मधुमेह हुने कारण र यसबाट कसरी बच्ने ?

डा. ज्योति भट्टराई

रगतमा चिनीको मात्रा बढेर विभिन्न अंगमा क्षति पुर्याउन सक्ने रोगको नाम हो, मधुमेह अर्थात् डायबिटिज । यसलाई नेपालीमा चिनी रोग ९सुगर रोग० पनि भनिन्छ। मधुमेहका धेरै हुन्छन् ।

आज हामी मधुमेहको मुख्य दुई प्रकारबारे केही अध्ययन गर्ने छौं–

प्रकार १ः शरीरमा इन्सुलिन भन्ने तत्व हुन्छ, जसले जीवकोषहरूमा चिनीलाई थन्कोबन्को लाउँछ । इन्सुलिनको उत्पादन नभएको अवस्थामा मधुमेह हुन्छ । यो प्रकारको मधुमेह धेरै कम व्यक्तिहरूलाई हुन्छ ।

प्रकार २ः यसमा इन्सुलिन निस्केपनि यसको काम गरार्इमा कमी आएको हुन्छ । यसले गर्दा चिनीहरू जीवकोषहरूमा पस्न नपाएर रगतमै घुमी बस्छन् र विभिन्न अंगमा क्षति पुर्याउँदै लैजान्छन् । यो प्रकारको मधुमेह धेरैलाई हुन्छ । त्यस्तै, गर्भावस्थामा पनि विविध कारणले मधुमेह हुन्छ ।

जोखिमः मधुमेह हुँदैमा डर्राइहाल्नुपर्दैन । सावधानी अपनाउने हो भने यसबाट आउन सक्ने विभिन्न जटिलबाट हामी जोगिन सक्छौं ।

तर, यसबारे ज्ञान भएन र सुगर, प्रेसरलाई नियन्त्रण गरिएन, डाक्टरलाई देखाइएन र विभिन्न अंगमा क्षति पुर्यायो भने जुनसुकै प्रकारको मधुमेहले पनि तपाईंलाई दुःख दिन्छ ।

त्यसमा क्षति पुगिसकेपछि भने सुधार गर्न धेरै गाह्रो हुन्छ । त्यसैले बढी क्षति पुग्नुअघि नै हामीले सावधानी अपनाउनुपर्ने हुन्छ ।

वंशाणुगत कारण पनि मधुमेह हुन्छ । पेटको गोलाइ बढी हुनु, अव्यवस्थित खानपान हुनु, व्यायामको कमी हुनुका कारण हामीलाई डायबिटिज हुने सम्भावना बढी हुन्छ । वंशाणुगत रूपमा त हामीलाई यसै पनि मधुमेह हुने सम्भावना रहन्छ ।

हामीले जीवनशैलीमा सुधार ल्याएर, व्यायाम गरेर, स्वस्थ भोजन गरेर पेटको गोलाइ बढ्न दिएनौं भने हामीले मधुमेहलाई अलि पर राख्न सक्छौं ।

कारखानामा बनेका गुलियो खानाले हाम्रो पेटको गोलाइ बढ्छ । यस्ता गुलिया खानेकुरा शरीरका लागि हानिकारक हुन्छन् । बढी चिनी हाम्रो जिउले पचाउन सक्दैन । जुन प्राकृतिक रूपमा केरा, सुन्तलालगायत फलफूलमा पाउनुहुन्छ ।

मधुमेह खासगरी पेटको गोलार्इ बढ्नाले र अस्वस्थकर खानाले हुने गर्छ । बढी चिनी हाम्रो शरीरले पचाउन सकेन भने त्यो फ्याटमा परिवर्तन हुन्छ । पछि गएर त्यसले चिनीरोग मात्रै होइन, मुटुरोगको जोखिमलाई पनि बढाउँछ ।

गुलिया मिठाईमात्रै नभएर कोक, फ्यान्टा, जुसले पनि मधुमेह हुन सक्छ । बजारिया पेय पदार्थमा पनि फ्रुक्टोसिरफ हालेको हुन्छ, यसलाई मेडिकल साइन्सले विषै मान्छ । किनभने भोलि त्यो जम्मा भई फ्याटमा परिवर्तन भएर हामीलाई दुःख दिन सक्छ ।

यसका लक्षण

५० प्रतिशत व्यक्तिमा यसको लक्षण नै देखिँदैन । तर, लक्षण देखिएन भन्दैमा मधुमेह भएको छैन भनेर ढुक्क हुन सकिँदैन । केही लक्षण भने देखापर्छन् ।

जस्तो, बढी प्यास लाग्नु, दुब्लाउँदै जानु, घाउ संक्रमण आदि छिटो निको नहुनु, थकान महसुस हुनु, पिसाब बढी लाग्नु, भोग लाग्नु, मुख सुख्खा हुनु । यस्ता लक्षण नदेखिईकन पनि मधुमेह लागेको हुन सक्छ ।

स्वयं व्यवस्थापन

मधुमेहको डाक्टर बिरामी आफैं हुन सक्छ । पहिलो त के कारणले मधुमेह लाग्छ भनेर ज्ञान हुनुप¥यो, जो माथि आइसक्यो । हामीले खानपानको व्यवस्थापन अर्थात् सन्तुलित भोजन गर्न सक्यौं भने मधुमेहबाट जोगिन सक्छौं ।

जस्तो, ब्राउन राइस, मकै, गहुँ, जौ, कोदो खान सकिन्छ । तर, सागसब्जी बढी र अन्न कम अर्थात् दुई मुठीमा अटाएजति खाने । माछामासु हत्केलामा अटाएजति दुई–तीन पिस खान सकिन्छ ।

तर, ह्वाइट मिट खानुपर्छ । जसमा कुखुरालगायत दुईखुट्टे पन्छी पर्छन् । यस्तो मासु पनि बोसोरहित हुनुपर्छ । रातो मासु अर्थात् चारखुट्टेको मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । तेल चाहिँ बूढी औंलाको टुप्पामा अट्नेजति खाने ।

दूध–दही, फलफूल मात्रा मिलाएर खाइरहनुपर्छ । एकैचोटि धेरै नखाने थोरथोरै तर समय–समयमा खाने । यो नै सन्तुलित भोजन हो, यसले सबै रोगबाट बच्न मद्दत गर्छ ।

तारेको चिज अति नै कम खाने, सकेसम्म खाँदै नखाने । त्यस्तै, मिठाईलगायत गुलियो खानेकुरा, कोक–फ्यान्टा लगायत पेय पदार्थ नखाने ।

मधुमेह भएकाले के खाने के नखाने भन्ने हुँदैन, जो हामी नियमितजसो खाने गर्छौं । त्यसमा मात्रा मिलाउने भन्ने त माथि नै आइसक्यो । मधुमेह मात्रै होइन कि जुनसुकै रोगबाट बच्न मदिरा र सुर्तीजन्य पदार्थसेवन गर्नु हुँदैन । त्यसपछि व्यायाम गर्नुपर्छ । हामीले शरीरका सबै अंग चलाउनुपर्छ । व्यायाम गर्दा विभिन्न जोर्नीहरू चलाउनुपर्छ ।

दिनमा एक घन्टा वा कम्तीमा आधा घन्टा हिँड्नै पर्छ । व्यायाम भनेर अलि कडा खालको भन्ने पनि बुझिन्छ । तर, अध्ययन, अनुसन्धानले के देखाएको छ भने शरीर र उमेर हेरी सबै प्रकारका व्यायाम गर्दा राम्रो हुन्छ ।

जस्तो, मसल बनाउन युवाले केही चिज उचाल्ने गर्छन्, यो व्यायाम वृद्धवृद्धाले पनि गर्न सक्छन् । तर, उचाल्ने चिज शरीर हेरी ठिक्कको हुनुपर्छ । यो हप्तामा दुईपटक गर्न सकिन्छ । अरु दिन शरीर चल्ने व्यायाम गर्नुपर्छ ।

अर्को, तनावलाई कम गर्ने । तनावबाट पूर्णरूपमा मुक्त हुन सकिँदैन । तर, कम गर्न सकिन्छ । खुसी रहन, हाँस्न प्रयत्न गर्ने । दुःखी रह्यो भने सुगर व्यवस्थापन गर्न गाह्रो हुन्छ । तनावमा भएका बेला सुगर ह्वात्तै बढ्छ ।

किनभने, तनावमा कर्टिसोल हर्मोन निस्कन्छ, जसले सुगर निकाल्छ । त्यसैले सकेसम्म हामीले तनावलाई घटाउनुपर्छ । आफू तनावमा आएको आफैंले बुझेर रिल्याक्स गर्नतिर लाग्नुपर्छ ।

