेछन्।

गुरूद्वाराको पर्खालसँग जोडिएर बनिरहेको उक्त मस्जिदको निर्माणमा शिख समुदायले आर्थिक सहयोग गरिरहेको छ।

अब त्यहाँ मन्दिर, मस्जिद र गुरूद्वारा सँग-सँगै हुनेछन्।

भारतमा अल्पसंख्यकमाथि अन्याय हुने गरेको गुनासाका माझ यो गाउँले धार्मिक सहिष्णुता र सामाजिक सद्‌भावको एउटा दुर्लभ उदाहरण पेश गरेको छ।

तीनवटा समुदायका मानिसहरू मिलेर बस्दै आएको मूम गाउँमा अहिलेसम्म साम्प्रदायिक तनावको कुनै घटना भएको इतिहास छैन।

सबै समुदायका मानिसहरू एकअर्काको धार्मिकस्थलमा विना रोकटोक जान पाउँछन्।

यहाँका अधिकांश हिन्दुहरू शिखहरूको गुरूद्वारा जान्छन् भने कतिपयले त टाउकोमा शिखहरूको परम्परागत फेटा पनि बाँध्छन्।

उनीहरू अर्को समुदायको चाडपर्वमा पनि सक्रियताका साथ सहभागी हुन्छन्।

एकजना शिख जानकार सुरजीत सिंह हिन्दुहरूको कतिपय धार्मिक कार्यक्रम शिख हलमा हुने गरेको बताउँछन्।

उनी थप्छन्, “मानिसहरूले यो ठाउँलाई गुरूद्वाराको रूपमा मात्रै नभइ सामाजिक कार्यक्रम आयोजना स्थलका रूपमा पनि हेर्दछन्।”

पेशाले शिक्षक भरत शर्मा मन्दिरका गतिविधिमा सक्रिय रहिआएका छन्।

उनी भन्छन्, “हामी निकै भाग्यमानी छौँ कि हामीबीच मतभेद वा विभाजन ल्याउन सक्ने कोही राजनीतिक नेता छैनन्।”

“पहिल्यैदेखि यो गाउँमा भाइचाराको भावना रहिआएको छ। अतः मस्जिद बनाउनका लागि जग्गा दिने निर्णयमा पुग्न हामीले लामो समय लिएनौँ।”

मस्जिद

उनको तर्क छ, “यदि नेताहरू नभइदिएको भए भारत र पाकिस्तानका जनताबीच पनि कुनै प्रकारको द्वेष हुने थिएन।”

मस्जिद निर्माणका लागि जग्गा दिने अथवा आर्थिक सहायता उपलब्ध गराउने निर्णयलाई लिएर त्यहाँ कसैको मनमा कुनै असन्तोष छैन।

अधिकांश हिन्दुहरूमा निर्माणाधीन मस्जिद मुस्लिमहरूको मात्रै नभइ सिङ्गो गाउँको हुने धारणा पाइन्छ।

तर उदाहरणीय धार्मिक सहिष्णुताका बावजुद भाइचाराको एउटा सीमा पनि छ।

आफ्ना छोरा वा छोरीको बिहेवारी अर्को समुदायमा गर्न सक्नुहुन्छ भन्ने जिज्ञासामा आश्चर्यजनक जवाफ सुन्न पाइन्छ।

शिख पञ्चायतका सदस्य चुहर सिंह भन्छन्, “हेर्नुस् आपसी भाइचारा आफ्नो ठाउँमा छ। तर शिख र मुस्लिमहरू फरक धर्मका हुन्। अतः दुई समुदायबीच बिहेवारीको कुरा स्वीकार्य हुँदैन।”

मस्जिद

त्यसमा भरत शर्मा थप्छन्, “यस्तो न कहिले विगतमा भएको थियो न भविष्यमा हुनेछ।”

भारतका कतिपय ठाउँमा साम्प्रदायिक तनावका घटना बारम्बार हुने गरेको पृष्ठभूमिमा धार्मिक सहिष्णुता एवं सामाजिक सद्‌भावको हिसाबले पञ्जाबको यो गाउँ स्वर्गभन्दा कम छैन।

भरत शर्मा भन्छन्, “ईश्वर हरेक ठाउँमा हुन्छन्, चाहे त्यो गुरूद्वारा होओस्, मन्दिर होओस् अथवा मस्जिद।” बीबीसी

कमेन्ट गर्नुहोस्