सागरको उत्कृष्ट प्रदर्शनसँग त्रिभुवन आर्मी प्रधानमन्त्री कपको फाइनलमा

काठमाठौं, जेठ २५ । सागर पुनको अलराउण्ड प्रदर्शनसँगै त्रिभुवन आर्मी प्रधानमन्त्री कप वान डे क्रिकेटको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित टियू मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश ५ लाई १५४ रनको फराकिलो अन्तरले हरायो।

आर्मीको जितमा सागर पुनले शतक बनाउनका साथै २ विकेट लिए भने विक्रम सोब र सुसन भारीले उत्कृष्ट बलिङ गर्दै ३–३ विकेट लिए।

सागर जारी प्रतियोगितामा शतक प्रहार गर्ने चौथो खेलाडी समेत बनेका छन्। यसअघि समूह चरणमा प्रदेश ४ का हरि चौहान तथा एपीएफका सुवास खकुरेल र प्रदिप ऐरीले शतक प्रहार गरेका थिए।

ओपनर सागर पुनले शतक प्रहार गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २८९ रन बनाएको थियो।

१४२ बल खेलेका सागरले १० चौका र २ छक्काको मद्दतमा ११२ रन बनाएर यस्तै भिम सार्कीले ५३ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गर्दै ७७ रन जोडे। कप्तान विनोद भण्डारीले ३७ रन बनाए। विनोदले १५ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे।

प्रदेश ५ का कृष्ण कार्कीले ३ तथा विक्रम भुषालले २ विकेट लिए।

२९० रनको लक्ष्य पछ्याएको प्रदेश ५ आर्मीको बलिङ सामु पुरै ओभर टिक्न सकेन र ३५.५ ओभरमा १३५ रनमै अलआउट भयो। प्रदेश ५ का लागि नवौँ नम्बरमा ब्याटिङ गरेका कृष्ण कार्कीले नटआउट रहदै सर्वाधिक ३१ रन बनाए। यस्तै शंकर रानाले २३ रन जोडे।

आर्मीले अब उपाधिका लागि शनिवार हुने पुलिस र एपीएफबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

कमेन्ट गर्नुहोस्