चकलेट सडकमा छताछुल्ल हुँदा पोल्याण्डमा राजमार्ग नै अवरुद्ध; भिडियो सहित

१२ हजार किलो चकलेट सडकमा पोखिएर अवरुद्ध छ एउटा प्रमुख राजमार्ग

सडकमा छताछुल्ल पोखिएको चकलेट व्यवस्थापन गर्न राजमार्ग नै बन्द गर्नुपर्ने स्थिति आयो भन्दा अचम्म लाग्न सक्छ तर पोल्याण्डमा यस्तै भएको छ  । बर्लिनदेखि वार्सा जाने ए-२ राजमार्गमा १२ टन तरल चकलेट बोकेको एउटा ट्यांकर डिभाइडरमा ठोक्किएर पल्टिएपछि चकलेट सडकमा फैलिएको थियो  ।

उक्त चकलेट बगेर पुरै राजमार्गमा फैलिएपछि छ लेनको उक्त सडक पूर्ण रूपमा बन्द गर्नु परेको छ  ।

प्रहरीका अनुसार उक्त ट्यांकर एउटा टफी कम्पनीको रहेको थियो  । घट्नाबाट यातायात पूर्ण रूपमा बाधित भएपनि कुनै पनि प्रकारको मानवीय क्षति भने हुन पाएको छैन  ।

राजमार्गमा चकलेट हिलो झैं टाँसिएको छ र यसलाई सफा गर्न धेरै कठिन भइरहेको बताइएको छ  ।

एक जना दमकलकर्मीका अनुसार सडकबाट चकलेट सफा गर्नु तेल या हिउँ सफा गर्नुभन्दा अप्ठ्यारो रहेको छ  ।

सामान्यतयाः तेललाई सफा गर्न पानी र बालुवाको सहायता लिइने र हिउँको हकमा भने मसीनको प्रयोग गरिने गरिन्छ  ।

तर गाढा र लेसिलो तरल चकलेट सफा गर्न भने त्यति सजिलो छैन  । यसका निम्ति लाखौं लिटर उम्लिरहेको पानीको आवश्यकता पर्नेछ र यदि चकलेट ठोस भइदिएको खण्डमा यसले जटिलताहरू झनै बढादिने छ  ।

सम्बन्धित् समाचार  आत्महत्या गर्न उक्साउने अनलाइन गेम, एक सय ३० जनाले गरिसके आत्महत्या

पोल्याण्डको एउटा समाचार च्यानलसँग कुरा गर्दै दमकल अधिकारी बोग्दान कोभाल्सकीले भने, “यसलाई सफा गर्न धेरै समय लाग्ने देखिन्छ  । यदि चकलेट साह्रो भयो भने त यसलाई हटाउन हिउँका पत्रहरू हटाए भन्दा पनि गाह्रो हुनेछ  ।

दमकल विभागले जनाए अनुसार उक्त १२ किलोग्राम चकलेटको पाँच सेन्टिमिटर बाक्लो पत्र बिस्तारै कडा हुँदैछ  । यस घट्नालाई दमकलकर्मीहरूले समेत रमाइलोको रूपमा लिएका छन्  ।

कोभाल्सकी भन्छन्,”पुरै चकलेट एउटा ठुलो चकलेट बारमा बदलिँदै छ  ।” स्थानिय्हरूका अनुसार घट्नास्थलभन्दा कयौं किलोमिटर टाढासम्म चकलेटको गन्ध फैलिएको छ  ।

यस घट्नाबारे सामाजिक संजालमा भिडियोहरू सार्वजनिक भएका छन् ।

हेर्नुस् एउटा भिडियो:

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: