महिनावारी रोकिएपछि धेरैलाई डिप्रेसन

किशोरावस्थादेखि नै खानपान र जीवनशैलीमा ध्यान नदिँदा महिनावारी रोकिएपछि धेरै महिलालाई हड्डी खिइने र हड्डी कमजोर हुने समस्याले सताउने गरेको चिकित्सकले बताएका छन्।

महिनावारी सुकेपछिको अवस्थाबारे जानकार नभएका कारण उमेर बढ्दै गएपछि कष्टकर जीवन जिउन बाध्य भएको उनीहरू बताउँछन्।

हरेक महिलाले आफ्नो जीवनकालमा भोग्ने यस्ता समस्याबारे सरकारी तहबाटै अध्ययन अनुसन्धान थाल्नुपर्ने विज्ञहरू बताउँछन्।

शुभद्रा मल्लको महिनावारी रोकिएको ५ वर्ष भइसकेको छ। उनी अहिले ४६ वर्षकी भइन्।

समयअगावै महिनावारी रोकिएपछि उनलाई जिउमा बल नभएजस्तो हुने, थकाइ लाग्ने, औडाहा हुने, चिसो पसिना आउने, राती निन्द्रा नपर्ने, अरू मानिस बोल्दा झिजो लाग्ने गर्छ।

उनी भन्छिन्, “आँखा कमजोर भयो पहिला मीठो लाग्ने खाना पनि नमीठो लाग्नेरहेछ। हाडजोर्नी दुख्ने गर्छ।”

शुभद्रालाई जस्तै महिनावारी सुकेका वा रजनोवृत्ति भएका कतिपय महिलामा एस्ट्रोजन हर्मोनको कमीले हाडजोर्नी खिइने, ओस्टियोपोरोसिस अर्थात् हड्डी कमजोर हुने र सामान्य दुर्घटनामै भाँच्चिने समस्या हुन्छ।

महिनावारी रोकिएपछिका समस्याबारे जानकारी नहुँदा ठूलै रोग लागेको महसुस गरी धेरै महिला ‘डिप्रेसन’मा जाने गरेको पाइएको स्त्रीरोग विशेषज्ञ डा. रीना श्रेष्ठ बताउँछिन्।

सम्बन्धित् समाचार  डा केसी माथिल्लो डोल्पाका घरघरमा पुगेर उपचार गर्दै

उनी भन्छिन्, “महिनावारी सुकेपछि के कस्ता लक्षण देखिन्छन् भन्ने कुरा महिलालाई थाहा हुनुपर्छ। मलाई किन रिस उठिरहेको छ, किन धेरै पसिना आइरहेको छ, पहिलाभन्दा म कति परिवर्तित भएछु भन्ने कुरा धेरैलाई थाहा हुँदैन।”

नेपाली महिलाहरूको महिनावारी सुक्ने औसत उमेर ४७ वर्ष बताइएको छ।

तर जीवनस्तरमा सुधार आउँदा महिनावारी रोकिने उमेर बढ्दै जाने चिकित्सकहरू बताउँछन्।

महिनावारी रोकिएपछि हुने समस्याको समाधानमा भन्दा त्यसको रोकथामका लागि समयदेखि नै उपयुक्त खानपान र व्यायाम गर्नुपर्ने हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रकाशमान श्रेष्ठको सुझाव छ।

उनले भने, “हिँड्नुपर्छ, दौडिनुपर्छ र खेल्नुपर्छ। केरा र ब्रोकाउली जस्ता खानेकुरा खानुपर्‍यो। बिहानको घाममा २० मिनेट जति बस्दा प्रचुर मात्रामा भिटामिन पाइन्छ।”

महिनावारी बन्द भएपछि हुने महिलाको स्वास्थ्य अवस्थाबारे नेपालमा हालसम्म कुनै औपचारिक अध्ययन अनुसन्धान नभएको चिकित्सकहरू बताउँछन्।

सरकारी तहबाटै यस विषयमा बहस, छलफल र जनचेतनामूलक कार्यक्रमहरू आयोजना हुनसके बहुसंख्यक महिलाको जीवन सहज बन्न सक्ने उनीहरूको भनाइ छ। बीबीसी

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: