उच्च रक्तचापबाट कसरी छुटकारा पाउने ?

डा. सुमन लामिछाने

रक्तचाप भनेको हाम्रो शरिरका धमनीहरुमा बगिरहेको रगतले यसका भित्ताहरुमा पुर्याउने चापलाई बुझिन्छ । उच्च रक्तचापको समस्या आजको समयमा मानिसहरुको जीवनशैली जस्तै भइसकेको अवस्था छ ।

तपाईँ–हाम्रो घरछिमेक, परिवारमा कोही न कोही उच्च रक्तचापका बिरामी भेट्छौँ । उच्च रक्तचापको बारेमा मानिसहरुमा जति चेतना छ, त्यति नै मात्रामा भ्रम देखिन्छ । यिनै भ्रम निराकरण गर्न उच्च रक्तचापका बारे केही तथ्यहरुको बारेमा प्रकाश पार्न चाहन्छु।

मेरो रक्तचाप सामान्य कि बढी ?

कतिसम्मको रक्तचापलाई सामान्य मान्ने र कतिलाई उच्च भन्ने बारेमा पनि जनमानसमा जानकारीको कमी भएको पाइन्छ । कोही पनि व्यक्तिलाई सामान्य रक्तचाप कति हो भनि सोध्यो भने सम्भवतः (यदि उ केही हदसम्म जानकारी राख्ने खालको हो वा आफू वा नजिकको कोही उच्च रक्तचापको रोगी भएको होस्) १२०ः८० भन्ने जवाफ आउन सक्छ । तर, एउटै अंकले सबै व्यक्तिको रक्तचापलाई प्रतिनिधित्व गर्छ भनी भन्न मिल्दैन।

यो भन्दा ज्यादा हुँदा केही सतर्क हुनु जरुरी छ भने, योभन्दा कम हुँदैमा रक्तचापलाई असामान्य मान्न मिल्दैन । कुनै पनि व्यक्तिको शारीरिक बनावटले पनि रक्तचापमा धेरै प्रभाव पार्दछ ।

समग्रमा हेर्दा हाम्रो जस्तो परिवेशमा ९०–६० सम्मको रक्तचापलाई सामान्य मान्न सकिन्छ, यदि पहिल्यैबाट त्यही आसपासमा रक्तचाप भएको अवस्थामा। तर, यदि पहिला त्योभन्दा २०–३० अङ्कले ज्यादा भएको रक्तचाप घटेर कम अंकमा आएको छ भने केही समस्या हुन सक्छ । सामान्य र बढी रक्तचाप छुट्याउने बिभिन्न निर्देशिकाहरु छन् जसमध्ये सबैभन्दा उपयोगी मानिएको भनेको ज्वाइन्ट नेशनल कमिटी (जे.एन.सी)को वर्गीकरण हो।

रक्तचापको वर्गिकरण

तसर्थ, यदि कसैको रक्तचाप सामान्य वर्गमा पर्छ भने उसले बेला बेला नियमित स्वास्थ्य जाँच गराए पुग्छ। कसैको रक्तचाप पूर्व उच्च वर्गमा छ भने उसले खानपान र जीवनशैली परिमार्जनमा लाग्नुपर्छ तथा जोखिम कारक तत्वको निराकरण र न्युनिकरण मा लाग्नु पर्छ। यस अवस्थामा विचार पुर्याउन सके औषधिको प्रयोग बिना नै रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ तर यदि रक्तचाप निरन्तर बढ्दो क्रममा छ भने चिकित्सकको सल्लाह लिन ढिलो गर्नुहुदैन। कसैको रक्तचाप माथिका दुई वर्गभन्दा अन्य भए तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ।

मेरो रक्तचाप बढी छ, तर मलाई केहि पनि हुदैन, किन डाक्टरको सल्लाह लिनुपर्यो र ?

