एकताबाट भाग्दै, मोदीसँग झुक्दै– कता जाँदैछन् प्रम ओली ?

कमल शर्मा, काठमाडौं । कुनै बेला मोरियार्टी नाम गरेका नेपालका लागि अमेरिकी राजदूत । एकदिन उनले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी, लेनिनवादी) को कार्यालयमा नेता माधव नेपाललगायतसँग भेट गर्ने इच्छा व्यक्त गरेछन् ।

एकीकृत माक्र्सवादी, लेनिनवादी पार्टीको कार्यालयमा माक्र्स, एंगेल्स र लेनिनको तस्वीर हुनु स्वभाविकै थियो । तर उनीहरुको कार्यालयमा

अमेरिकी राजदूतको सवारी हुँदै थियो ।

ओहो, यो तस्वीर देखे के भन्लान् हँ राजदूतले ? कसैले यो प्रश्न तेस्र्यायो ।

अनि, ती प्रतिमूर्तिहरु त्यहाँबाट झिकिए ।

अचम्म, एमालेभित्र चुईंँक्क पनि आवाज निस्केन ।

स्वभाविकै थियो– यो उनीहरुको माक्र्सवादको सिर्जनात्मक प्रयोग थियो ।

संयोग इतिहासका कैयन घुम्तीहरु पार गर्दै नेकपा एमाले र यसको नेतृत्व अहिले ठीक त्यही प्रवृत्तिको दोहोर्याउने बिन्दुमा पुगेको छ ।

प्रसङ्ग प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीको हो ।

प्रधानमन्त्री ओलीलाई कतिपयले उखान टुक्के भनेर उडाउन खोजेपनि नेपाली जनताको माझमा उनको एउटा विशिष्ट छवि बनेको थियो पछिल्लो चरणमा । यतिसम्म कि उनका कटु आलोचकहरुले समेत नाकाबन्दीको बेला उनले लिएको अडान, उनले गरेका भाषणहरुको निकै प्रशंसा गर्थे । सर्वसाधारणमा ओलीको बिम्ब नै बनेको थियो राष्ट्रवादीका रुपमा ।

र, ओलीको सरकारबाट माओवादीले समर्थन फिर्ता लिएपछि पहिलो आरोप प्रचण्डमाथि थियो– भारतको इशारामा राष्ट्रवादीको सरकार ढालियो ।

यो इतिहास थियो ।

तर ओली कमरेडको यो जलबिम्ब धेरै टिक्न भने सकेन । खासगरी आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने सन्दर्भममा सरकारका तर्फबाट खेलिएको भूमिका, अनावश्यक लचकता र भारतीय सेनालाई नेपालमा आउने अनुमति दिनुले प्रधानमन्त्री ओली चौतर्फी आलोचनाको शिकार बनेका छन् ।

यो ठीक त्यही अवस्था हो, जसरी एमालेले आफ्ना पथ प्रदर्शक गुरुहरुको तस्वीर मिल्काएको थियो, त्यसैगरी एकजना ‘मालिक’ आउँदा अहिले सरकारले आफ्नो हिजोको राष्ट्रवादी र सार्वभौमसत्तावादी प्रतिबिम्ब मिल्काएको छ ।

यता ओली एकताको क्रममा पुरै दृढ छन् । टस न मस हुन चाहिरहेका छैनन । नेकपा माओवादीका तर्फबाट शीर्ष नेतृत्वले दर्जनौपटक छलफल गरेपनि हरेक छलफलमा ओलीबाट नयाँ कुरा आउन सकिरहेको छैन । उनी संसदवादबाट माथि उठनै खोजिरहेका छैनन् । समाजवादको सपना, परम्परागत संसदवादी चिन्तनबाट अघि बढने आँट उनले लिन सकेका छैनन् । फलतः संख्याको दम्भमा एकता अड्किएको छ । एमालेभित्रकै ठूलो पंक्तिले नयाँ शिराबाट अघि बढौं भनेर व्यापक दबाब दिँदा पनि ओलीको कन्सरीका रौं तात्न सकेका छैनन् । उनी सतिसाल बनेका छन् ।

तर यता, यता भने उनको सतिसालको बृक्ष तासको महल जस्तै या बालुवाको घरजस्तै भत्किएको छ । उनी अनावश्यक किसिमले भारतसामु झुकेका छन् । लम्पसारको भाषा नै त प्रयोग नगरौं, तर हुनुपर्ने भन्दा बढी लचकता उनले देखाएका छन् । विदेशी पाहुना देशमा आउँदा औपचारिक स्वागत गरिन्छ, गर्नुपर्छ, दुश्मन नै घरमा आएपनि स्वागत गरिन्छ । तर पाहुनका सेनाहरुलाई आफ्नो बुकुरो घेर्न दिएर भित्र पसाल्न भने सकिँदैन ।

