भाषणबाज नेताहरू

रुपेश श्रेष्ठ काठमाडौं, जेठ १३ ।

प्रधानमन्त्री ओलीका भाषण बिकाउ हेडलाइन त बन्छन्, तर इतिहासमा दर्ज हुने हैसियत राख्दैनन्

ई पार्टीबीच एकीकरणको घोषणा भइरहँदा नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीको भाषण सुनेर एकजना विद्वान्ले टिप्पणी गर्नुभयो, ‘ओलीजीको ठट्टा गर्ने शैली मान्नैपर्छ तर त्यत्रो महत्वपूर्ण कार्यक्रममा ठट्टै मात्र गर्न मिल्छ र ?’

ओलीको भाषणमा कटाक्ष, रमाइलो र घुमाउरो भाषामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा र एकीकरणको उद्देश्य र यसका असरबारे हल्काफुल्का टिप्पणीबाहेक खास केही भेटिएन ।

करिब आधा घन्टा लामो मन्तव्यका क्रममा ओलीले प्रयोग गरेको ‘जेट उडाउन दुईजना पाइलट’ भन्ने बिम्बले पनि सर्वाधिक चर्चा पायो । भाषण चलिरहँदा २०–२२ पटक हाँसोका फोहरा छुटे ।

समकालीन नेताहरूमा सबैभन्दा वाकपटु नेता हुन्, केपी ओली । उनले प्रयोग गर्ने मौलिक उखान र टुक्काका कारण राजनीतिमा पटक्कै चाख नहुनेहरूका लागि पनि ओलीको भाषण रुचिकर हुन्छ ।

तर, इतिहासकै सबैभन्दा शक्तिशाली र ठूलो पार्टीका साथै सरकारको समेत प्रमुखले यति ठूलो महत्वको कार्यक्रममा गरेको भाषणमा गम्भीरताको अंश भने थोरै मात्र थियो ।

भनिन्छ, सही व्यक्तिले सही समयमा, सही ठाउँमा दिने सही अभिव्यक्तिले इतिहास बदल्न सक्छ ।

ओलीको भाषण बिकाउ हेडलाइनहरू त बने, तर इतिहासमा दर्ज हुने हैसियत भने यसले राख्न सकेन ।

ओलीभन्दा अघि भाषणकलाकै कारण जनजनको मनमा बसेका नेता हुन्, मदन भण्डारी ।
उतिवेला भण्डारीको भाषण प्रत्यक्ष सुनेकाहरूको कथनलाई मान्ने हो भने उनको भाषण सुन्न बिदा लिएर बस्ने सरकारी कर्मचारीसमेत हुन्थे । ०४७ साल चैतमा काठमाडौंको चुनावी सभामा भण्डारीले गरेको भाषणको चर्चा अहिलेसम्म हुन्छ ।

भाषणको रेकर्डिङ सुन्दा तरंगित बनाउँछ । उनको भाषणमा पनि ओलीको जत्तिकै कटाक्ष पाइन्छ । तर, ओलीले प्रयोग गर्ने कटाक्षको शैलीभन्दा भण्डारीको शैली सशक्त लाग्छ ।

त्यसो हुनुको कारण हो, भण्डारीको शब्दको छनोट र आवाजमा हुने गाम्भीर्य ।

अनुप्रास मिलेका वाक्यहरूको चुस्त गठन र उच्चारणको तिख्खर शैलीका कारण भण्डारीको भाषण सुन्नेहरूमा ऊर्जा पैदा हुन्थ्यो ।

यसकारण पनि जब–जब नेताहरूको भाषणकलामाथि विश्लेषण सुरु हुन्छ, मदन भण्डारीको उदाहरण प्रकट हुन्छ ।

वाककलाका विज्ञहरूका अनुसार वक्ताले प्रवाह गर्ने सन्देश जति महत्वपूर्ण हुन्छ, सन्देश कसरी प्रवाह गरिन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

यसको अर्थ विषय र ज्ञानमा जतिसुकै निपुण भए पनि प्रस्तुति शैली कमजोर हुने हो भने भाषणले छाड्नुपर्ने प्रभाव छाड्दैन ।

हिटलरको त्यो भाषणकला

विश्वका प्रभावशाली भाषणबाज राजनीतिज्ञको नाम लिनुपर्दा एडोल्फ हिटलर अग्रपंक्तिमा आउँछन् । जर्मनीको इतिहासलाई नजिकबाट नियालेकाहरू भन्छन्– हिटलरको भाषणकला उनलाई त्यो स्तरको शासक बनाउने प्रमुख कारकमध्ये एक थियो ।

यसबारे हिटलर आफैँले पनि आत्मसंस्मरणमा भनेका छन् ‘मलाई थाहा छ कि मानिसमाथि शब्दहरू लेखेर भन्दा बोलेर विजय प्राप्त गर्न सकिन्छ र विश्वमा हुने हरेक महान् आन्दोलनले महान् लेखकबाट होइन, महान् वक्ताबाट गति पाउँछन् ।’

फ्रेन्चअमेरिकी लेखक जर्ज स्टेनरले आफ्नो एक पुस्तकमा हिटलरको भाषणकलाको व्याख्या गर्दै भनेका छन्, ‘हिटलरको आवाजमा नै जादु थियो ।’

जो कसैलाई बाँधेर राख्ने क्षमता उनको बोलीमा थियो । उनको भाषण रेडियोमा बजिरहँदासमेत स्रोताले उनको अनुहारको भाव पढ्न सक्थे ।
जीवनकालका ५ हजारभन्दा बढी भाषणमा हिटलर उत्तिकै ऊर्जाशील सुनिन्थे, आवाजमा सधैँ उही प्रतिबद्धता हुन्थ्यो र आफ्ना कार्यकर्ता र सेनाका लागि सधैँ उस्तै उत्प्रेरक भाषा हुन्थ्यो ।

साथै माइकमा बोलिरहँदा उनको हातसँगै शरीर चलायमान हुन्थ्यो । सबैभन्दा रोचक कुरा त हिटलरले भाषणका लागि प्रशस्त पूर्वाभ्यास गर्थे ।

उनका फोटोग्राफर हेनरिक हफम्यानले आफ्नो संस्मरणमा हिटलरले विभिन्न भावभंगिमासहितका २० लाख तस्बिर खिचाएको उल्लेख गरेका छन् र कतिपय तस्बिर प्रकाशित पनि गरेका छन् ।

हिटलरले ऐनामा हेरेर भाषणको अभ्यास गरिरहँदा अनुहारको भाव र हातको जेस्चरसहितका कैयौँ तस्बिर हफम्यानले उनकै आदेशमा लिएका थिए ।

तिनै फोटा हेरेर हिटलर उपयुक्त भावभंगिमा तय गर्थे । यसरी पटक–पटक पुनर्लेखन गरेको भाषणलाई जीवन्त बनाउँथे ।

हामीकहाँ यसरी साना–साना कुरामा ध्यान दिँदै तयारी र अभ्यासका साथ भाषणको वैज्ञानिक र प्रभावकारी संरचनाभित्र रहेर भाषण गर्ने नेता सायदै होलान् ।

यद्यपि भाषणकलाकै लागि प्रशंसा कमाएका कुशल वक्ता नभएका भने होइनन् । यहाँ ५ जना भाषणबाज नेताहरूको भाषणकलाको चर्चा गरिएको छ ः

केपी ओली
ओलीले एमाले अध्यक्षमा निर्वाचित हुनुअघि नै चर्को भाषण गर्ने नेताको छवि बनाएका थिए । निर्वाचित भएपछि केही नरम रूपमा प्रस्तुत भएको देखिन्छ ।

प्रतिपक्षमा रहँदा सरकारप्रति तीव्र कटाक्ष गर्ने गरेका ओली प्रधानमन्त्री रहँदा भने अलि नम्र देखिन्छन् ।

०४६ पछि बनेका कुनै पनि प्रधानमन्त्री भन्दा शैलीका हिसाबले सबैभन्दा प्रभावशाली भाषणकला भएका नेता हुन्, केपी ओली । ओलीको भाषणकलाको सबैभन्दा बलियो पक्ष भनेको उनको ‘सेन्स अफ ह्युमर’ हो ।

नेपालका अधिकांश नेतामा सेन्स अफ ह्युमरको अभाव देखिन्छ, अनौपचारिक तहमा केही नेतामा देखिए पनि मञ्चमा भने त्यसलाई स्वाभाविक रूपमा प्रकट गर्ने नेता कमै छन् ।

ओलीको ‘सेन्स अफ ह्युमर’ माइकमा पनि स्वाभाविक रूपमा प्रकट हुन्छ ।

चाहे ‘रतुवालाई पाता फर्काउने’ भनिँदा होस् वा ‘जेट चलाउन दुईजना पाइलट चाहिन्छ’ भनी एकीकरणपछिको नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्षको औचित्य पुष्टि गर्ने प्रयास–सुन्नेहरूमा हाँसोको फोहोरा छुटाउन ओली सफल छन् ।

ओलीको भाषण भन्नेबित्तिकै आमसर्वसाधारणले पनि उनले प्रयोग गर्ने उखान–टुक्का सम्झिन्छन् ।
कुनै पनि विषयलाई सरल भाषामा रमाइलो तरिकाले प्रस्तुत गर्ने क्षमता ओलीमा छ । जसका कारण पनि उनको भाषण सुन्नलायक हुन्छ ।

ओलीको भाषण भन्नेबित्तिकै आमसर्वसाधारणले पनि उनले प्रयोग गर्ने उखान–टुक्का सम्झिन्छन् ।
कुनै पनि विषयलाई सरल भाषामा रमाइलो तरिकाले प्रस्तुत गर्ने क्षमता ओलीमा छ ।

जसका कारण पनि उनको भाषण सुन्नलायक हुन्छ । सान्दर्भिक उखान र टुक्काको उत्कृष्ट प्रयोग, साना–साना घटनालाई रोचक तरिकाले प्रस्तुत गर्ने बानी, सरल र ठेट भाषा र ठुल्ठूला मञ्चमा पनि कुराकानीकै शैलीमा प्रस्तुत हुने कारणले ओलीको भाषण मन पराइन्छ ।

ओलीको शैलीको एउटा महत्वपूर्ण पक्ष भनेको उनले प्रयोग गर्ने विराम हो । बोल्दै गर्दा समय–समयमा रोकिनुलाई विराम अर्थात् ‘पज’ भनिन्छ ।

यस्ता विरामले भाषणमा उल्लेख गरिएका भनाइ ‘पावर फ्रेज’हरू अर्थात् शक्तिशाली शब्दावलीलाई बल पुग्छ ।

विरामले स्रोतालाई भर्खरै भनिएका कुरा बोध गर्नेसमेत समय प्रदान गर्छ र वक्ताले विरामपछि के भन्ने हो भन्ने उत्सुकता पैदा गराउँछ ।

केपी ओलीका भाषणमा विरामको अत्यधिक प्रयोग हुने गर्छ । यति हुँदाहुँदै पनि गम्भीर विषयमा पनि ठट्यौलो प्रस्तुतिका कारण ओली आलोचित छन् । आमजनमानसमा समेत कतिपय सन्दर्भमा ‘उखाने नेता’को छवि छ ।

यही शैलीका कारण पनि उनले गम्भीर विषय उठाइरहँदा पनि स्रोताले गम्भीरतापूर्वक नलिने सम्भावना रहन्छ । पार्टी एकता घोषणासभामा ओलीले गरेको भाषण त्यसैको एउटा नमुना हो ।

यसका साथै लिखित भाषण प्रस्तुत गर्दा ओलीको मौलिक शैली गायब हुने गर्छ, जसका कारण ओली भाषणका सवालमा लापरबाह वक्ता हुन् भन्दा अत्युक्ति नहोला ।

गगन थापा
विद्यार्थी आन्दोलनमा भिड्दादेखि नै प्रखर वक्ताको छवि बनाएका थापा प्रभावशाली भाषणकलाकै कारण लोकप्रिय छन् । प्रधानमन्त्री ओलीले थापालाई ‘सेलिब्रेटी नेता’को संज्ञा दिएर कटाक्ष गरेको धेरै भएको छैन ।

थापा सेलिब्रेटीका रूपमा दर्ज हुनुमा पनि उनको भाषणकलाको देन छ । गगन थापाको भाषणकलाको सबैभन्दा सबल पक्ष प्रवाह हो ।

थापा विनाकुनै रोकावट धाराप्रवाह विषयभित्रै रहेर बोल्न सक्ने क्षमता राख्छन् ।

विद्यार्थीकालमा रेडियोमा प्रस्तोताका रूपमा काम गर्नाले पनि उनमा यो क्षमता विकास भएको हो ।

प्रवाहबाहेक भाषणमा प्रकट हुने ऊर्जाका कारण थापाको भाषण सुन्ने र हेर्नेहरू उत्प्रेरित र उद्वेलित हुने गर्छन् ।

०६२-६३ को जनआन्दोलनमा आन्दोलनकारीमा उभार सिर्जना गर्न थापाको ऊर्जावान् भाषणले धेरै भूमिका खेलेको थियो । प्रवाह र ऊर्जा मात्र होइन, थापाको प्रस्तुतिमा विषयवस्तुमाथिको दख्खल पनि देखिन्छ ।

०६८ जेठमा खुलामञ्चमा नेपाली कांग्रेसको शक्ति प्रदर्शनका क्रममा भएको सभामा गरेको भाषण होस् वा ०७० र ०७४ मा संसदीय उम्मेदवारको रूपमा कपनमा गरेको भाषण– तथ्य, तथ्यांक र उदाहरणहरूसहित प्रस्तुत भएको भेटिन्छ ।

आन्दोलनका क्रममा सीमित विषयमाथि बोल्नुपर्ने भए पनि मूल धारको राजनीतिमा कहिले सांसदको उम्मेदवारका रूपमा, कहिले मन्त्रीका रूपमा र कहिले प्रतिपक्षी सांसदका रूपमा सदनमा विभिन्न विषयमाथि बोलिरहँदा थापाले सन्दर्भ र परिस्थितिअनुसारका विषयमा गहिरो अध्ययनसहित गरेका भाषणका उदाहरण युट्युबमा पनि प्रशस्त भेटिन्छन् ।

०६८ जेठमा खुलामञ्चमा नेपाली कांग्रेसको शक्ति प्रदर्शनका क्रममा भएको सभामा गरेको भाषण होस् वा ०७० र ०७४ मा संसदीय उम्मेदवारको रूपमा कपनमा गरेको भाषण– तथ्य, तथ्यांक र उदाहरणहरूसहित प्रस्तुत भएको भेटिन्छ ।

यसले थापालाई बोल्ने कला भएका नेता मात्र होइन, प्रतिबद्धता र भिजन भएका नेताका रूपमा स्थापित गरेको छ ।

सकारात्मक कुरा के हो भने यी भाषणका लागि विज्ञ र जानकारको टिमको सहयोगका साथमा यथेष्ट तयारीले थापालाई खरो वक्ता मात्र होइन, सबल नेता पनि बनाइरहेको छ । यसका साथै अंग्रेजी भाषामा पनि राम्रो भाषण गर्ने दक्षता उनीसँग छ ।

०७३ माघमा जेनेभामा भएको ७०औँ विश्व स्वास्थ्य सम्मेलनमा नेपालको स्वास्थ्यमन्त्रीका रूपमा थापाले गरेको संगठित र परिष्कृत भाषण त्यसको उदाहरण हो ।

‘सेन्स अफ ह्युमर’ को कमी उनको भाषणमा सबैभन्दा खट्किने कुरा हो । भाषणमा नरमपना निकै कम पाइन्छ ।

समय–समयमा तर्कभन्दा आवाज चर्को हुँदा थापाको भाषण असान्दर्भिक भइदिन्छ ।

हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि संसद्मा सरकारको आलोचनासहित थापाले गरेको चार मिनेटको भाषणले वाहवाही त राम्रै कमायो तर गहिरिएर भाषणमा आवश्यकताभन्दा आक्रोशको मात्रा बढी थियो ।

केपी ओलीको भाषणमा जस्तो विरामहरू थापाको भाषणमा पाइँदैन । थापाको मौलिक प्रवाहले पनि त्यस्तो विरामको अवस्था सिर्जना गर्दैन ।

यसले भाषण सुन्ने श्रोतालाई सधैँ सुन्नकै हतारोमा राखिरहन्छ । समस्या के हो भने मानिसको सुन्ने गति र सुनेको कुरा बुझ्ने गति समान हुँदैन, जसले गर्दा थापाको प्रवाहमा सुन्न र बुझ्न श्रोतालाई कठिन पर्छ ।

आफ्नै लागि सक्रिय राजनीतिको उमेर हद तोकेर राजनीति गरिरहँदा थापाले वक्ताले प्रयोग गर्ने शब्दहरूलाई शब्दको अघिपछि लिइने विरामको आकार र प्रकारले अर्थ दिन्छ भन्ने कुरामा ध्यान पु(याउनु जरुरी छ ।

यति हुँदाहँुदै पनि थापा यस्ता थोरै भाग्यमानी नेतामा पर्छन्, जसलाई कलाले मात्र होइन, गलाले पनि साथ दिएको छ । उनको वजनदार आवाज उनको आकर्षक भाषणको आधार हो ।

प्रचण्ड
१३ वर्ष भूमिगत जीवनपछि खुला राजनीतिमा प्रवेश गर्दा प्रचण्ड धेरैका लागि रहस्यमयी थिए ।

एकातिर उनको जीवनशैलीबारे निकै चासो थियो भने त्यति लामो सशस्त्र आन्दोलन हाँकेका ‘प्रचण्ड’ नामले बहुचर्चित प्रचण्डको भाषणकलाका बारेमा पनि आममानिसबीच विभिन्न प्रकारका कुरा हुन्थे ।

हुन पनि खुला राजनीतिमा प्रकट भएपछिका सुरुवाती भाषणमार्फत दाहाल आफूलाई साँच्चै नै मुलुकले खोजेजस्तै परिवर्तनकारी नेता हुन् कि भन्ने छाप पार्न सफल बने । कार्यकर्तामाझ बोलिरहँदा उनी उत्प्रेरक सुनिन्थे ।

खुला सभाहरूमा दाहालले गर्ने भाषणमा विशेषगरी कांग्रेस र एमालेको भण्डाफोर गर्ने खुबी र जनजीविकाका सवालमा प्रकट गर्ने विचार प्रभावशाली हुन्थे ।

प्रचण्डसँग श्रोता दर्शकको अपेक्षाअनुसारको भाषण गर्ने शैली छ । कहाँ के बोल्दा ताली बज्छ र त्यसका लागि कस्ता शब्द प्रयोग गर्ने भन्ने उनी राम्रोसँग जान्दछन् ।

साथै भावुकताको प्रयोग गर्न पनि उत्तिकै माहिर छन् । भाषणकै क्रममा प्रचण्डको गला अवरुद्ध भएको वा आँखा रसाएका उदाहरण पनि छन् ।

यसलाई ‘मास सेन्टिमेन्ट’ आफ्नो पक्षमा ल्याउने प्रचण्डको हतियार मान्न सकिन्छ । तर, मानिसमा उनको भाषण सुन्ने रुचि भने बिस्तारै घट्दै गएको छ । १० वर्षअघि प्रचण्डले भाषणमा देखाउने ऊर्जा आज देखिँदैन ।

यद्यपि यसका आफ्नै सकारात्मक प्रभाव पनि छन् । तर, आज उनी पहिलेजस्तो ‘करिस्म्याटिक’ भने लाग्दैनन् । हुन त आवेगमा आएर गरेका कतिपय भाषणका लागि दाहालले पटक–पटक माफी पनि मागेका छन् ।

प्रखर वक्ताका रूपमा धेरैले लिने गरेको भए पनि भाषण गर्दा कुम हल्लाउने र दुई हात जोडेर बुढीऔँला घुमाउने अनि गर्धनलाई अरमठ्ठ पार्ने तरिका भने असजिलो देखिने प्रचण्डका बानी हुन् ।

०६६ मा जब काठमाडौंका जनतालाई उनले ‘सुकिला मुकिला’ भनेर आलोचना गरे, त्यसपछि भएको विरोधका कारण माफी मागे ।

भूमिगत कालमा कार्यकर्ता र जनसेनाका लागि प्रशिक्षणमा दाहालले गरेका भाषणको भाषा, विषय र सार करिब–करिब एकै हुने गर्दथ्यो ।

सशस्त्र युद्धलाई अघि बढाउन यो आवश्यक पनि थियो । यसैकारण पनि युद्धकालदेखि माओवादीमा संलग्न अधिकांश नेता र कार्यकर्ताको बोल्ने शैली दाहालकै जस्तो बनेको अनुभव गर्न सकिन्छ ।

सम्भवतः युद्धकालको त्यही भाषणको अभ्यासका कारण आज कुनै पनि सभामा भाषण गर्दा प्रचण्ड तयारीका साथ उभिएको कमै अनुभव गरिन्छ ।

प्रखर वक्ताका रूपमा धेरैले लिने गरेको भए पनि भाषण गर्दा कुम हल्लाउने र दुई हात जोडेर बुढीऔँला घुमाउने अनि गर्धनलाई अरमठ्ठ पार्ने तरिका भने असजिलो देखिने प्रचण्डका बानी हुन् ।

जसलाई धेरैले उनलाई उडाउने विषय पनि बनाए । अहिले यसमा धेरै सुधार भएको देखिन्छ ।

यसबाहेक हरेक शब्दलाई एकै प्रकारले उच्चारण गर्ने प्रचण्डको बानी आज पनि उस्तै छ । प्रचण्डले विशेषगरी ठूलो समूहका अगाडि भाषण गर्दा ‘आन्दोलन’ र ‘प्रेम’ शब्द उच्चारण गर्ने गरेको उस्तै सुनिन्छ, दुवै शब्दमा अक्षर र मात्रामा उत्तिकै बल प्रयोग गरेको पाइन्छ ।

जब कि भाषा विज्ञानको कुरालाई मान्ने हो भने हरेक शब्दको अर्थको वजन फरक हुन्छ र फरक वजनका शब्द उच्चारण गर्दा फरक तरिका अपनाइन्छ ।

यसले कतिपय सन्दर्भमा प्रचण्डको शैली झर्कोलाग्दो अर्थात् ‘मोनोटोनस’ सुनिन्छ । पछिल्ला दिनमा भने प्रचण्ड नियन्त्रित भाषण गरिरहेका छन् । टेलिभिजन अन्तर्वार्ताहरूमा समेत प्रचण्ड अवकाशप्राप्त नेताजस्तो सुनिन्छन् ।

कमल थापा
आवाजमा ओज, प्रस्तुतिमा दम्भ अनि विषय र भाषामा निपुणता भएर पनि उत्कृष्ट भाषण गर्ने नेता भनेर धेरै नसम्झिने नाम हो, कमल थापा ।

हुन त राप्रपा नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री थापा र उनको पार्टीपंक्तिले अवलम्बन गरेको विचारका कारण आजको समयमा थापाको प्रशंसा गर्ने मानिस कम हुनु स्वाभाविक हो ।

भाषणका क्रममा हातको प्रयोग र अनुहारमा यथोचित भाव प्रकट गर्ने शैलीले पनि उनको भाषणकलालाई साथ दिएको छ ।
नेपाली भाषाका साथै अंग्रेजीमा पनि सटिक भाषण गर्न सक्ने नेता हुन् उनी ।

तर, जहाँसम्म भाषणकलाको कुरा छ, त्यसमा देशमा उपलब्ध उत्कृष्ट भाषणबाज नेताको पंक्तिमा उनी पनि पर्छन् ।

आफूले बोल्ने विषयमा प्रस्ट कुरा राख्न सक्ने मात्र होइन, भाषामा पनि चातुर्य प्रयोग गर्न सक्ने खुबी थापामा छ ।

खुला सभामा थापाको भाषण हेर्ने हो भने एक कुशल वक्ताले प्रयोग गर्ने सीप उनले भरपूर प्रयोग गरेको देख्न सकिन्छ ।

भाषणका क्रममा हातको प्रयोग र अनुहारमा यथोचित भाव प्रकट गर्ने शैलीले पनि उनको भाषणकलालाई साथ दिएको छ ।
नेपाली भाषाका साथै अंग्रेजीमा पनि सटिक भाषण गर्न सक्ने नेता हुन् उनी ।

०७२ कात्तिकमा जेनेभामा भएको संयुक्त राष्ट्रसंघको मानव अधिकारसम्बन्धी बैठकमा भारतीय प्रतिनिधिले नेपालमा मधेसी समुदायको आन्दोलनको विषय उठाएपछि थापाले अंग्रेजीमा दिएको जवाफको धेरैले प्रशंसा गरेका थिए ।

थापाले दिएको त्यो अभिव्यक्ति निकै सटिक, कूटनीतिक रूपमा अर्थपूर्ण हुँदाहुँदै भावनात्मक पनि थियो ।

गगन थापामा जस्तै कमल थापाका भाषणमा पनि ‘ह्युुमर’ हुन्न । पुष्पकमल दाहालमा साना–साना किस्सालाई कथाको भाकामा कथ्ने आकर्षक शैली छ, थापाको भाषणमा यसको अंश पनि थोरै मात्रै भेटिन्छ । तर, थापाको भाषणमा पाइने स्वाभाविक र नियन्त्रित उतारचढाव भने उनको सकारात्मक पक्ष हो ।

प्रदीप गिरि
०७३ साउनमा व्यवस्थापिका संसद्मा आफ्नो मन्तव्य दिइरहँदा कांग्रेस नेता प्रदीप गिरिले सुरुमा एउटा ‘सेर’ सुनाए ।

अनि संसद्मा उपस्थित अरू दलका सांसदलाई मात्रै होइन, आफ्नै दलका सांसदलाई समेत संसदीय व्यवस्थाका बारेमा पढाए ।

विश्वका विभिन्न देशको संसद् र कानुनको उदाहरण दिँदै उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीका विरुद्ध पेस गरिएको अविश्वासको प्रस्तावको औचित्य प्रस्ट पारे ।
आफूभन्दा ठीक अघि बोलेका पूर्वसभामुख सुवास नेम्वाङ, जो आफैँ वकालत पनि गर्छन्, उनले कानुनको नालिबेली दिँदै अविश्वासको प्रस्तावको विपक्षमा दिएका तर्कलाई गिरिले ‘कतिपय राजनीतिक मुद्दा कानुनी तौरतरिकाले समाधान गरिँदैन’ भनेर मत्थर बनाइदिए ।

नेम्वाङ आफैँ पनि कूटनीतिक र चतुर वक्ता हुन् तर गिरिले अघि सारेका तर्क काट्ने ठाउँ साँच्चै थिएन ।

यो प्रसंग कोट्याउनुको अर्थ के भने प्रदिप गिरि आन्दोलनका मोर्चा सम्हाल्ने भाषणबाज त होइनन्, तर सैद्धान्तिक र वैचारिक विषयमा शालीनतापूर्वक रोचक भाषण गर्न सक्ने नेता हुन् ।

गिरिको बोल्ने गति सडक र सदनमा बोलिरहने अरू नेताहरूको भन्दा धिमा हुन्छ ।

उनको आवाजको उचाइ पनि टेबल ठटाउँदै बोल्ने नेताको भन्दा स्वभावतः कम हुन्छ । तर, भाषामाथिको पूर्व ज्ञान, कला, साहित्य, समाज र राजनीतिमाथिको दख्खल अनि रसिलो व्यक्तिगत स्वभाव उनका भाषणमा प्रस्ट झल्किन्छ ।

गिरिको भाषण सुन्न साधारण श्रोतालाई पनि सहज हुन्छ । तर, मासका लागि चाहिने उत्तेजना, आवेग र ऊर्जा गिरिको भाषणमा आजको दिनसम्म छैन । तर, सरल र सरस रूपमा बडेबडे विद्वान्लाई कथा भन्दै पढाउने ल्याकत कसैसँग छ भने त्यो उनमा छ ।

जसले उनलाई कुशल वक्ताको रूपमा उभ्याउँछ । टेलिभिजन संवादमा पनि उत्तिकै रोचक सुनिन्छन् ।

यहाँ चर्चा गरिएका अन्य कुनै पनि वक्ताको भाषणमा पाइनेभन्दा गिरिको भाषणमा आवाजको स्वाभाविक उतारचढाव पाइन्छ ।

त्यसले गर्दा भनिएका कुरामध्ये कुन वाक्य वा वाक्यांश महत्वपूर्ण हो र कुन कम महत्वको हो भन्ने सुन्नेले थाहा पाइहाल्छ ।

यसैकारण पनि गिरिको भाषण सुन्न साधारण श्रोतालाई पनि सहज हुन्छ । तर, मासका लागि चाहिने उत्तेजना, आवेग र ऊर्जा गिरिको भाषणमा आजको दिनसम्म छैन । तर, सरल र सरस रूपमा बडेबडे विद्वान्लाई कथा भन्दै पढाउने ल्याकत कसैसँग छ भने त्यो उनमा छ ।

लाखौँलाख जनताले अपेक्षा राख्ने नेताहरूले जनताको विश्वास जितिरहने र भरोसा टिकाइरहने बाटोमध्ये भाषण प्रमुख हो ।

बारम्बार जनतासामु उभिएर अनेक विषयमा भाषण गरिरहने नेताले हरेक भाषणमा उत्तिकै कुशलता अपनाउनु आवश्यक हुन्छ ।

यसरी भाषण गरिरहँदा नेताहरूमा विषयमाथिको प्रस्ट र गहन ज्ञान मात्रले पुग्दैन, आफूलाई सुन्ने हर तह र तप्का, वर्ग र समुदायका जनतालाई आकर्षित गर्ने, भन्न खोजिएको कुरा स्पष्ट बुझाउन सक्ने, बुझ्न कठिन विषय भए बुझ्न अभिप्रेरित गर्ने र समग्रमा भविष्यप्रति आशावादी बनाउने अनि आफूप्रति भरोसा राख्न प्रेरित गर्ने क्षमता झल्किनुपर्छ ।

यसमा वक्ता वा नेताले प्रयोग गर्ने अनुहारको भाव, शरीरको भंगिमा, भाषा र लवजको समुचित प्रयोग र आवाजमा आउने ‘गति र यति’मा देखिने पकडले ठूलो भूमिका खेल्छ ।

तर, यी सबैका लागि तयारी र अभ्यासको खाँचो पर्छ । बुझेर हेर्ने हो भने यी विषयमा हुने बेवास्ताले कुनै पनि नेताको कद कुनै पनि वेला घटाउन सक्छ ।

लेखक सञ्चारकर्मीका साथै भाषण र नेतृत्वकलाका प्रशिक्षकसमेत हुन्
यो विचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्