रक्तचापका बिरामी जति हुन्छन्, त्यसको निकै कम मात्रै बिरामीले उपचार लिने वा पाउने गरेका छन्। यसो हुनुका कारण स्वास्थ्य सेवा उपलब्ध नभएर त्यसो भएको हैन। रक्तचापले प्रायस्जसो व्यक्तिमा केही पनि लक्षण देखाउँदैन र प्रायस् बिरामीहरु अरु कुनै कारणले स्वास्थ्य संस्था जाँदा रक्तचाप बढेको पाइने गरेको छ। तसर्थ, केही पनि लक्षण नभएपनि रक्तचाप बढेको हुनसक्छ, बेला बेला मा जाँच गराइरहनुपर्छ बिशेषगरि कुनै जोखिम कारक तत्व भएको खण्डमा। कारक तत्वहरुका बारेमा तल चर्चा गरिएको छ।

कुनै पनि लक्षण नदेखिने भएकाले नै समुदायमा जति बिरामी छन्, त्यसको सानो हिस्सा मात्रै उपचारका लागि आउने गरेका छन्। यसलाई पानीमा भएको बरफको ढिक्का सँग तुलना गरिन्छ, जसको सानो हिस्सा मात्रै पानीमाथि देखिन्छ । रक्तचापलाई त्यसैले सुषुप्त हत्याराको नामले पनि चिनिन्छ। उपचार नपाएका अनियन्त्रित उच्च रक्तचापका बिरामीहरु अन्ततः थाहै नपार्इ हृदयघात, मस्तिष्कघात, मृगौलाको रोग वा अन्य जटिलताले गर्दा मृत्युको मुखमा पुग्ने गरेका छन्, मृत्यु नभएपनि कठिन वा अशक्त जीवन झेल्न बाध्य हुनु परेको त हामीले देख्दै सुन्दै आएका छौँ।

कारक तत्वहरुः

अचम्मको कुरा के छ भने, यति धेरैले झेल्नुपरेको यो समस्याको ९५ प्रतिशत रोगीको कारण पत्ता लाग्दैन केवल ५ प्रतिशत उच्च रक्तचापको मात्र कारण पत्ता लाग्छ, जुन प्रायस् अन्य कुनै रोगका कारण बढेको हुन्छ। कुनै कारण नभएका उच्च रक्तचापलाई एसेन्सियल हाइपरटेन्सन नामाकरण गरिएको छ। यसका कारणका बारेमा पूर्ण रुपमा पत्ता लगाउन नसकिएपनि बिभिन्न कुराहरुलाई यसका कारक तत्वका रुपमा लिइएको छ।

उच्च रक्तचापको जोखिम बढाउने कारक तत्वहरु मूल रुपले दुई किसिमका छन्। पहिलो वर्गमा न्युनिकरण गर्न नमिल्ने कारक तत्वहरु पर्दछन् जस्तैस् बढ्दो उमेर, पुरुष लिङ्ग, जातिबिशेष (काला जातिमा धेरै जोखिम), बाबु–आमा वा परिवारका सदस्यमा उच्च रक्तचाप आदि। दोस्रो वर्गमा न्युनिकरण गर्न सकिने कारक तत्व हरु पर्छन जस्तैस् मोटोपना, शरिरमा बोसो तथा कोलेस्ट्रोलको मात्रा ज्यादा हुनु, धुम्रपान तथा मादक पदार्थ सेवन, कम शारिरिक कसरत, धेरै नुन सेवन गर्नु आदि। पछिल्लो वर्गका कारक तत्वहरु न्युनिकरण गरेर उच्च रक्तचाप बाट बच्न सकिन्छ जसका बारेमा तल चर्चा गरिएको छ।

समस्या कसरी पत्ता लगाउने

उमेर ढल्किदै जाँदा आजको समयमा बेला बेला मा रक्तचापको जाँच गरिरहनु जरुरी हुन जान्छ। माथि भनेजस्तै रक्तचापले कुनै लक्षण लिएर आँउदैन, कसै कसैमा मात्र टाउको दुख्ने, रिङ्गटा लागेजस्तो हुने देखिन्छ। रक्तचापको नियमित परिक्षण गराउनु नै यसको सबभन्दा उत्तम उपाए हो। सामान्यतयास् एकै पटक परिक्षण गर्दा पाइएको उच्च नापलाई भन्दा पनि पटक पटक को परिक्षणमा नापिएको रक्तचापको बढी महत्व हुन्छ। एक हप्ताको फरमा कमसेकम तीन पटकको परीक्षणमा बारम्बार उच्च आयो भने तपाईँलाई उच्च रक्तचाप भएको निदान हुन्छ, अन्य कुनै जटिलताको सिर्जना नभइसकेको अवस्थामा। तर कुनै पनि परिक्षणमा उच्च रक्तचाप देखियो भने चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।

व्हाइट कोट हाइपरटेन्सन (सेतो कोट उच्च रक्तचाप)

मेडिकल क्षेत्रमा यो चर्चित शब्द हो। अन्य अवस्थामा सामान्य हुने रक्तचाप डाक्टर वा अरु स्वास्थ्यकर्मीको अगाडि बढेको पाइने अवस्थालाई यो नाम दिइएको छ। त्यसैले यस कुराबाट साच्चैको उच्च रक्तचापलाई छुट्याउन पटक पटकको नाप लिन जरुरी हुन जान्छ, सम्भव भएसम्म बिभिन्न परिस्थितिमा। विशेष गरि यस्तो समस्या बालबालिका तथा बृद्ध(बृद्धामा धेरै देखिन्छ। आजकाल चौबिसै घण्टाको रक्तचाप अध्यन गर्ने प्रविधि पनि हामीसँग भइसकेको अवस्थामा यस्तो प्रकारको उच्च रक्तचाप बाट साच्चैको समस्या बाट छुट्याउन त्यति जटिल छैन।

किन रक्तचाप नियन्त्रण आवश्यक छ ?

उच्च रक्तचापले धेरै जटिल समस्या निम्त्याउँछ। झट्ट हेर्दा कुनै डरलाग्दो लक्षण नदेखिए पनि यसले निम्त्याउने धेरै रोगहरुले मानिसको ज्यान पनि जान सक्छ साथै भविष्यमा अशक्त जीवन बाँच्नुपर्ने पनि बनाउन सक्छ।

उच्च रक्तचापले

हृदयघातको जोखिम बढाउछमुटुको कार्यक्षमतामा ह्रास आइ हार्ट फेलर मा जान सक्छदेब्रे तर्फको मुटु सुन्निन गइ हार्ट फेलर, मुटुको चालमा अनियमितता, आकस्मिक मृत्यु आदि हुने जोखिम बढाउँछमस्तिष्कको नशामा रगत जम्न गइ वा नशा फुटेर मस्तिष्कघात ९प्यारालाइसिस० हुने जोखिममृगौला को दीर्घरोग गराइ मृगौला फेल हुने जोखिम बढाउँछनियन्त्रण नगरिएको रक्तचापले एक्कासि धेरै बढेर ज्यान पनि जान सक्छ ।

जीवनशैली परिवर्तन गर्नाले के फाइदा हुन्छ ?

तपाईँले खाने खानेकुरा र दैनिक गर्ने कृयाकलापको रक्तचाप नियन्त्रणमा ठूलो महत्व छ।

सही जीवनशैली पछ्याउन सकेमा तपाईँलेः

उच्च रक्तचाप हुनबाट आफूलाई बचाउन सक्नुहुन्छ रक्तचापको औषधि खान नपर्ने हुन सक्छयदि औषधी लिनुहुन्छ भने, त्यसको प्रभावकारिता बढाइ त्यसको मात्रा घटाउन सक्नुहुन्छ हृदयघात, मस्तिष्कघात तथा मृगौला रोगहरुबाट आफूलाई बचाउन सक्नुहुन्छ ।

के के परिवर्तन गर्न जरुरी छ ?

तौल घटाउनुहोस् (यदि मोटोपन छ भने– खानामा प्रशस्त फलफुल तथा तरकारी, बोसो कम भएका दुग्ध उत्पादन खानुहोस् तथा कम मात्रामा मात्र माछा–मासु, मिठाइहरु र प्रसोधित खानेकुराहरु र बजारका खानेकुराहरु जस्तै जङ्क खानेकुराहरुनुन कम खानुहोस् (औसतमा दिनमा प्रतिव्यक्ति ५ ग्रामभन्दा कम नुन) दिनको कमसेकम ३० मिनेट शारिरिक व्यायाम गर्नुहोस् (छिटो छिटो हिड्ने, दौडने, उफ्रने वा अन्य त्यस्तै व्यायाम०रक्सी पिउनुहुन्छ भने एकदम कम मात्रामा मात्र पिउनुहोस्धुम्रपान बन्द गर्नुहोस् ।

नुन कम कसरी गर्ने ?

एकैपटक नुनको मात्रा ज्यादै कम गर्न गार्हो हुन्छ र त्यसो गर्दा स्वास्थ्यलाई पनि राम्रो गर्दैन। ताजा तरकारीहरु, नुनरहित मसलाहरु, कागती वा अन्य अमिलो पदार्थ जस्तै भिनेगारको प्रयोग नुनका विकल्प हुन सक्छन्। नुनको स्वाद मानिसको जिब्रोका लागी प्राथमिक स्वाद हैन तसर्थ केही हप्ता नुन कम गर्न सके जिब्रोलाई बानी पार्न सकिन्छ। र नुन कम गर्नुको मतलब तपाईँले अलिनो नै खानुपर्छ भन्ने पनि हैन !

ताजा फलफुल तथा तरकारीहरुमा नुनको मात्रा तुलनात्मक रुपमा कम हुन्छ। माथि भनेजस्तै नुनको मात्रा कम गर्ने बाहेक यस्तो खानेकुराले उच्च रक्तचापलाई नियन्त्रण गर्न थप मद्दत पुग्छ।

उपचार र परामर्श

कसैले मेरो ब्लड प्रेशर बढ्यो भनेर भन्यो भने, उसलाई औषधि खाएर वा जिवनशैली परिवर्तन गराएर रक्तचाप नियन्त्रण गराउनतिर प्रेरित नगराइ, डाक्टरको मा नजान सल्लाह दिनेहरु पनि प्रशस्त देखिन्छन् हामीकहाँ। चिकित्सकको मा जानेबित्तिकै रक्तचापको औषधि सुरु गरिदिने र एकपटक खाएपछि छोड्न नमिल्ने डर देखाउनेहरुले गर्दा पनि कतिपय मानिसहरु सल्लाह लिन ढिलो पुग्ने वा जाँदै नजाने गरेको पनि देखिन्छ। कुनै पनि चिकित्सकले आवश्यक नपर्ने व्यक्तिमा औषधि सुरु गराउँदैनन्। कुनै पनि औषधि सुरु गर्नु पहिला त्यस औषधिको प्रयोग गर्दा हुने जोखिम र फाइदाको परिमाण हेरेर पृस्क्राइब गर्ने गरिन्छ। यदि कसैलाई पहिलो पटकको परामर्शमै तपाईँको चिकित्सकले औषधि सुरु गरेका छन् भने बुझ्नुहोस् कि तपाईँलाई औषधि सेवन गर्दा हुने बेफाइदा भन्दा फाइदा ज्यादा छ।

जिन्दगीभर औषधि खानुपर्छ भन्ने डरले कतिपयले सल्लाह नलिइकन पनि औषधि छोड्ने गरेको पाइन्छ, त्यसो गर्दा नियन्त्रणमा राखेको रक्तचाप एकैपटक बढ्न गई ठूलो क्षती पुर्याउन सक्छ। तपाई कुनै पनि कारणले औषधि खान चाहिरहनुभएको छैन वा कुनै औषधि विशेषका केही साइड इफेक्ट देखिएको जस्तो लाग्छ भने आफै यो निर्णय नलिनुहोस्, भारी पर्न सक्छ। चिकित्सकको मा जानुहोस् र आफ्नो समस्या सुनाउनुहोस्, औषधिको मात्रा मिलाएर हुन्छ कि परिवर्तन गरेर हुन्छ, तपाईँलाई सहयोग गर्नुहुनेछ।

यदि तपाईँ राम्रो शारिरिक व्यायाम तथा जीवनशैली परिवर्तनलाई अँगाल्न तयार हुनुहुन्छ भने तपाईँको औषधिको मात्रा घटाउँदै बन्द गर्न पनि सम्भव हुन सक्छ । तर धेरै कममा मात्र पूर्ण रुपमा औषधि छोड्न मिल्ने अवस्था आएको पाइएको छ। केहि गरी पछिसम्मै खानुपरे पनि चिन्ता नगर्नुस्, तपाईँले खाएको औषधिले गर्ने नकारात्मक प्रभाव भन्दा कैयौँ गुना बढी तपाईँलाई जोखिमबाट बचाइराखेको हुन्छ।

खानेकुरा बार्दा मात्रै पनि रक्तचाप घट्छ त ?

यो पनि जनमानसमा रहिआएको आम विश्वास देखिन्छ कि करेला वा अन्य तितो खानेकुराले रक्तचाप घटाउँछ। औषधी नखाएपनि मैले मुख बार्दा रक्तचाप नियन्त्रण गर्न सक्छु कि सक्दिन भन्ने आम जिज्ञासा रहिआएको पाइन्छ। यदि जिवनशैलीमा माथि उल्लेख भएबमोजिम परिवर्तन गर्न सक्नुहुन्छ भने यो पनि सम्भव छ। तर कुनै खानेकुरा बिशेष जस्तै तीते करेला आदिले रक्तचाप घटाउँछ भन्ने सोचाइ गलत हो र यिनै खानेकुरा खाएर रक्तचाप घटाउँछु भन्नुका पछाडि कुनै तथ्यहरु प्रकाशित छैनन्। त्यस्तै आयुर्वेदिक औषधीहरुले पनि रक्तचाप नियन्त्रण गर्न सक्छन् भन्ने मान्यता छन्। यि औषधिहरुले पनि घटाउन सक्छन् तर एलोप्याथिक औषधिहरुझै विस्तारमा यिनीहरुको उपयोगिता अध्यन भएको पाइँदैन।

निष्कर्ष

समग्रमा, आजको समयमा उच्च रक्तचाप भनेको एक प्रमुख स्वास्थ्य समस्या हो र जीवनशैली र खानपानमा आएको परिवर्तनले यो समस्या अझ बढ्दो क्रममा रहेको छ। यस रोगका कारण हृदयघात, मस्तिष्कघात, मृगौला फेल हुने जस्ता जटिल रोगहरु निम्त्याउँन सक्छ तर आफैँमा यसले कुनै लक्षण देखाउँदैन। त्यसैले सचेत भइ, बेला बेलामा रक्तचापको परीक्षण गरिरहनु जरुरी हुन जान्छ बिशेष गरी उमेर बढ्दै जाँदा वा माथि उल्लेख गरिएका कारक तत्व भएको अवस्थामा। जीवनशैली परिवर्तन तथा चिकित्सकिय सल्लाह बमोजिम औषधि सेवन गर्नाले यसबाट बचेर स्वस्थ रहन सकिन्छ। एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्