लघुकथा: प्रतिक्षा

अदिती अर्याल ज्ञवाली

“शुभप्रभात!”

“उठ्यौ? के छ कालू तिम्रो खबर?” बिहान उठ्ने बित्तिकै सफलको म्यासेज आइरहेको हुन्थ्यो। “शुभप्रभात हजुर, म त भर्खरै उठेँ।” म प्रतिउत्तर पठाउँछु। “बुहारी मान्छे, यति ढिलोसम्म सुत्छन् त? समयमा उठ, फ्रेस होउ, तिम्रो शरीरलाई स्वस्थ राख।” सफलको अनुरोध भनुँ वा दबाब आउँछ। “केको बुहारी मान्छे नि, म पनि कसैकी छोरी हुँ, बुहारी मान्छे ढिलोसम्म सुत्नु हुँदैन भनेर कसले भनेको नि हजुरलाई?” अलि जिद्दीपन देखाएर, घुर्क्याउँदै म जवाफ फर्काउँछु। “हेरन रिसाएकी, मैले त तिम्रो राम्रोको लागि भनेको नि लाटी, रिसाउनु पर्छ त? भयो छोड यी सबै कुरा।” सफलको जवाफ आउँछ। “हवस” छोटो जवाफ दिएँ मैले।

कहिलेकाहीँ म सानातिना कुरामा रिसाए झैँ गर्थें किनकि म रिसाउने र उनले फकाउने, यो सिलसिला मलाई साह्रै मन पर्थ्यो। म जतिसुकै रिसाए पनि उनी कहिल्यै रिसाउँदै थिए। यसरी दिनहरू बितेको पत्तै भएन। हाम्रो मित्रता जोडिएको पनि तीन वर्ष भइसकेछ। एकदिन सफल भावनामा बेस्सरी डुब्न पुगेछन् सायद, अत्यन्तै भावुक भएर “आजसम्म तिमीलाई भन्न नसकेका कुराहरू भन्छु है” भन्दै मसँग अनुमति मागे। “हुन्छ भन्नुस् न के हो त्यस्तो?, अनि मसँग कुरा गर्न पनि अनुमति माग्नुपर्छ त?” मैले उनलाई अझै सहज बनाइदिएँ र आफ्नोपनको आभाष दिलाएँ। “साँच्चै यो भगवान कति निष्ठुरी छ है कालू?” उनलेे आँखाभरि आँसु पार्दै भने। “होइन आज के भयो हजुरलाई? भगवान कहिल्यै निष्ठुरी हुँदैनन्, उहाँ त हाम्रो सृष्टिकर्ता हुन्।” उनको प्रश्नको जानीनजानी जवाफ फर्काएँ। “सृष्टि गरिदिएर मात्रै हुन्छ त, मनका आकाङ्क्षाहरू चाहिँ अपूर्ण राखिदिएर हुन्छ त?” अलि घुमाउरो पाराले फेरि प्रश्न तेर्साएर मलाई झुक्ने बनाए। “त्यति ठूला आकाङ्क्षाहरू पनि मनमा राख्नु हुँदैन, जुन हामीले पूरा गर्न सक्दैनौं, पूरा गर्न सम्भव हुने खालका महत्त्वकांक्षाहरू मात्रै मनमा राख्नुपर्छ।” उनलाई फेरि जानीनजानी सम्झाएँ। “तिम्रो सिउँदोमा पराइको सिन्दुर, तिम्रो गलामा पराइक‍ो नामको मङ्गलसूत्र, तिम्रो औंलामा पराइसँग स्वयम्बर गरेको औंठी यी सबै कुराहरू मेरा दुई नयनले छर्लङ्ग देख्दादेख्दै पनि तिमीलाई यो मनभित्र सजाउने म कति मूर्ख छु है प्रतीक्षा?” मनका सबै वृतान्त ओकले। ” म पराइकी भएपनि के हामी एउटा असल साथी हुन सक्दैनौं र? माया गर्नुको मतलब तिम्रो हातको सिन्दुर मेरो शिरमा र पोते गलामा हुनु नै हो र सफल?” उनको प्रश्नको जवाफ दिनुको सट्टा उल्टै उनीतिर प्रश्न तेर्साएँ मैले।

सम्बन्धित् समाचार  चर्किएको घर

त्यसपछि उनी निकैबेर मसँग बोलेनन्, म पनि मौनतनमा बसेर आँसु बरबर झार्दै थिएँ, सकेसम्म उनलाई आँसु लुकाउने कोशिस गर्दै थिएँ, तर उनलेे कसोकसो देखिहाले। ” माफी चाहेँ प्रतीक्षा आज तिमीलाई मैले बेस्सरी दुखाएँ।” मेरा नयनका आँसु पुछ्दै, आत्माग्लानी महशुस गर्छन्। म बोल्न सकिन। एकोहोरो उनलाई हेरिरहेँ। आँखाबाट झरेका आँसुका धारा जतिसुकै कठोर बनेर रोक्छु भन्दा पनि रोक्न सकिन।

उनी पनि म सँगसँगै रुन थाले। “तिम्रो आँखाबाट झरेको आँसु त रोक्न सकिन तर तिमी सँगसँगै रोएर तिमीलाई साथ दिन चाहिँ म पनि सक्छु।” सफल फेरि बोले।

आज पनि उनलेे भनेको त्यही कुरा याद आउँछ, “साँच्चै यो भगवान कति निष्ठुरी छ है कालू!” हो साँच्चै यो भगवान निष्ठुरी छ, २०७२ सालको भुकम्पले उनलाई मबाट सदाका लागि खोसेर लग्यो। आज उनलाई मबाट छुटाएको पनि तीन वर्ष पुगिसक्यो, उनकै यादमा आजसम्म आँसु बगाइरहेकी छु। उनले मेरा नयनबाट झर्ने आँसु रोक्न नसके पनि सँगै रोएर साथ दिन्छु भनेर वाचा गरेका थिए, त्यसैले आजसम्म उनकै प्रतिक्षामा टोलाइरहेकी छु, वश उनकै प्रतिक्षामा………..

कमेन्ट गर्नुहोस्

%d bloggers like this: