युएईमा ४ नेपाली अलपत्र, दूतावासद्वारा उद्वारको पहल सुरु

युएई ।
रोजगारीका लागि युएई आएका ४ नेपाली भने अनुसार काम नपाउदा अलपत्रमा परेका छन ।
युएईको अलेनस्थित एक क्लिनिङ कम्पनीमा काम गर्न आएका उनीहरूलाई रोजगारदाता कम्पनीले भने अनुसार काम र बिरामी हुुँदा समेत उपचार नगरेपछि उनीहरू अलपत्र परेका हुन ।

“बिरामी हुँदा काममा जान सकिएन, कम्पनीले बस्दै आएको होस्टेलबाट नै निकालिदियो दुई दिन देखि रुखको फेदमा बसेर रात काट्दै आएका छौँँ ” पीडित मध्ये एक कंचनपुरका भगतु रानाको भनाइ छ।

काठमाडौको चप्पल कारखाना नजिक रहेको नेपाल गेट वे मेनपावर प्रालिबाट एक महिना अघि युएई आइपुगेका उनीहरूलाई मेनपावर कम्पनीले नेपालमा राम्रो तलब सुविधा सहितको सम्झौता गरी पठाएको भए पनिप रोजगारदाता कम्पनीले सम्झौता अनुसारको सेवा सुविधा नदिँँदा पीडित बन्न पुगेको उनीहरूको गुनासो छ ।
यसरी अलपत्र पर्नेहरूमा कंचनपुर बेलौरीका भगतु राना, शिबु राना, विश्व चौधरी र रामचन्द्र राना रहेका छन ।
यता युएई स्थित नेपाली दूतावासले पीडितका समस्या समाधान गर्न पहल सुरु गरेको छ ।
दूतावासले मेनपावरको एजेन्ट अशोक मोक्तानलाई सम्पर्क गरी पीडितका समस्या तत्काल समाधान नभए कारबाही गरिने बताएको छ ।
दूतावासको पहलपछि पीडितलाई कम्पनीले होस्टेलमा बस्न दिएको छ भने केही दिनभित्रै समस्या समाधान गरिने दूतावास स्रोतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्