प्रचण्ड र ओलीबीचको छलफल सकियो, यस्तो भयो सहमति

काठमाडौं, जेठ २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बाधलुवाटार बुधबार भएको छलफलमा पार्टी एकता प्रक्रियालाई अघि बढाउन तत्काल एकता संयोजन समितिको बैठक बोलाउन दुई अध्यक्षबीच सहमति भएको छ ।

दुई पार्टीबीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो । तर लामो समयसम्म दुई अध्यक्षबीच टुंग्याउन बाँकी विषयमा अहिलेसम्म गहन छलफल हुन सकेको छैन । दुई अध्यक्षबीच सहमति नभएपछि संयोजन समितिको बैठक पनि बस्ने सकेको छैन ।

बुधबारको दुई अध्यक्षबीचको वार्तामा भोलि विहान १० बजे एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको माओवादीका एक नेताले बताए । दुर्इ अध्यक्षबीच अाज भएकाे सहमतिलार्इ भाेलि बस्ने संयाेजन समितिले अनुमाेदन गर्ने त्यसपछि मात्रै सबै कुरा सार्वजनिक गर्ने माअाेवादी केन्द्रका नेता जनार्दन शर्माले बताए ।

शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको थियो । एमालेले एकताको तयारीमा लागि आज ४ बजे स्थायी कमिटीको बैठक बोलाएको छ ।

यसअधि वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसमा त्यसपछि वैशाख २२ गते माक्र्स जयन्तीका दिन पार्टी एकता हुने चर्चा थियो तर अहिलेसम्म एकताको मितिसम्म तय हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्