यसमा ग्रुप थेरापी अपनाउन सकिन्छ । मधुमेह भएका साथीहरू भेटघाट हुने, मधुमेहबारे छलफल गर्ने । अफिसमा पनि ग्रुप बनाएर कुरा गर्न, हाँस्न सकिन्छ । हामी आफैं पनि शरीरको अनुगमन गर्न सक्छौं । अचेल मधुमेह नाप्ने यन्त्र ग्लुकोमिटर पनि सस्तैमा पाइन्छ ।

बेला–बेला सुगर चेकजाँच गरिरहनुपर्छ । त्यस्तै, कोलेस्टोर, ब्लड प्रेसरको चेकजाँच गरिरहनुपर्छ । त्यस्तै, औषधि नियमित सेवन गर्नुपर्छ । लक्षण नदेखिँदा पनि हामीले औषधि देखाएका हुन्छौं ।

पछि गएर अन्धोपन नहोस्, मुटुरोग, यौन दुर्बलता आदि नहोस् भनेर औषधि दिइएको हुन्छ । औषधिले खासगरी दुई क्षेत्रमा काम गर्छ, सुगर घटाउन र अर्को कोलेस्टोर, ब्लड प्रेसर सन्तुलित राख्न ।

विज्ञ डाक्टरले दिएको औषधि नियमित सेवन गर्नुपर्छ । बाहिर नदेखिने रोगमा औषधि खान हुँदैन, यसले झन् स्वास्थ्य बिगार्छ भन्ने हामीकहाँ भ्रम व्याप्त छ । तर, विज्ञ डाक्टरको सल्लाहबमोजिम औषधिको नियमित सेवनले मुटुरोग, मधुमेहलाई राम्रो गरेको विश्वका विकसित मुलुकमा प्रमाणित भएका छन् ।

सुगरको मात्रा हाम्रो रगतमा बढ्दै गयो भने त्यसले आँखा, किड्नी, नशाहरू पनि बिर्गाछ । त्यसैले स्वयं व्यवस्थापन जरुरी छ । दुई समूह बनाएर डाक्टर, नर्सको निगरानीमा परीक्षण गर्दा पनि यो प्रमाणित भएको छ कि सुगर भइसकेका रोगीले स्वयं व्यवस्थापनलाई ध्यान दिँदा स्वस्थ हुँदै गए ।

तर, खानपानमा ध्यान नदिने, व्यायाम नगर्ने, तनाव घटाउन ध्यान नदिने, चेकजाँच नगर्ने र नियमित व्यायाम नगर्नेहरू झन्झन् रोगी भएको देखियो । त्यसकारण स्वयं व्यवस्थापनले नै हामी मधुमेहलगायत धेरै रोगबाट बच्न सक्छौं ।

अकस्मात मधुमेह भए के गर्ने ?

सुगर ब्रेनमा कम भयो भनेपनि ब्रेनले राम्रोसँग काम गर्दैन, मान्छे बेहोसीको हालतमा पुग्छ । तर, यो अवस्था पनि अकस्मात आउँदैन, योभन्दा अघि संकेत हुन्छ, ढुकढुकी बढ्ने, हात काम्ने, भोक लाग्ने आदि हुन्छ । यस्तो बेला भने तुरुन्त गुलियो पदार्थ खाइहाल्नुपर्छ । खबर तरुणमा छापेको छ ।

किनभने तत्काल ब्रेनलाई ग्लुकोज चाहिन्छ । ग्लुकोज पानी वा पानीमा चिनी घोलेर खान सकिन्छ । तर, सुगर बढी भएको अवस्थामा भने बेहोसीमा लैजाने अवस्था कमै हुन्छ । त्यसैले सुगरको अवस्था चेकजाँच गरिरहनुपर्छ ।

विदेशमा सुगरका बिरामीले कार्ड बोकेका हुन्छन्, जसमा उसको सुगरको अवस्था र कुन औषधि खाने गर्छ भन्ने लेखिएको हुन्छ । यो विधिलाई नेपालमा पनि प्रयोग गर्न आवश्यक छ । यदि बिरामी कतै बेहोस भए यस्तो कार्डले काम गर्न सक्छ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्