यदि यही लचकता ओली कमरेडले पार्टी एकताको विषयमा देखाएको भए । राष्ट्रवादी हठतालाई उनले हिँउ पग्लेसरी गलाएजस्तै यता आफूभित्रको संख्याको दम्भ र संसदवादी चिन्तनलाई गलाइदिएको भए…

कम्तिमा असौज १७ गतेदेखिको नेपाली जनताको उत्साह पानी पानी हुने थिएन ।

कम्तिमा हामीहरु एकता एकता भनेर हरेक दिन हुटहुटी पालेर बस्नुपर्ने थिएन ।

तर यसो भएन ।

 

नेकपा एमालेका अध्यक्ष केपी ओली त्यतिखेर पनि प्रधानमन्त्री नै थिए । जुन बेला यिनै मोदीले नेपालमा नाकाबन्दी लगाएका थिए । त्यो बेला सदनदेखि सडकसम्म ओलीले भारतीय नाकाबन्दीको जमेर बिरोध गरे । त्यो बिरोध यति बढी थियो कि त्यसले कुटनीतिक सीमा समेत नाघ्यो । कतिपयले छिमेकीसँगको सम्बन्ध सुधार्नका लागि उनलाई निकै सुझाव पनि दिए । तर ओली टस न मस भएनन् । खासगरी मधेस केन्द्रीत दलहरुसँग उनी निकै असहिष्णु नै भए । त्यही कारण संविधान कार्यान्वयनको मुख्य कार्यभार रहेको निर्वाचन अन्यौलमा पर्यो । तर जे सुकै होस्, बाल मतलब भन्ने शैलीमा ओलीले अडान लिए ।

प्रचण्ड प्रधानमन्त्री भएपछि हरेक दिनजसो एमाले पंक्तिबाट प्रहार भयो । सबैभन्दा ठूलो आलोचनाको विषय प्रचण्डको भारतसँगको सम्बन्धलाई लिएर हुन्थ्यो । ओलीलगायत एमालेजनहरुले प्रचण्ड सरकारमा गएपछि चीनसँगका विगतका सम्झौता पालना नहुने, चीनसँग सम्बन्ध बिग्रिने जस्ता कुप्रचार समेत अघि सारे । तर व्यवहारले त्यो देखाएन । बरु प्रचण्डले छिमेकीहरुसँग बिग्रेको सम्बन्धलाई सन्तुलनमा ल्याए । उनी ज्यादै उग्र र निम्छरो किसिमले झुक्ने रणनीतिमा गएनन् । स्थानीय चुनाव भयो, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न भयो ।

एमालेहरुले जे भनेपनि प्रचण्डको विदेश नीति र प्रधानमन्त्रीकाल सफल रह्यो । एउटा विशिष्ट कार्यकालको रुपमा ।

बिडम्बना नै भनौं, नेकपा एमालेको नेतृत्वले विगतका दिनमा जसरी राष्ट्रवादी अडान लिएको थियो, अहिले मोदीको भ्रमणको बेला पनि त्यो जोगाउन सक्नुपथ्र्यो । माथि नै भनियो, छिमेकी देशका प्रधानमन्त्री भ्रमणमा आउँदा खुला मनले स्वागत गरिनुपर्छ । तर यहाँ अलि अपाच्य किसिमले चीजहरु अघि बढेको भनेर बिरोध भइरहेको छ । अन्य सबै कुरा स्वभाविक मान्न सकिएपनि इतिहासमा नै पहिलोपटक भारतीय सेना नेपाल आएको छ । यो त्यति चानचुने कुरा होइन । कम्तीमा यो विषयमा नेपालले अडान राख्न सक्नुपथ्र्यो ।

प्रधानमन्त्री ओलीप्रतिको सम्मानको ग्राफ नेपाली शेयरबजार जस्तै ह्वात्तै न्यून बिन्दूमा पुगेको छ । उनको हिजोको छवि चकनाचुर बनेको छ । एमालेभित्रै पनि अहिलेको अवस्थालाई धेरैले स्वीकार गर्न सकेका छैनन् । कतिपयले खुलेर नै यसको बिरोध गरको छन् । यसको क्षतिपूर्ति भनेको अब एकता प्रक्रियामा ओलीको लचकताको हो ।

यदि ओली एकता प्रक्रियामा आफ्नो जड संसदवादी चिन्तनभन्दा माथि उठेर समाजवादी क्रान्तितर्फ अघि बढन सके भने, यदि उनले संख्याको दम्भमा नअल्मलिएर परिवर्तनको प्रक्रिया र यसका पात्रहरुलाई सम्मान र आत्मस तगर्न सके भने उनको यो खस्केको ग्राफ फेरी उचाईमा पुग्न सक्छ ।

नत्र अहिले जसरी उनको आलोचना भइरहेको छ, यो नै संस्थागत भयो भने यसले सरकारका काम कार्वाहीमा समेत प्रभाव पर्ने र जनतामा विश्वासको संकट पर्ने कुरामा दुईमत हुन सक्दैन ।

कमेन्ट गर्नुहोस्